समाज

जडिबुटी कम्पनीका सुपरभाइजरमाथि यौन दुर्व्यवहारको आरोप

इकागज |
भदौ १, २०७९ बुधवार १६:४७ बजे

काठमाडौँ– काठमाडौँको जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सन्चो शाखाका सुपरभाइजरले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप त्यहाँ कार्यरत महिलाहरूले लगाएका छन् । उनीहरूले सुपरभाइजर हरि चापागाइँले लामो समयदेखि पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् । 

संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यौन दुव्र्यवहारको प्रतिकार तथा निवारणका लागि महाप्रबन्धक संगीता यादव र शाखा अधिकृत उषा रिजाललाई २०७४ साउन २२ गते र गत वैशाख १४ गते लिखित उजुरी गरिएको तर, दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही नगरी उल्टै दुर्व्यवहारमा पर्नेमाथि कारबाही गरियो ।’ 


दुव्र्यवहार गर्ने व्यक्तिबाट उल्टै डर, धाक, धम्की र व्यवस्थापकबाट अभद्र, अमर्यादित र अमानवीय व्यवहारको सामना गर्नु परेको उनीहरूले उल्लेख गरेका छन् । उजुरीको सुनुवाइ नभएपछि २०७४ वैैशाख २५ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गरेको उनीहरूको भनाइ छ । 

तर, त्यहाँबाट पनि कुनै काम कारबाही नभएको उनीहरूको गुनासो छ । लामो समयदेखि कम्पनीमा कार्यरत आफूहरूलाई नियुक्ति पत्र, न्यूनतम तलबदेखि परिचय पत्रसमेत प्रदान नगरिएको उनीहरूले बताएका छन् । 


Author

थप समाचार
x