समाज

खोला छेउ र सरकारी जग्गाको आडमा फोहोर

इकागज |
साउन २२, २०७९ आइतवार १८:५३ बजे

कैलाली - धनगढी उपमहानगरपालिका क्षेत्रका खोला छेउमा फोहर व्यवस्थापन गर्दा आउने दुर्गन्धले खोला आसपासको वातावरणमा प्रतिकूल असर पुग्न थालेको छ । जथाभावीरूपमा खोलाको छेउमा फोहर व्यवस्थापन गर्दा खोलाको प्राकृतिकस्वरुप पनि कुरुप बन्न थालेको छ ।

वडा नं १ को नेपाल राष्ट्र बैंक चोकबाट पश्चिमतर्फको सुकुटी नालामा फ्याँकिएको फोहोरले दुर्गन्ध फैलिएर वरिपरिको वातावरणमा असर पुग्न थालेको हो । उपमहानगरपालिका कार्यालयबाट झण्डै चार सय मिटरको दूरीमा रहेको यो खोला छेउछाउमा रहेका व्यक्तिगत घर आँगनमा समेत फोहर व्यवस्थापन गर्दा वातावरणमा प्रतिकूल असर पुगेको नगरवासीको गुनासो छ ।


फोहोरको उचित व्यवस्थापन गर्न नसकेर धनगढी उपमहानगरपालिकाले वषौंँदेखि सहरी क्षेत्रको घना बस्ती रहेका खोला छेउमा फोहर थुपार्ने गरेको छ । स्वच्छ, हराभरा, स्वस्थ्य र हरित नगरको विकास गर्ने उपमहानगरको नीति भए पनि जहाँ पायो त्यहीँ भइरहेको फोहर व्यवस्थापनले वातावरणमा प्रतिकूल असर पुगेको हो । 

नगरको मुख्य वनभोजस्थल र पर्यटकीय क्षेत्रका रूपमा रहेको नगरको देवहरिया सामुदायिक वन क्षेत्रमा समेत जथाभावी रुपमा भइरहेको फोहोरको व्यवस्थापनले वन क्षेत्र पनि कुरुप बन्दै गएको छ । प्राकृतिक खोला छेउछाउमा फोहर थुपार्ने प्रवृत्तिले वर्षायाममा खोलाको प्राकृतिक मार्गसमेत अवरुद्ध हुन गई बर्सेनि नगर क्षेत्रमा डुबानको समस्या पनि बढ्दै गएको पाइएको छ । खासगरी नगर क्षेत्र हुँदै बग्ने खोलामा जथाभावी फोहोरको व्यवस्थापन गर्दा वडा नं १, २, ४, ५, ७ र ८ का टोलबस्ती बढी प्रभावित हुने गरेका छन् ।

उपमहानगरपालिका कार्यालय सामुदायिक विकास तथा सरसफाइ शाखाका प्रमुख टंकबहादुर विष्टले भने सम्बन्धित टोलवासीसँग सहमति लिएर उहाँहरूले तोकेकै ठाउँमा फोहर व्यवस्थापन गर्ने गरिएको दाबी गर्छन् । `वर्षौँदेखि खोला छेउछाउमा फोहर व्यवस्थापन गर्नुपर्ने अवस्था छ`, विष्टले भने, `फोहर व्यवस्थापन गर्दा विरोध आएमा अन्य ठाउँ खोजेर फोहर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।`

फोहरको व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्न उपमहानगरपालिकाले लामो समयदेखि प्रयास गरेको भए पनि उचित ठाउँ नपाउँदा अहिलेसम्म सफल हुनसकेको छैन । विगतमा उपमहानगरपालिका–२ मोहना नदी नजिकैको जग्गामा ल्यान्डफिल साइडको व्यवस्था गर्न गरिएको प्रयास स्थानीयवासीको विरोधका कारण सफल हुनसकेको थिएन । वडा नं ७ को खुटिया नदीछेउमा जग्गा पहिचान भई ल्याण्डफिल साइटको व्यवस्थाका लागि सूचना प्रकाशित भई प्रक्रिया अघि बढेको जनाइएको छ । दुई लाखभन्दा बढी जनसङ्ख्या पुगेको धनगढीको बजार क्षेत्रमा मात्रै दैनिक झण्डै १६ टन फोहर जम्मा हुने गरेको छ । 

उपमहानगरका सबै १९ वटै वडामा भने दैनिक ६५ टन फोहर जम्मा हुने गरेको सरसफाइ शाखा प्रमुख विष्टले बताए । सरसफाइमा उपमहानगरपालिका कार्यालयको वार्षिक झण्डै रु एक करोड ६३ लाख खर्च हुने गरेको छ ।

कार्यालयको जग्गामा फोहरको थुप्रो

धनगढी–१ मा रहेको नेपाल वायुसेवा निगमको स्वामित्वको जग्गाको उचित रेखदेख र संरक्षणको अभावमा कवाडीका सामान राख्ने र शौच गर्ने थलोमा परिणत हुँदै गएकामा पछिल्ला महिनामा फोहरसमेत थुपार्ने गरिएको छ ।

सो जग्गाको पश्चिमतर्फ रहेको बस्तीमा फोहर थन्क्याउँदा वरिपरिको वातावरण डुङडुङ्ती गन्हाएर बस्नै नसकिने अवस्था छ । उचित रेखदेख र संरक्षण नहुँदा झण्डै १० कठ्ठा क्षेत्रफलको यो जग्गामा प्रवेश गर्ने मुख्य गेट (प्रवेशद्वार) र वरिपरि लगाइएको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ । उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन । 
रासस


Author

थप समाचार
x