समाज

ई-स्पोर्टमा महानगरको १ करोडले तातिएको सामाजिक सञ्जाल : भएको के हो ? नेपालीले के बुझे ?

कमल धिताल |
असार ३१, २०७९ शुक्रबार ७:२२ बजे

काठमाडौँ- बिहीबार नेपाली मिडियाहरूमा काठमाडौँ महानगर पालिकाको बजेटमा छुट्याइएको रकमका बारेमा प्रश्न उठेपछि महानगरको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तात्यो । विशेषत काठमाडौँ महानगरले आफ्नो बजेटमा ई-स्पोर्ट प्रवर्द्धनका लागि भनेर निश्चित स्थान आवश्यक गरी संरचना निर्माण गरी अन्तर्राष्टियस्तरको प्रतियोगिता आयोजना गरिनेछ भनेर आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर बजेट छुट्यायो ।

यसरी बजेट ई-स्पोर्टको नाममा १ करोड बजेट छुट्याएपछि यो रकम सिधै फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द' भन्नेका सञ्चालक भिक्टर पौडेललाई दिइयो भनेर विभिन्‍न अनलाइनले समाचार बनाएपछि त्यसैलाई बुधबार एक टेलिभिजनले समेत एक रिपोर्ट बनाएर प्रस्तुत गरेपछि यो इस्यु एकाएक भाइरल हुन पुग्यो । त्यसपछि सुरु भयो यसको पक्ष र विपक्षमा सञ्जाल तात्न ।


किन टार्गेटमा छन् भिक्टर पौडेल ‘रूटिन अफ नेपाल बन्द’ पेज
फेसबुकमा एक पेज छ ‘रुटिन अफ नेपाल बन्द’ । विशेषत नेपालमा नेपाल बन्द भइरहने अवस्थाको जानकारीका लागि सन् २०११ खुलेको यो पेज बन्दको जानकारी दिँदादिँदै लोकप्रिय पेज बन्यो जुन हाल युवा पुस्ताको लागि समाचारको स्रोत समेत हुन थालेको छ । यस पेजका सञ्चालक हुन भिक्टर पौडेल । पौडेलले २०७७ को चैतमा युवामाझ लोकप्रिय खेल पब्जीको एक 'टिम द रियल सोल्जर्स (डिआरएस)' मा लगानी गरेर यसको स्वामित्व आफ्नो बनाए । यसअघि विभिन्न प्रतियोगितामा भाग लिँदै डिआरएसले लाखौँ रूपैयाँ आर्जन गरिसकेको थियो । आम्दानी हुने देखेपछि कानुनीरूपमै दर्ता गरेर खेलाडीलाई समेत पारिश्रमिक दिएर राखे । यसरी पौडेलले आफ्नो पेज र ई-स्पोर्टलाई व्यवसायिक रूपमा अगाडी बढाउँदै लगे ।

स्थानीय चुनावमा काठमाडौँ महानगरका मेयरका उम्मेदवार बालेन्द्र शाहको खुल्ला समर्थनमा दैनिक पोस्ट र सकारात्मक समाचार दिएर बालेनको पक्षमा माहोल बनाएको 'रूटिन अफ नेपाल बन्द' र सो का प्रवर्द्धक भिक्टरलाई ई-स्पोर्टको नाममा १ करोड रूपैयाँ दिएर गुण तिरेको भन्दै समाचारहरू आउन थालेपछि 'रूटिन अफ नेपाल' बन्दका सञ्चालक पौडेल र महानगर प्रमुख बालेन्द्रका विरूद्ध पक्ष र विपक्षमा सञ्जाल तात्यो । स्वर्गीय र्‍याप गायक एम बुद्ध (अनिल अधिकारी) को शालिकका लागि १५ लाख दिने निर्णय गरेर विरोध भएपछि आफ्नै खर्चमा बनाउने घोषणा गरेका शाहले ई-स्पोर्टका लागि १ करोड छुट्याएको र यो पैसा सिधै भिक्टरलाई जाने भन्दै विरोध भइरहेको छ ।

१ करोड केका लागि ?
महानगरले ई-स्पोर्टको लागि छुट्याइएको १ करोड सिधै भिक्टरले पाउने होइन । महानगरको नीति तथा कार्यक्रमको बुँदा नं १५९ मा भनिएको छ ‘ई-स्पोर्ट प्रवर्द्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रयस्तरको प्रतियोगिता आयोजना गरिनेछ ।‘ महानगरले भने अनुसार यसमा देश तथा विदेशका ई-स्पोर्ट टिमहरूले भाग लिन सक्नेछन् ।

भिक्टरले पैसा पाउँछन् त ?
केही सञ्चार माध्यममा आए जस्तो भिक्टर पौडलले १ करोड पाउने होइन । यसका लागि महानगर पब्जी प्रतियोगिता गरेर त्यसको उपाधी डिआरएसले जित्नुपर्छ । भिक्टरले लगानी गरेको डिआरएस टिम विशेषत पब्जी खेल्ने टिम हो । नेपालमा पब्जी खेल्ने सिआर सेभेन, गुर्खा, टिटुके, डिआरएसलगायतका टिम छन् । भिक्टरको टिम डिआरएस हो, यसले विभिन्न देशमा हुने पब्जी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै थुपै पुरस्कार समेत हात पारेको छ । डिआरएस सञ्चालक पौडेलका अनुसार गत वर्ष मात्रै उनको यस टिमले पब्जी खेलमा १ करोड बढी रकम नेपाल भित्र्याएको थियो । यदि महानगरले पुरस्कार राशि १ करोड नै राख्यो र पब्जी आयोजना गर्‍यो भने र त्यसको उपाधी डिआरएसले जितेमा भने भिक्टरको टिमले १ करोड पाउनेछन् ।

के हो ई स्पोर्ट ?
ई स्पोर्ट (ईलेक्ट्रोनिक स्पोर्ट) भिडियो गेमको संसार हो । ई स्पोर्ट पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै गएको छ। यसमा युवाहरू विभिन्न टिम बनाइ वा एक्लाएक्लै सहभागी हुने गरेका  छन् । पछिल्लो समय भिडियो गेमहरू फोर्टनाइट, लिग अफ लिजेन्ड्स, काउन्टर स्ट्राइक, कल अफ ड्युटी, ओभरवाच र म्याडेन एनएफएल, पब्जी, फ्री फायरलगायतका गेमहरू निकै खेलिने गेमभित्र पर्छन् । यस्ता गेम खेल्ने र यसबाट लाइभ स्ट्रिम गरेर पनि नेपालमा लाखौँ रूपैयाँ आर्जन गर्नेहरू छन् ।

के भन्छन् महानगर र भिक्टर ?
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा ई स्पोर्टको बजेटले तातेपछि मेयर बालेन्द्र शाहले आफ्नो ई स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलको लागि नभएको जनाएका छन् । हाल विश्वमा ई स्पोर्टस खर्बौँको आर्थिक योगदान गरेको र नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दै गएको साथै एसियाली खेलमा ई स्पोर्टस पनि समावेश हुने कुराले गर्दा यसको लागि महानगरले बजेट छुट्याएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

उता 'रुटिन अफ नेपाल बन्द'का सञ्चालक पौडेल पनि बिना कारण आफू र आफ्नो पेजलाई मुछिएको भन्दै इकागजसँग दुखेसो पोखे । उनले भने ‘मलाई बालेन राम्रो व्यक्ति लागेर चुनावमा सहयोग गरेको हो । रिस बालेन र महानगरसँग छ तर बिनाकारण म र मेरो पेजलाई टार्गेट गरिएको छ ।'

ई स्पोर्ट प्रवर्द्धन होस् र नेपालको नाम विश्वमा फैलियोस् भन्ने आकांक्षा राखेर आफूले डिआरएसमा टिम दर्ता गरी खेलाडीहरूलाई तलब दिएर पालेकोमा हाल यस प्रकारको नकारात्मक समाचार सुन्न पर्दा निकै दु:ख लागेको भिक्टर सुनाउँछन् । डिआरएसले भाग लिएका कतिपय खेलमा नेपालको नामसमेत नसुनेकाहरूले यसको बारेमा चासो राखेको भन्दै भिक्टर भन्छन् ‘यस्ता नकारात्मक समाचार लेख्नु अगाडी यसको बारेमा केही कुरा बुझ्नु जरूरी थियो ।’


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x