समाज

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

इकागज |
साउन २२, २०७९ आइतवार १८:२९ बजे

फाइल फोटो

चितवन - जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् ।


उनका अनुसार यस जिल्लाबाट सोही समयमा छ जनाको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ । वाग्लेका अनुसार झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट ६ जनाको नागरिकता रद्द गरिएको हो ।

यस्तै गत अर्थिक वर्षमा १८ हजार तीन सय ९७ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने आठ जना रहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । उनका अनुसार अङ्गीकृत नागरिकता लिनेहरू आमा–बुवासमेत अङ्गीकृत नागरिकता लिएकाहरूको परिवार रहेका छन् । पन्ध्र वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गत वर्ष अङ्गीकृत नागरिकता पाएका परिवारबाहेक अन्यले पाएका छैनन् ।

न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले यो नागरिकता लिने गरेका हुन् । जिल्लामा गत आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । २५ हजार चार सय ८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।


Author

थप समाचार
x