समाज

बलात्कारबारे सेलिब्रेटीदेखि राज्यकोषको सुविधा खानेहरूका आपत्तिजनक अभिव्यक्ति

सदिक्षा आचार्य |
भदौ २८, २०७९ मंगलबार १८:३२ बजे

काठमाडौं– फेसबुकमा झन्डै दुई लाख फलोर्अस भएका गायक शिव परियारले केही समयअघि एउटा पोस्ट गरे । पोस्ट क्रिकेटर सन्दीप लामिछानेप्रतिको जघन्य आरोपप्रति लक्षित थियो । 

उनले लेखेका छन् : सम्माननीय नेपाल सरकार यो पेशेवरपीडित भनौंदाहरूलाई पनि व्यवस्थित गरि कारवाही गर्ने कुनै कानुनको धारा होला नि । कृपया अनुसन्धान होस् होइन भने बलात्कारी आरोपको प्रधानमन्त्री, बलात्कारी आरोपको मेयर, बलात्कारी आरोपको कलाकार, बलात्कारी आरोपको संस्कृतविद, बलात्कारी आरोपको वैज्ञानिक, बलात्कारी आरोपको किसान, बलात्कारी आरोपको शिक्षाविद्, बलात्कारी आरोपको खेलाडी, बलात्कारी आरोपको समाजसेवी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्नेछैन । 


उनको यो पोस्टमा धेरैले वाहवाही गरेका छन् । परियारलाई खराब बालेको भन्नेहरु कमै छन् । 

त्यस्तै, पूर्वसचिव श्यामप्रसाद मैनालीले भदौ २५ गते आफ्नो फेसबुक वालमा लेखेका छन् :

अठार वर्षकी नाबालिका युवकसँग रात बिताउन र बलात्कृत हुन इच्छा गर्छिन् । दिनभरि नगरकोटमा सँगै घुमेर बलात्कृत हुन ‘राजी’ हुन्छिन्, त्यसैले डाक्ने बित्तिकै होटलमा पुग्छिन् । दुवैका बीच चमत्कार हुन्छ । केही दिन पश्चात् बलात्कारको मुद्दा पेश हुन्छ । अभियोग प्रमाणित हुने हो वा होइन, बलात्कार प्रमाणित हुन सक्ने हो वा उनी निर्दोष सावित हुने हुन् त्यो हेर्न बाँकी छ । 

यो पोस्टलाई हालसम्म सैयौँले लाइक गरेका छन् । जसमा ‘एकदमै ठीक’ भनेर प्रतिक्रिया जनाउनेहरू पनि छन् । मैनाली तिनै व्यक्ति हुन् जो निर्मला पन्तकी आमा होऊन् वा बलात्कृत अन्य परिवारले तिर्ने करबाट पेन्सन बुझ्छन् ।

अब समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापकको फेसबुक पोस्ट पढौँ : 

हामी अधिकांशका बा–आमाले १०÷१२ वर्षको उमेरमा बिहे गरेका थिए । अहिले गाउँघरमा १५÷१७ का केटाकेटीको विवाह भएको सुनिन्छ । उमेर पुगेको ठानेरै गरिदिएका त होलान् । 

१. यसले कानुन समाजभन्दा अगाडि हिँडेको प्रमाण दियो । अब यस्ता कानुन परिवर्तन गरौं । 
२. एक महिनादेखि उमेर पुगेको अर्काको छोरासँग घुमिहिड्ने । मिलेमतोमा रातको १२ बजे केटासँग होटल छिर्ने । नचिच्याउने, नकराउने । सँगै उठेर बिहान हाँस्दै–हाँस्दै होटलबाट निस्केर हिँड्ने अनि अहिले अभियोग लगाउने ?
३. केटीलाई केटासँग घुम्न जाँदा, होटलमा सुत्न जाँदा मेरो उमेर पुगेको छैन भन्ने थाहा नहुनु कस्तो अचम्म ?
४. बलात्कार शब्दले जर्वजस्ती भन्ने अर्थ लाग्छ । लुगा च्यातिएको छैन, घाउचोट छैन, झगडा गरेको, चिच्याएको, कराएको, रोएको केही प्रमाण छैन । सुनिदैन । 
५. कानुन बदलौँ र दुवै केटाकेटीलाई जेल हालौँ । साबालकलाई भन्दा नाबालकलाई दुई वर्ष बढी । किनकि पढेलेखेकी केटी जानाजान केटासँग होटल गएर कानुनको उल्लङ्घन गरेकी छ । उसलाई आफैँ थाहा हुनुपर्छ म नाबालक छु भन्ने ।

नेकपा एमालेका नेता एवम् स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा भनेका छन् :

कस्तो बुद्धि भएकाले कानुन पास गरेका हुन्? पाँच दिनपछि रेप भन्ने? रेप र सहमति छुट्याउन नसक्नेले कानुन बनाउने? बलात्कार त दुर्घटना हो नि । एउटै हो । प्रहरी थाना टाढा छ भने पुग्न समय लाग्ला । पाँच दिनपछि रेप हुन्छ? एउटा केटीको पिरियड भएको बेलादेखि उ बालिग हो । प्रकृतिले दिएको कुरा हो । दुर्गा प्रसाईंको घोषणा भन्दिनुहोस्, ‘बार्गेनिङ नमिलेर बलात्कार भनेका छन् ।’  

पत्रकार धमलाले छानेको विषय र पात्र तथा उनको असंवेदनशीलता पनि प्रश्नको कठघरामा छ । आफूलाई कम्युनिस्ट पार्टीको नेता बताउने प्रसाईंले यस्तोसम्म भन्दा पार्टी मौन छ । यो उदेकलाग्दो छ । 

उसो त फिल्मी पत्रकार प्रकाश सुवेदी पनि आफ्नो टीभी कार्यक्रममा फलानो कि फलानो ? फलानोलाई चिन्नुहुन्छ ? कुन रुपमा चिन्नुहुन्छ भन्दै हरेकजसो कार्यक्रममा पल शाहको फोटो देखाइरहेका हुन्छन् । बालयौन दुरुपयोगमा सजाय पाइसकेका पल शाहलाई गुणगान गाउने गरी उभ्याइरहने कारण के हो ? 

हामीले अदालतप्रति विश्वास गर्नुपर्छ । अदालत स्वतन्त्र र सक्षम हुन्छ । अदालतले पीडितको पक्षमा निर्णय गर्छ भन्ने विश्वास राख्नुपर्छ

यता हाँस्य कलाकार सन्तोष पन्तले त झन् ‘आफ्नै श्रीमतीसँग बस्दा पनि सीसीटीभी लगाएर बस्नुपर्ने भयो’ भन्दै बलात्कारबारे विवादास्पद टिप्पणी दिँदै हिँडिरहेका छन् । तीनै टिप्पणीसहितका भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

त्यस्तै, कलाकार रिमा विश्वकर्माले पनि सोमबार आफ्नो फेसबुक वालमा ‘छानबिनकै क्रममा रहेको विषयमा दोषी नै जसरी अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण हुन्छ ?’ भनेर प्रश्न गरेकी छिन् । रिमाको प्रश्न प्रश्नयोग्य छैन । तर, अन्य कतिपय महत्वपूर्ण विषयमा मौन बस्ने उनी उहाँ अपराधी उम्किनुहुँदैन भन्नमा पनि मौन छिन् । 

यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्तै अभिव्यक्ति दिने थुप्रै ‘सोकल्ड सेलिब्रेटी’ र ‘सामाजिक सचेतक’हरूको कमी छैन । यी सबै त्यस्ता व्यक्ति हुन्, जसलाई समाजले आइडल मानेको छ । सामाजिक सञ्जालमा फलो गरेको छ । समाजले नै आइडल मानेका पात्रहरूबाट पीडितलाई नै दोषारोपण गर्दा उनीहरूका फलोअर्सले के सिक्ने ? नागरिकलाई भ्रामक रूपले कानुन र नैतिकताको पाठ सिकाउने उनीहरूलाई नै कानुनको ज्ञान कति होला ? त्यो उनीहरूको अभिव्यक्तिले नै दर्शाउँछ । सामाजिक संजालमा मनलाग्दी बोल्नेलाई साइबर ब्यूरोले के गर्छ ? वाक् स्वतन्त्रता छ भन्दैमा फेसबुके न्यायाधीश जसरी फैसला सुनाउन पाइन्छ ? 

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति कुमार राय भन्छन्– ‘यदि कसैले गैरकानुनी काम गर्छ भने उसलाई कानुनबमोजिम सजाय हुन्छ ।’ 

अधिवक्ता एवम् नेपाल ल क्याम्पसमा अध्यापन गराउने यमकुमार योन्जनका अनुसार सामाजिक संजालमा लेखिएका कुराले न्यायालयलाई केही असर गर्दैन् । यी कुराहरू प्रमाणका रूपमा लिइने विषय होइनन् । ‘कन्सेन्ट र अपराधका तत्वहरूबारे अपराध संहितामा प्रस्ट रूपमा उल्लेख गरिएको छ,’ उनले भने, ‘यी सबै अदालतले पुष्टि गर्ने विषय हुन् । प्रमाण बुझ्दै जाँदा ठहर्ने वा नठहर्ने भन्ने कुरा अदालतकै मातहतको कुरा हो ।’

बलात्कारको घटनामा अनुसन्धानको क्रममा पीडितको संरक्षणमा पनि विचार पुर्‍याउनुपर्ने उनले बताए । ‘यस्तो बेला पीडितको गोपनीयतामा ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने, ‘भोलि उसले आफूलाई परेको अन्यायलाई लिएर आत्महत्यासमेत गर्न सक्छ । यो कुरालाई विचार गर्नुपर्छ । ‘राइट टु लिभ’ यसलाई पनि ध्यान दिनुपर्छ।’ 

अनुसन्धानको क्रममा अदालतमा विचाराधीन रहेका मुद्दामा सार्वजनिक टीकाटिप्पणी गर्नु उचित नभएको उनको तर्क छ । ‘अदालतलाई स्वच्छ, निष्पक्ष न्याय दिनका लागि सहयोग गर्नु हामी सबैको दायित्व हो,’ उनले भने, ‘हामीले अदालतप्रति विश्वास गर्नुपर्छ । अदालत स्वतन्त्र र सक्षम हुन्छ । अदालतले पीडितको पक्षमा निर्णय गर्छ भन्ने विश्वास राख्नुपर्छ ।’ 

अधिवक्ता योन्जनका अनुसार पीडकको हकमा जाहेरी परेपछि अभियुक्तका विषयमा अनुसन्धान गर्ने काम प्रहरीको हो । प्रहरीले निष्पक्ष र कानुनी प्रावधानअनुसार तटस्थ रूपमा अनुसन्धान गर्नुपर्छ । यो अदालतको विचाराधीन मुद्दामा भएकाले मनलाग्दी अभिव्यक्ति दिनु गलत हो । 

यसै विषयमा नेपाल ल क्याम्पस बीए एलएलबी ५ औँ सेमेस्टरमा अध्ययनरत मनमोहन भट्ट भन्छन्, ‘कुनै पनि आपराधिक केसमा मुद्दा परेपछि थुनाकोे समयदेखि अदालतले निर्णय नगरून्जेल प्रहरीले सूचना सार्वजनिक गर्नु हुँदैन ।’ उनको प्रश्न छ– ‘कोही निर्दोष देखिएमा उसको गुमेको प्रतिष्ठाको जिम्मा कसले लिन्छ ?’ 

प्रहरीले सूचना बाहिर ल्याएको कारण नै यो विषयमा छलफल सुरु भएको उनले बताए । ‘सोसल मिडियामा ‘एक्टिभ’ र नाम चलेकाहरूले पनि यसमा बोल्न थालेका छन्,’ उनले भने, ‘उनीहरूको सामाजिक सञ्जालमा पकड बलियो हुन्छ । तर, फैसला आउनु अगावै पक्ष–विपक्षको निर्णय उहाँहरूले गर्ने होइन । यत्ति कुरा बुझनुपर्छ ।’ 

आधिकारिक सूचनाबिना अदालतमा विचाराधीन रहेको मुद्दामा कोही बोल्छ भने उसलाई कारवाही हुनुपर्ने उनी बताउँछन् । ‘सेलिब्रेटीको नाममा उनीहरूले आफूसँग सम्बन्धित हजारौं मानिसलाई पूर्वाग्रहमा राख्नुहुँदैन,’ उनले भने, ‘यस्तो विषयमा साइबर ब्युरोले पनि विचार पुर्‍याउनुपर्छ ।’

धेरैले यो विषयलाई वाक् स्वतन्त्रतासँग जोडेको उनले पाएका छन् । तर, वाक् स्वतन्त्रता निष्पक्ष र आधिकारिक कुरामा लागू हुने उनको बुझाइ छ । ‘जे पनि बोलेर स्वतन्त्र भन्न मिल्दैन,’ उनले भने, ‘आफूले जुनसुकै विषयमा बोल्दा कानुनसम्मत दायरामा रहेर बोल्नुपर्छ ।’
 


Author

थप समाचार
x