समाज

प्रदेश प्रहरीले ५० शय्याको अस्पताल सञ्चालनमा ल्यायो

इकागज |
साउन १६, २०७९ सोमबार १२:४९ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरीले ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढीस्थित सुदूरपश्चिम प्रहरी आवासीय माध्यमिक विद्यालय परिसरमा रहेको ५० शैयाको अस्पताल उद्घाटन गरेका हुन् ।

प्रहरी अस्पताल महाराजगन्ज अन्तर्गत संचालित शाखा अस्पतालबाट सर्वसाधारणले समेत सेवा लिन सक्ने अस्पतालका डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) आशा सिंहले बताइन ।


प्रहरी अस्पताल संचालन भएको ३८ वर्षपछि धनगढीमा शाखा अस्पताल संचालनमा आएको हो । सिंहले आजबाट एक हप्तासम्म नि:शुल्क शिविर संचालनका साथै औषधिसमेत नि:शुल्क वितरण गरिने बताइन् । उनले अस्पतालले अपरेसन सेवा र सुत्केरी सेवा समेत छिट्टै संचालनमा ल्याउने जानकारी दिइन् ।

प्रहरी महानिरीक्षक सिंहले अस्पताल सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै एआइजी सिंहको प्रशंसा गरे । उनले अस्पतालमा सम्पूर्ण सेवाग्राहीले उपलब्ध भएका सेवा सुविधा पाउने बताए ।

थप सेवा सुबिधा समेत वृद्धि गर्दै लैजाने उनको भनाइ छ । अस्पतालमा दुईजना विशेषज्ञ चिकित्सक छन् । सिंहले छिट्टै अन्य विशेषज्ञ चिकित्सकहरू समेत थप गर्दै लैजाने बताए ।


Author

थप समाचार
x