समाज

महानगर मौन

जिल्ला अदालतको बेसमेन्ट न्यायाधीश र कर्मचारीका गाडीले टनाटन, फुटपाथमा सेवाग्राहीका सवारी

अतिन आचार्य |
भदौ २१, २०७९ मंगलबार ११:१७ बजे

काठमाडौँ- जिल्ला अदालत अगाडिको फुटपाथमा दुई वर्षदेखि राखिएको ठूला सवारीसाधन केही दिनअघि मात्र हटयो । पछिल्लो समय काठमाडौँ महागनरपालिकाले फुटपाथको पार्किङ र ठूला-ठूला भवनभित्रको बेसमेन्टलाई पार्किङको रुपमा प्रयोग नगरिएको भन्दै हटाउन निर्देशन दिइसकेको छ ।

जिल्ला अदालत काठमाडौँलाई पनि महानगरले बेसमेन्टलाई पार्किङको रुपमा प्रयोग गरेको नगरेको भनी नक्सा माग गरेको थियो । अदालतले पनि महानगरपालिकालाई तत्कालै अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको भनी जवाफ पठाएको थियो ।


महानगरले नक्सा पास गरी पार्किङका लागि नभइ अन्य प्रयोजनमा प्रयोग भएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । तर, बबरमहलस्थित अदालत अगाडिको फुटपाथमा सेवाग्राहीको मोटरसाइल कार्यालय समयदेखि नै देखा पर्छन् । फुटपाथको प्रयोग पार्किङका रुपमा प्रयोग भइरहेका छन् । अदालतमा बेसमेन्ट पार्किङ भए पनि सेवाग्राहीले पाएका छैनन् ।

अदालतमा सेवाग्राहीले पार्किङ नपाएको गुनासो गरेका छन् । सोमबार कालीमाटीका विकाश डंगोल अदालत परिसर ९ बजे पुग्दा पनि बेसमेन्ट पार्किङका लागि प्रयोग गर्न पाएनन् । उनी पुग्दा बेसमेन्टमा साना तथा ठूला सवारीसाधन  भरिसकिएको थियो । सबैका लागि पार्किङको सुविधा भए पनि उनले पाएनन् । अदालतको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनलाई बेसमेन्टमा जान दिएनन् ।

डंगोलले बेसमेन्टमा रहेका सुरक्षाकर्मीको भनाइ उदृत गर्दै भने,' सेवाग्राहीका लागि पार्किङ गर्ने स्थान छैन । कर्मचारी र न्यायाधिशहरूको लागि मात्र हो । 'अदालतमा पार्किङ नपाएपछि सडकको फुटपाथमा पार्किङ गर्न उनी पुगे । अदालत वरिपरि पार्किङ गर्ने स्थान नभएकाले फुटपाथ रोज्नु परेको भनाइ छ ।

फुटपाथ नभइ पार्किङस्थल

अदालत अगाडिको फुटपाथ व्यवसायिक पार्किङस्थल जस्तै दृश्य देखिन्छ । वर्षौदेखि अदालत अगाडिको फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ । क्रमबद्ध मोटरसाइकल तथा स्कुटर पार्किङ गरेर राखिएको हुन्छ ।  

अदालतले सेवाग्राहीलाई बेसमेन्टमा पार्किङको अभाव देखाएर उनीहरू फुटपाथमा पार्किङ गर्छन् । बेसमेन्टमा अदालतका कर्मचारीहरूको मात्र सवारीसाधनमात्र पार्किङ हुने गरेको छ ।

अदालतको बेसमेन्टमा ठूला सवारीसाधनदेखि मोटरसाइकल पार्किङ गरिएका छन् । चार-पाँच सय सवारीसाधन अदालत भित्रका कर्मचारीका छन् । जहाँ सेवाग्राहीको भन्दा पनि कर्मचारीका सवारीसाधनले बेसमन्ट भरीभराउन हुन्छन् ।

फुटपाथ मिचेर सवारी साधानहरू पार्किङ हुने गरिएका छन् । फुटपाथ मिचिएपछि सबैभन्दा बढी सास्ती सर्वसाधारण भोग्न बाध्य छन् । सर्वसाधरण फुटपाथबाट नभइ सडक किनाराबाट चेपिएर हिड्नुपर्ने बाध्यता छ ।

पार्किङ गरिएको ठाउँमा दृष्टिविहीनका लागि बनाइएको 'ट्रयाक टायल' समेत बनाइएको छ । पार्किङले ट्रयाक टायललाई छोपेको छ । जसले प्रत्यक्ष असर दृष्टविहीनलाई परेको छ ।

अदालतबाहेक अन्य कार्यालयका सेवाग्राहीको सवारीसाधन

अदालतका सूचना अधिकारी दीपक दाहालले फुटपाथमा गरिएको पार्किङ अदालतमा आउने सबैको नभएको बताए । अदालतमा भन्दा पनि आसपासमा धेरै सरकारी कार्यालय रहकाले अन्य कार्यालयका सेवाग्राहीले पार्किङ गरेको उनले दाबी गरे ।

पछिल्लो समय कानुन कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघनका बढ्दै गएका छन् । अदालतले आफ्ना सेवाग्राहीलाई पार्किङ नदिदा फुटपाथमा साना-साना सवारीसाधन पार्किङ बाध्य छन् । 

स्थान अभावका कारण देखाउँदै सेवाग्राही मोटरसाइकल फुटपाथमै राख्न बाध्य भएका छन् । दाहालका अनुसार अदालतको बेसमेन्टमा न्यायाधीश र कर्मचारीका सवारीसाधनले ठाउँ ओगट्छ । दिनमा पाँच सय बढी आउने सेवाग्राहीको सवारीसाधन राख्‍न स्थान अभाव छ ।

'जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डयन प्राधिकरण र वन परिसरमा जाने सेवाग्राहीहरूले पनि यही पार्किङ गर्छन्,' उनले भने,' सेवाग्राहीका लागि तत्काल वैकल्पिक स्थान पनि खोज्न सक्दैनौँ । अदालतको पार्किङ भएका स्थानमा कर्मचारीका सवारीसाधन छन् ।'

पार्किङ व्यवस्थित गर्न सरकारी तथा व्यापारीक भवनलाई पत्र पठाइयो

यतिखेर महानगरपालिका अव्यवस्थित टहरा र नक्सा पास नगरेका संरचना हटाउन व्यस्त छ । महानगरभित्रका फुटपाथ खाली गराउदै र व्यवस्थित बनाउन महानगर तीव्र रुपमा लाागिरहेको छ । तर, दैनिक हजारौ पार्किङ हुने बबरमहल अदालत अगाडिको फुटपाथबाट व्यवस्थित गर्न सकेको छैन । 

नगर प्रहरी प्रमुख राजु पाण्डेले फुटपाथलाई व्यवस्थित गर्न महानगर लागएको बताएका छन् । फुटपाथमा गरिएका पार्किङ हटाउन तीव्र गतिमा सरकारी कार्यालय र अन्य व्यापारिक भवनलाई परिपत्र जारी गरिसकिएको उनले बताए ।

'सरकारी कार्यालयलाई सेवाग्राहीको सवारीसाधन पार्किङ गर्न दिनु भनेर सकिएको छ,' उलने भने,'फुटपाथमा गरिएका सवारीसाधनलाई कारबाही गरिन्छ । महानगरको गाडी गएर हटाउने गरेको छ । ठाउँअनुसार घुमेर फुटपाथमा गरिएका पार्किङको सवारी उठाइन्छ ।'

महानगरले फुटपाथबाट नियन्त्रण लिएको सवारीधनीबाट जरिवाना स्वरुप १ हजार रुपैयाँ लिने गरेको  छ ।' जरिवाना तिरेर छुटे पनि सेवाग्राहीहरू एक घण्टामा पुनः फुटपाथमा पार्किङ गरिएको भेटिएको छ, ' उनले थपे,' फुटपाथमा सवारीसाधन पार्किङ गर्न हुँदैन भनेर नागरिक सचेत हुनुपर्छ ।'

फुटपाथ पैदलयात्रीको भनेर सबैले सम्झुनपर्छ

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्ट्र प्रसाद भट्टले फुटपाथमा पैदलयात्रीको अधिकार हनन् हुनुहुँदैन भनेर सबैजना सचेत हुनुपर्ने बताउँछन् । फुटपाथमा गरिएका पार्किङलाई ट्राफिकले निरन्तर कारबाही गरिरहेको उनले जानकारी दिए ।

'फुटपाथलाई व्यवस्थित बनाउन तोकिएको स्थानमा मात्र पार्किङ गर्न भनिएको छ,' उनले भने,' काठमाडौँ महानगरसँगै लागेर ट्राफिक सचेतना कार्यक्रमदेखि कारबाहीसमेत गरिएको छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x