समाज

नेपालीबाटै ठगिँदैं नेपाली

नेपाली कामदार भारतीय नेटवर्किङ कम्पनीको पहिलो 'टार्गेट'

कमल धिताल |
साउन १२, २०७९ बिहीबार १६:४९ बजे

काठमाडाैं- पहिलादेखि नै गरिरहेको कामबाट कमाइ हुन छाडेपछि नवलपरासी बर्दघाटका सुरज कार्की अर्को कामको खोजी गर्न थाले । सामान ओसारपसार गरेर जिविका चलाउँदै आएका उनको सो काम कोभिडले असर गरेकै कारण उनले विकल्प खोज्नुपरेको थियो ।

धेरै ठाउँ चाहर्दा पनि उनले भनेजस्तो काम भेट्टाएनन् । अन्तत: उनले भारतसम्म जाने पनि सोचे । उपयुक्त कामको खोजीमा भौतारिरहेका कार्कीलाई एक दिन जब फेसबुकमा भारतबाट एक व्यक्तिले काम गर्ने मान्छे चाहिएको भन्ने म्यासेज पठाए उनी निक्कै खुशी भए । 'ढुंगा खोज्दा देउता' भेटेका सुरजले उनलाई पछ्याए ।


सुरजले फेसबुक प्रोफाइल हेरे शिव ढकाल नाम गरेका व्यक्ति रहेछन् । फेसबुकमा स्याङ्जा घर र हाल भारतको पटना बसोबास रहेको ठेगाना देखेपछि सुरजले बाँकी कुरा गर्न थाले ।

आफू भारतमा काम गर्ने र त्यहाँ वी विनर ट्रेड मार्ट कम्पनी (डब्लुडब्लसी) नामक कम्पनीमा धेरै कामदार चाहिएको भन्दै उनले सुनाएपछि सुरजले आफूलाई पनि काम चाहिएको भन्दै त्यसका लागि के कस्ता प्रक्रिया गर्नुपर्ने भन्दै जानकारी मागे ।

फेसबुकमा गरिएको कुराकानी तथा पैसा पठाएको भौचर

सुरजले यत्ति भनेपछि शिवले आफू काम गर्ने डब्लुडब्लसी कम्पनीमा डाटा इन्ट्रीको काम गर्ने मान्छे चाहिएको र त्यसका लागि कम्पनीले मासिक ३० हजार तलब रहेको र सुरुमा ७ दिने ट्रेनिङ लिएर काम सिक्नुपर्ने बताए। सो कम्पनीमा काम सिक्नका लागि भने सुरुमा २० हजार भारतीय रूपैयाँ लाग्ने शिवले जानकारी दिए। सुरजले २० हजार भारतीय रूपैयाँ तिरेर मासिक ३० हजार भारतीय रूपैयाँ कमाइने भएपछि एकपटकका लागि २० हजार तिर्न सहमति जनाएको सुरज बताउँछन् । त्यसपछि उनले आफूसँगै काम खोजिरहेका अन्य साथीहरू सन्दिप महत क्षेत्री, मिलन गुरुङ, विजय मल्ल, सुजन मगरलाई पनि सो कुरा सुनाए। यसरी सबै काम खोजिरहेको र सोही समयमा मासिक ३० हजार भारू तलब रहेको जागिर पाउने भएपछि अन्य साथीहरू पनि काम छ कि भनेर खोज्न आग्रह गरे । यसमा शिवले धेरै कर्मचारी चाहिएको भनेपछि ५ जानै साथीहरू भारत जाने र त्यही काम गर्ने सल्लाह गरे।

नेपालमा हर्बो नामक कम्पनीले जसरी नेपालमा नेटवर्क विस्तार गरेको थियो त्यही मोडलमा यो कम्पनीले नेपालका तराई क्षेत्र लक्षित गरेर नेटवर्किङ गरिरहेको छ।

सुरजसहित पाँच जना सो ट्रेडिङको लागि भारतको पटना नजिक रहेको सो कम्पनीमा गए । ' हामी सबैले जनही २० हजार भारू तिरेर भारतको पटना नजिक कार्यालय रहेको डब्लुडब्लसी कम्पनीमा ७ दिने ट्रेनिङ पनि दिलाए,' उनले भने । डाटा इन्ट्रीको काम भनेर ट्रेनिङ लिन गएका उनीहरुलाई सेल्स म्यानको ट्रेनिङ दिइएको थियो । सात दिन कम्पनीको सो तालिम लिएको सुरज बताउँछन्।

तालिम सकिएपछि सुरज र उनका ४ जना अन्य साथीलाई सो कम्पनीको एक होस्टेलमा राखियो। होस्टेलमा बसेका सबैलाई कम्पनीको बारेमा र यसमा कसरी कमाइ हुन्छ लगायतका जानकारी दिए र उनीहरू ५ जनाबाट थप लगानी गरे त्यसबाट मनग्य आम्दानी गर्न सकिने लगायतका उत्साहित बनाइयो।

यसरी कमाइ उच्च हुने देखेपछि उनीहरूले ५ जनाले १ लाख ८० हजारका दरले ९ लाख रुपैयाँ बुझाए । यसरी ५ जनाबाट ९ लाख रूपैयाँ उम्काएपछि सो कम्पनीका सञ्चालकहरूले सुरज र उनका साथीहरूलाई भारत र नेपालका अन्य स्थानमा निकै सस्तोमा पाउने कपडालाई निकै महंगोमा किन्न लगाए। 'हामीले सो कपडा नकिन्ने भनेर जिद्दी गरेपछि होस्टलमा अन्य काम गर्न लगाए,' उनी भन्छन्, 'खाना पकाउने काम गर्न दबाब दिइयो, अनि नेपाल गएर अन्य मानिसहरूलाई सो कम्पनीमा लैजानुपर्ने सर्त राखियो।'

यसरी सो कम्पनीले सुरज र उनका ४ जना साथीबाट समग्रमा ९ लाख रूपैयाँ उम्काएपछि उनीहरूलाई नेपाल गएर ४ जान अन्य मान्छे लिएर जान सो कम्पनीले निर्देशन दियो। आफूहरू भर्खरै नेपालबाट कमाइको लागि भारत आएको र बिना कुनै रकम घर नफर्किने भनेर आफ्नो पैसा फिर्ता माग्न थाले कम्पनी उनीलाई पहिलो महिनाको कमिशन बापत ३३ हजार रूपैयाँ दियो। बाँकी महिनामा पनि यस्तै कमाइ गरिरहने हो भने बाँकी मान्छे लिएर आउन कम्पनीले दबाब दियो ।

यसरी डाटा इन्ट्रीको काम भनेर भारत पुगेका सुरज र उनका साथीहरूलाई अब भने आफूहरू नराम्रोसँग ठगिएको महशुस गरे।

सुरज र उनका साथीहरूले निकै दबाब दिएपछि त्यहाँबाट तुरुन्त नेपाल जान धम्की दिइयो अन्यथा भारतमा सजिलै पाइने सुटर बोलाएर मारिदिने धम्की सो कम्पनीका मानिसले दिए। ज्यानकै जोखिम हुने देखेपछि सुरज र उनका साथीहरू नेपाल फर्किए।

के हो डब्लुडब्लसी कम्पनी ?

‘वी विनर ट्रेड मार्ट कम्पनी’ को संक्षिप्त रूप हो डब्लु डब्लु सी । नेपालमा हर्बो नामक कम्पनीले जसरी नेपालमा नेटवर्क विस्तार गरेको थियो त्यही मोडलमा यो कम्पनीले नेपालका तराई क्षेत्र लक्षित गरेर नेटवर्किङ गरिरहेको छ। भारतको पटना नजिक सम्पर्क कार्यालय रहेको यस कम्पनीमा आफू जस्ता धेरै नेपालीहरू ठगिएका सुरज बताउँछन् । नेपालमा आएर उजुरी गर्न समेत सो कम्पनीका प्रतिनिधिले धम्की दिने गरेको उनको भनाइ छ । सो कम्पनीले कतिपयलाई बैंकिङ च्यानल मार्फत भुक्तानी नगर्न समेत निर्देशन दिने गरेको छ। यस कम्पनीले कामका लागि बोलाउने अधिकांशलाई सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छन् । यस्तै एकपटक यसमा रकम गुमाएकाहरूले पनि आफ्नो लगानी उठाउनको लागि अन्य व्यक्तिहरूलाई अनेक प्रलोभन देखाइ सो कम्पनीमा लैजाने गरेका छन्। पिरामिड शैलीमा नेटवर्क विस्तार गरिरहेको यो कम्पनीमा हाल दैनिक ५/६ सय नेपालीहरू पुग्ने गरेका छन् । हाल डरलाग्दो रूपमा तराई क्षेत्रमा फैलिरहेको यो नेटवर्किङले धेरैको उठीबास बनाइरहेको छ। 

भारत रोजगारीमा जानेहरू फस्ने धेरै

रोजगारीमा भारत जानेहरूलाई यस्ता कम्पनीहरूले मुख्य टार्गेट गर्ने गरेका छन्। नेपालमा कुनै जागिर खोजिरहेको र भारतमै पनि जागिर खोज्दै गरेका व्यक्तिहरूलाई सो कम्पनीमा एकपटक लगानी गर्नेहरू तथा त्यसका एजेन्टहरूले पुर्‍याउने गरेका छन् । आफूले लगानी गरेपछि त्यसको प्रतिफल आउने आशा कम्पनीले दिलाउने हुँदा अन्य व्यक्तिहरूलाई पनि त्यसमा लैजाने आफ्नै आफन्तहरू हुने गरेका छन्। त्यस्तै सामाजिक सञ्जालमा विज्ञापन गरेर पनि यस्ता नेटवर्किङ व्यवसायीहरूले आफ्नो सञ्जाल विस्तार गरिरहेका छन् ।

उता नेपाल प्रहरीले भने भारतबाट सञ्चालित यस्ता कम्पनीहरूबाट ठगिएकाहरूको अनुसन्धानका लागि प्रमाण बाधक रहेको बताउँछ। विशेषगरी यस्ता कम्पनीहरूले ठगिने व्यक्तिहरूलाई कुनै पनि प्रमाण नदिने हुँदा यस्ता कानुनी कारबाहीमा ल्याउन बाधक रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता राजन थापा बताउँछन्। यस्तो नेटवर्किङबाट ठगिन आफू नै सजग हुनपर्ने थापा बताउँछन् । पीडितले रिपोर्ट गर्दा भने प्रहरी आफ्नो कारबाही अगाडि बढाउने प्रहरीको भनाइ छ। 

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x