समाज

तीन गुणाले बढ्यो दुर्घटना

दश वर्षमा एक लाख ३६ हजार ३४४ दुर्घटना, २४ हजार ६२८को मृत्यु

इकागज |
साउन ३०, २०७९ १३:१५ बजे

काठमाडौँ - रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भीर घाइते भए ।  

उनीहरूलाई सरकारले तत्कालै हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍यायो । भौगोलिक हिसाबले विकट क्षेत्रमा भएको उक्त दुर्घटनापछि तत्काल हेलिकप्टरबाट उद्धार नगरिएको भए अझै केही सुरक्षाकर्मीले ज्यान गुमाउन सक्थे ।


गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ स्थित लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको यात्रुवाहक मोडिन नपाइ एक्कासि भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए । त्यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएका थिए । 

स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा बस दुर्घटनामा परेको हो । प्रहरीले पनि सवारी साधनको कमजोर अवस्थाका कारण ब्रेकले काम नगर्दा यात्रुले अकालमै ज्यान गुमाउन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् । प्रहरीमा रहेको अभिलेख विश्लेषण गर्दा पनि दुर्घटना र मृत्यु तथा घाइतेको ग्राफ बढ्दो छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा सवारी दुर्घटना सङ्ख्या झण्डै तेब्बरले बढेको छ । दुर्घटनाबाट मानवीय क्षति (मानिसको मृत्य) पनि निक्कै बढेको पाइएको छ । 

दश वर्षअघि (आव २०६८/६९) को तथ्याङ्कमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार दुई सय ८७ सवारी साधन परेका थिए । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भीर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार सवारी दुर्घटना ह्वात्तै बढेर २४ हजार पाँच सय ३८ पुग्यो । उक्त साल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सात हजार दुई सय ८२ यात्रु गम्भीर घाइते भएका छन् । 

दश वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्याङ्क हेर्दा दुर्घटना सङ्ख्या १६ हजार चार सय ४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारी साधान हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ का कुल ३९ हजार तीन सय ७९ सवारी साधन दुर्घटना हुँदा मोटरसाइकल मात्रै १९ हजार नौ सय ७४ परेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ । त्यसपछि दोस्रोमा जीप/कार आठ हजार नौ सय ७५, त्यसपछि बस दुई हजार सात सय ८६ र चौथोमा ट्रक/ट्याङ्कर दुई हजार चार सय ७६ दुर्घटना भएको अभिलेख छ । 

दुर्घटनामा परेका सवारी साधनमध्ये आधा मोटरसाइकल छन् । त्यसकारण यातायातका साधनमा सबैभन्दा बढी जोखिम मोटरसाइकल र त्यसपछि जिप/कार रहेको विवरणले पुष्टि गर्छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह प्रहरीको दुर्घटना न्यूनिकरण अभियानका बीच नै दुर्घटना बढ्दो क्रममा रहेको बताउनुहुन्छ । 

प्रहरी प्रधान कार्यालयले हालै गरेको तीन महिनाको तुलनात्मक अध्ययनले झन् बढी दुर्घटना बढेको देखाएको छ । गत वर्ष र अहिलेको वैशाख, जेठ असार (तीन महिनाको तुलना मा यसवर्ष सोही अवधिमा ६३.४२ प्रतिशतले दुर्घटना बढेको छ भने मानिसको मृत्यु ३१.५९ प्रतिशतले वृद्धि भएको छ । उक्त तथ्याङ्कले सवारी दुर्घटनाको स्थिति भयावह हुँदै गएको प्रष्ट हुन्छ । 

विसं २०७२ पछि ह्यात्तै बढ्यो दुर्घटना

प्राप्त विवरणमा विसं २०७२ सालदेखि भने एक्कासि सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्याङकले देखाउँछ । विसं २०७५ सम्म सवारी दुर्घटना सङ्ख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना ह्वात्तै बढेको छ । आव २०७६/७७ मा तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पाँच हजार बढी दुर्घटना भएका छन् । त्यसपछि हरेक आर्थिक वर्ष पाँच हजार कै हाराहारीमा दुर्घटना सङ्ख्यामा वृद्धि भएर दश वर्षको अन्तरालमा तीन गुणाले बढेको पाइएको हो ।

दुर्घटनाको खास कारण के हो, कसरी न्युनिकरण गर्ने ? 

यातायात विज्ञ आशिष गजुरेल नेपालका यातायात विश्वसनीय, आरामदायी र सुरक्षित नभएको दाबी गर्छन् । 'सार्वजनिक सवारीमा यात्रु कोचाकोच गरेर राखिएको हुन्छ, कमजोर मेसिनरीको प्रयोग हुन्छ, राज्यको योगदान पनि कमजोर छ, निजी क्षेत्रले चाहेका बेला निकाल्ने र थन्क्याउन सक्ने अवस्था छ, अनुगमनको संयन्त्र छैन', गजुरेलले भने, 'त्यसकारण पनि नेपालको यातायात क्षेत्र सुरक्षाका दृष्टिले कमजोर छ ।' 

उनका अनुसार नेपालमा सवारी साधनको सङ्ख्या धेरै छ । उनले भने, 'सडकको क्षेत्र साँघुरो छ, त्यसले जाम र दुर्घटना पनि बढाउने गरेको छ, फुटपाथ राम्रो छैन, ज्येष्ठ नागरिक, बालिबालिका, अपाङ्गता भएका व्यक्तिमैत्री सडक पनि छैनन् ।'

सडक पुर्वाधार, सवारी साधनको अवस्था, कानुन र त्यसको कार्यान्वयन, सडक प्रयोगकर्ताको अनुशासन, तत्काल उद्धार र राहतको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने तर नेपालको यातायात क्षेत्र त्यस्तो नहुँदा सुधार गरे मात्रै सुरक्षित सडक बन्न सक्ने उनी बताउँछन् ।
 
उनी नेपालको राजमार्ग शहरी क्षेत्रबाट लगिनु नै गलत भएको बताउँछन्। त्यसलाई शहरी सडक बनाएर राजमार्ग शहरभन्दा बाहिरबाट लैजानुपर्नेमा उनको जोड छ । ग्रामिण क्षेत्रमा डोजर इन्जिनियरिङ मात्रै रहेकाले जोखिम बढी छ । सडकमा रेलिङ मात्रै राम्ररी व्यवस्थापन गर्न सकिए धेरै दुर्घटना रोक्न सकिने गजुरेल सुनाउँछन् ।

दुर्घटना कम गराउन राज्यले कम्तीमा वर्षको दुई पटक सवारी साधनको अवस्था प्रमाणित गर्न लगाउनुपर्ने र कडाइका साथ नियम पालना गराउनुपर्ने उनको सुझाव छ । 'हेल्मेट लगाउनु ट्राफिक प्रहरीका लागि हो भने जस्तो भएपछि कसरी दुर्घटना कम हुनु ?', उनले प्रश्न गरे ।

यस्तो छ १० वर्षको दुर्घटना र मानवीय क्षति

आर्थिक वर्ष २०७८/७९ को दुर्घटना

आव २०७८/७९ मा कुल २४ हजार पाँच सय ३८ दुर्घटना भए । ती दुर्घटनामा ३९ हजार तीन सय ७९ सवारी साधान संलग्न रहे । ती दुर्घटनाबाट कुल दुई हजार आठ सय ८३ जनाको मृत्यु भएको छ भने सात हजार दुई सय ८२ जना गम्भीर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७७/७८
यस आवमा कुल २० हजार छ सय ४० दुर्घटनामा ३३ हजार नौ सय ३५ सवारी साधन परेको पाइएको छ । ती दुर्घटनामा दुई हजार तीन सयको मृत्यु भएको छ भने छ हजार चार सय ४८ जना गम्भीर घाइते भएका थिए ।  

आर्थिक वर्ष २०७६/७७ 

यस आवमा कुल १५ हजार पाँच सय ५९ दुर्घटना भए । त्यसमा २५ हजार सात सय ८८ सवारी साधन परेका छन् । दुर्घटनामा दुई हजार दुई सय ८१ को मृत्यु र चार हजार छ सय १५ जना गम्भीर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७५/७६

आव २०७५/७६ मा १० हजार तीन सय ६० सवारी दुर्घटना भएको तथ्याङ्क छ । त्यसमा २२ हजार ८७ सवारी साधन परेका पाइएको छ । ती दुर्घटनामा दुई हजार सात सय ८९ को मृत्यु भएको छ । चार हजार तीन सय ७६ गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७४/७५

यस आवमा कुल १० हजार नौ सय ६५ दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १८ हजार ३४ सवारी साधन परेका र कुल दुई हजार पाँच सय ४१ को मृत्यु भएको छ । अन्य चार हजार एक सय ४१ गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/७४

यस आवमा कुल १० हजार एक सय ७८ दुर्घटना भएकामा १५ हजार पाँच सय १५ सवारी साधन संलग्न भएका छन् । उक्त दुर्घटनामा दुई हजार तीन सय ८४ र चार हजार दुई सय ५० गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७२/७३

कुल १० हजार १३ दुर्घटना हुँदा त्यसमा १६ हजार पाँच सय दुई सवारी साधन परेको छ । ती दुर्घटनामा दुई हजार छ को मृत्यु भएको छ भने चार हजार एक सय ८२ जना गम्भीर घाइते भएका छन् । 

आर्थिक वर्ष २०७१/७२

कुल नौ हजार एक सय ४५ दुर्घटनामा १४ हजार आठ सय ३७ सवारी साधनमा क्षति भएको छ । ती दुर्घटनामा दुई हजार चारको मृत्यु भएको र चार हजार ५४ जना गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०७०/७१

यस आवमा जम्मा आठ हजार चार सय छ दुर्घटना भएका छन् । त्यस दुर्घटनामा १३ हजार पाँच सय २९ सवारी साधान परेका छन् । दुर्घटनामा कुल एक हजार सात सय ८७ जनाको मृत्यु र तीन हजार पाँच सय १६ गम्भीर घाइते भएका छन् ।

आर्थिक वर्ष २०६९/७०

यस आवमा जम्मा दुर्घटना आठ हजार चार सय ८४ भएका छन् । त्यस दुर्घटनामा १३ हजार पाँच सय ८२ सवारी साधान संलग्न भएको पाइएको छ । दुर्घटनामा कुल एक हजार आठ सय १६ को मृत्यु तथा तीन हजार नौ सय ८६ गम्भीर घाइते भएका छन् । 

आर्थिक वर्ष २०६८/६९

यस आवमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा  १४ हजार दुई सय ८७ सवारी साधन परेका छन् । दुर्घटनामा एक हजार आठ सय ३७ को मृत्यु र चार हजार १९ जना गम्भीर घाइते भएका थिए । नारायण ढुङ्गाना/रासस

यो पनि 

विशिष्टको निजी सवारी मोहले अस्तव्यस्त सार्वजनिक यातायात

कहिल्यै नसुध्रिने सार्वजनिक यातायात

 



Author

थप समाचार
ad
x