समाज

देखावटी सम्बन्धको पर्दाफास गर्दै पचासपारिका पारपाचुके

के विवाह संस्था विघटन हुँदै छ ?

सृजना खड्का |
भदौ १, २०७९ बुधवार ११:५८ बजे

उमेर पचासपारि । तीन छोराछोरी । पाँच नातिनातिना । मुद्दा– सम्बन्ध विच्छेद । काठमाडौँ, बौद्ध बस्ने एक दम्पतीको सहजीवन ३० वर्ष जसोतसो चल्यो । हालै उनीहरूले आफ्नो दाम्पत्य जीवनमा पूर्णविराम लगाएका छन् । केही समयको अदालती प्रक्रियापछि उनीहरू अलग भएका छन् । जिन्दगीको लय आ–आफ्नै तरिकाले अगाडि बढाउने निर्णय गरेका छन्, उनीहरूले । यो सम्बन्ध विच्छेदको कारण हो– यौनजन्य अत्याचार ।

श्रीमान्‌को यौनजन्य अत्याचार सहन नसकेपछि श्रीमतीले डिभोर्सको मुद्दा फाइल गरेकी थिइन् । श्रीमान्‌लाई जति बेला मन लाग्यो, त्यतिबेला शारीरिक सम्पर्कका लागि तयार हुनुपर्ने असहजता उनले अधिवक्तासामु खोलेकी थिइन् । श्रीमान्‌को चाहना जति बेला पनि पूरा गर्न नमान्दा ‘कोसँग लागिस् ?’ भन्दै दैनिकजसो झगडा हुन थालेको थियो । मनमुटाव, झगडा र यातनाको सिलसिला लामो समय चल्यो । अन्ततः उनले सम्बन्ध विच्छेदको बाटो रोजिन् ।


मुद्दा हेरिरहेकी अधिवक्ताका अनुसार यो वैवाहिक बलात्कारको केस थियो । तर, बुढेसकालमा बलात्कारको केस लगाएर श्रीमान्‌लाई जेल पठाउन उनले मानिनन् । त्यसको विकल्पका रूपमा उनले सम्बन्ध विच्छेदको कारण अर्कै बताइन् ।

डिभोर्सपछि धेरैले उनलाई ‘भजन–कीर्तनमा लाग्नुपर्ने, नाति–नातिनासँग खेलेर बस्नुपर्ने उमेरमा कस्तो कुबुद्धि लागेको’ भने । बुढेसकालमा सहारा चाहिने बेला श्रीमान्‌ छाडेको भनेर धेरैले खिसिट्युरी पनि गरे । तर, उनलाई सहारा र सम्बन्धभन्दा महत्वपूर्ण स्वतन्त्रता र आत्मसम्मान लाग्यो । कुनै पनि हालतमा उनी यौनजन्य उत्पीडनबाट उन्मुक्ति चाहन्थिन् ।

०००
काठमाडौँ, कपन बस्ने एक महिलाको सानैमा मागी बिहे भयो । श्रीमान्‌सँग कहिल्यै विचार मिलेन । जहिल्यै कलह र झैंझगडा । बेमेलबीच पनि देखावटीका लागि सम्बन्धले निरन्तरता पायो । चार जना छोराछोरी जन्मिए । परिवारको लालनपालनमा श्रीमान्‌को भर थियो । छोराछोरीको भविष्यका लागि उनले लामो समय हिंसा सहिन् । सम्बन्धमा सम्झौता गरिन् । 

श्रीमान्‌सँगको सम्बन्धबाट ‘रिटायरमेन्ट’ पाउन उनी छोराछोरीको घरजम हुने मिति कुरेर बसेकी थिइन् । बुढ्यौली नजिकिँदै गर्दा सबै छोराछोरी बिहे गरेर वारपार लागे । त्यसपछि उनले जति बाँचिन्छ स्वतन्त्र भएर बाँच्ने निर्णय गरिन् । श्रीमान्‌को ‘काम’बाट रिटायरमेन्ट लिइन् । 

उनमा युवा उमेरमा डिभोर्स गर्ने सोच नआएको होइन । तर, डिभोर्सीको धब्बा लाग्यो भने छोराछोरीको घरजम नहोला भन्ने डर उनमा थियो । डिभोर्सी महिलालाई समाजमा टिकिखानै गाह्रो हुने समय थियो । डिभोर्सी भनेपछि कोठा भाडामा पाउनसमेत गाह्रो थियो । घरभित्रको हिंसाबाट उम्किन खोज्दा घरबाहिरको हिंसाको सिकार हुनुपर्ने डरले उनले आँट गर्न सकेकी थिइनन् । 

०००
प्रजनन स्वास्थ्य विशेषज्ञ डा. स्वस्ती शर्मा बुढ्यौलीमा यौन सम्बन्धका कुरा नमिल्दा सम्बन्ध विच्छेद हुनेमा सहमत छिन् । ‘४५ वर्षको उमेरपछि महिलाहरूको महिनावारी सुक्ने प्रक्रिया सुरु हुन्छ,’ उनी भन्छिन्, ‘हर्मोनल गडबडीले दिक्क लाग्ने, झर्को लाग्ने, बोल्न मन नलाग्ने, रुन मन लाग्ने, रिस उठ्ने, थाकेको महसुस हुन्छ ।’

डा. शर्माका अनुसार यस्तो अवस्थामा महिलाहरूलाई यौन सम्पर्क राख्ने रुचि पनि हुँदैन । तर, पुरुषहरू भने महिलाको दाँजोमा बढी सक्रिय हुन्छन् । श्रीमान्‌ले चाहना राखेको बेला श्रीमती तयार नहुँदा उनीहरूको सम्बन्धमा चिसोपना आउँछ ।

बूढ्यौलीमा डिभोर्स : के-के हुन् कारण ? 
वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक पछिल्लो समय उमेर ढल्केपछि सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको बताउँछिन् । उनको अनुभवमा बुढेसकालमा हुने सम्बन्ध विच्छेदका प्रमुख चार कारण छन् । पहिलो, यौनजन्य अत्याचार (वैवाहिक बलात्कार) । दोस्रो, छोराछोरीको जिम्मेवारीबाट मुक्त हुनु । तेस्रो, श्रीमान्‌को विवाहेत्तर सम्बन्धबारे थाहा पाउनु । चौथो, राजस्व छली गर्न नक्कली सम्बन्ध विच्छेद गर्नु । 

उनका अनुसार बुढेसकालमा सम्बन्ध विच्छेद गर्ने धेरै महिला वैवाहिक बलात्कार सहेर बसेका हुन्छन् । बालबच्चाको भविष्यका लागि युवा उमेरमा अत्याचार सहेर बस्छन् । उनीहरूको चाँजोपाँजो मिलिसकेपछि छुटिन्छन् ।

त्यस्तै, उनले हेरेका कतिपय केसमा बुढ्यौलीमा हुने सम्बन्ध विच्छेदको कारण विवाहेत्तर सम्बन्ध पनि हो । ‘वर्षौंवर्ष श्रीमान्‌ले बाहिर श्रीमती छोराछोरी राखेको थाहा हुँदैन,’ उनी भन्छिन्, ‘बुढेसकालमा एक्कासि अर्कोतिर आफ्ना जत्रै छोराछोरी भएको थाहा हुन्छ । त्यसपछि ममाथि विश्वासघात भयो भन्दै सम्बन्ध विच्छेद गर्न आउनेहरू पनि छन् ।’ 

त्यस्तै, अहिले बुढेसकालमा हुने सम्बन्ध विच्छेदको प्रमुख कारणमध्ये करछली गर्न गरिने नक्कली सम्बन्ध विच्देछ पनि एक भएको उनी बताउँछिन् । ‘ठूलो व्यापारिक घरानामा बिहे गरेको २०÷२५ वर्षपछि राजस्व छल्न नक्कली सम्बन्ध विच्छेद गर्ने पाइएको छ,’ उनी भन्छिन् । 

वरिष्ठ अधिवक्ता तथा मेलमिलापकर्ता सुनीता रेग्मी पोखरेलको पनि उस्तै अनुभव छ । उनले पनि सम्पत्ति धेरै हुँदा करछली गर्न धेरैले बुढेसकालमा नक्कली सम्बन्ध विच्छेद गरेको पाएकी छिन् । ‘सम्पत्ति धेरै हुँदा डिभोर्स गरेपछि दुइटा परिवार हुन्छ,’ उनी भन्छिन्, ‘सम्पत्ति भाग लगाएर कर छल्न अहिले धेरैले डिभोर्स गर्न थालेका छन् । उनीहरू कानुनी रूपमा डिभोर्स गरे पनि व्यावहारिक रूपमा भने सँगै बस्छन् ।’ त्यस्तै, अंशबन्डा गर्दा धेरै सम्पत्ति आफ्नो भागमा पार्न पनि नक्कली डिभोर्स गर्नेहरू उनले देखेकी छिन् ।

नक्कली डिभोर्समा महिला नै बढी मारमा परेको उनी बताउँछिन् । ‘कर छल्न कागजपत्रका लागि धेरैले अंश नलिई डिभोर्स गरेका हुन्छन्,’ उनी भन्छिन्, ‘डिभोर्स गरेपछि पुरुषले धोका दिएर अर्कै बिहे गरेका उदाहरण पनि छन् ।’ 

यसमा उनको सुझाव छ– बरु कर बढी तिर्नुस् तर, नक्कली डिभोर्स नगर्नुस् । एकपटक डिभोर्स गरेपछि ‘पहिला झुटो डिभोर्स थियो, अब साँच्चै गर्छु’ भन्न पाइँदैन । वरिष्ठ अधिवक्ता पोखरेलकहाँ अर्काथरी दम्पती पनि बुढ्यौलीमा सम्बन्ध विच्छेद गर्न आउँछन् । उनीहरू कोही स्वदेश बस्न मन पराउने हुन्छन्, कोही विदेश । ‘अहिले बुढ्यौली लागेका धेरैका छोराछोरी विदेशमा छन्,’ उनी भन्छिन्, ‘उनीहरूले आमाबुवालाई विदेश बोलाउँछन् । कोही विदेशमा रमाउँछन्, कोही स्वदेशमै बस्न रुचाउँछन् । यस्तो बेला कुरा नमिलेर पनि केही दम्पतीले बुढेसकालमा डिभोर्स गरेका घटना छन् ।’

सम्बन्ध विच्छेदमा छोराछोरीको साथ
अधिवक्ता पुन्देवी ‘सुजना’ महर्जनकहाँ कतिपय छोराछोरी नै आमाबुवाको डिभोर्सका लागि बुझ्न आउँछन् । छोराछोरीकै साथ र सहयोगमा धेरै आमाबुवाको डिभोर्स पनि भएको छ । ‘आजकालका छोराछोरी अधिकारप्रति सचेत छन्,’ उनी भन्छिन्, ‘अन्याय सहेर कसैको नाममा सिन्दुर पोते लगाएर बस्ने कुरा उनीहरू स्वीकार्दैनन् । एक छाक खाएर पनि आमा स्वतन्त्र भएको उनीहरू देख्न चाहन्छन् ।’

वरिष्ठ अधिवक्ता पाठक ३० वर्ष पहिला आफूले वकालत गर्दाको समय सम्झिन्छिन् । जतिबेला महिलाहरू ‘लात खाए पनि भात खान पाइन्छ’ भनेर डिभोर्स गर्न मान्दैनन्थे । अब भने बुढेसकालको केही वर्ष भए पनि शान्तसँग बिताउन पाऊँ भन्दै डिभोर्स फाइल गर्नेहरू छन् । ‘यसमा उनीहरूलाई छोराछोरीको पूर्ण साथ हुन्छ,’ उनी भन्छिन्, ‘समाजसँग लड्ने, बोल्ने सक्ने आँट पनि हुन्छ ।’

बुढेसकालमै भए पनि हिंसाविरुद्ध उभिएर डिभोर्स फाइल गर्ने महिलाको आँट सम्मानयोग्य भएको उनी बताउँछिन् । ‘बुढ्यौलीमा पनि धेरैले घर, परिवार, समाज भनेर यो आँट गर्न सक्दैनन्,’ उनी भन्छिन्, ‘तर जसले आफ्नो स्वतन्त्रता र आत्मसम्मानका लागि यस्तो कदम चालेका छन् त्यसलाई सकारात्मक मान्नुपर्छ ।’

सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत विषय भएको उनी बताउँछिन् । ‘एउटाले शारीरिक, मानसिक, सामाजिक रूपमा भोगेको हिंसा अर्कोले महसुस गर्न सक्दैन,’ उनी भन्छिन्, ‘आत्मसम्मान र स्वतन्त्रता सबैलाई प्यारो हुन्छ । चाहे त्यो युवा वा वृद्धवृद्धा ।’

उमेर ढल्केपछि गरिने सम्बन्ध विच्छेदले आर्थिक रूपमा महिला र पारिवारिक रूपमा पुरुषलाई बढी प्रभाव पार्ने उनी बताउँछिन् । ‘महिलाहरूले उमेर हुँदा घरपरिवारको स्याहारमा समय बिताएका हुन्छन्,’ उनी भन्छिन्, ‘बुढेसकालमा डिभोर्स हुँदा आर्थिक रूपमा उनीहरूलाई बढी कठिनाइ पर्छ ।’ पुरुषहरूमा भने पारिवारिक कठिनाइ आएको उनले देखेकी छिन् । ‘हाम्रो सामाजिक संरचनाले पुरुषलाई किचनको काम लगाउनुहुन्न भन्छ,’ उनी भन्छिन्, ‘बुढेसकालसम्म खाना बनाउन नआउने पुरुषहरू पनि हुन्छन् । डिभोर्सपछि उनीहरूलाई त्यो सबै सम्हाल्न गाह्रो हुन्छ । तर, समाजले पुरुषलाई डिभोर्सपछि जतिसुकै बूढो भए पनि बिहे गर्ने छुट दिएको छ ।’

श्रीमान्‌ले अपराध नै गरेर डिभोर्स भए पनि समाजको नजरमा दोष श्रीमतीकै हुने उनी बताउँछिन् । बुढेसकालमा डिभोर्स गर्दा पनि महिलाले नै लान्छना खेप्नुपरेको उनले पाएकी छिन् । ‘जसको गल्ती भए पनि श्रीमती नै बदमास थिई भनेर कुरा काटेको पाइन्छ,’ उनी भन्छिन्, ‘बुढेसकालको सहारा बन्नुपर्ने बेला छोडेर गई भनेर उनैलाई दोषी ठहराइन्छ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x