समाज

अर्गानिक ओ अर्गानिक !

कमल धिताल |
असार १७, २०७९ ९:१३ बजे

काठमाडौँ- नेपालमा पछिल्लो समय अर्गानिक वस्तुप्रति चासो बढेको छ । हरेक वस्तुमा मिसावट हुन थालेपछि राजधानी लगायतका ठूला सहरमा अर्गानिक सामग्रीहरू बेच्ने पसल थपिएका छन् । कुलेश्वरमा सुमन आचार्यले अर्गानिक भनेर कृषिजन्य वस्तु बिक्री गर्ने पसल सञ्चालन गरेका छन् । उनले बेच्ने अधिकांश सामानमा अर्गानिक लेखिएका ट्याग झुन्ड्याइएका छन् । उनका पसलमा आउने अधिकांश ग्राहक उनले बच्ने अधिकांश सामान अर्गानिक भनेर किन्न आउँछन् । आचार्यले बेच्ने अधिकांश सामान पनि बजारमा सहजै पाइने सामानभन्दा केही मूल्य उच्च रहेको छ ।

यहाँ भएका अधिकांश सामानहरू अर्गानिक हुन् त भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् । आफूले बिक्री गर्ने अधिकांश सामानहरू अर्गानिक रहेको र ग्राहकहरूले पनि आफ्नो सामानमा पूर्ण विश्वास लिएर प्रयोग गर्ने गरेको उनी बताउँछन् । अर्गानिक भएको कसरी चाहिँ ग्राहकहरूले कसरी चिन्ने भन्नेमा भने उनी पनि प्रस्ट हुन सकेनन् । ‘हामीले पनि अर्गानिक सामान भन्दै हामीलाई उपलब्ध गराउनेलाई नै पूर्ण विश्वास गर्नुपर्ने हुन्छ’ उनले भने । विष प्रयोग भएन भएको जाँच भने गर्न सकिने उनी बताउँछन् ।


त्यस्तै ललितपुरमा श्यामकुमार घिमिरेले अर्गानिक पसल सञ्चालन गरेको झन्डै तीन वर्ष हुन लाग्यो । पहिलाभन्दा हाल मानिसहरू अर्गानिक सामानप्रति चासो बढेको बताउँछन् । ‘पसलमा आउने अधिकांश मानिसहरूमा मिसावट सामानबाट दिक्क भएर अर्गानिक वस्तुहरू किन्न आउने गरेका छन् । केही समयअघि र हालको व्यापार पनि सुध्रिएको छ’ उनले भने। घिमिरेलाई पनि तपाईंले बिक्री गर्ने सामान अर्गानिक हो त भनेर हामीले प्रश्न गर्दा उनी पनि आफ्नो सामग्री पूर्ण अर्गानिक भएको बताउँछन् तर आफूले पनि कृषि ढुवानीकर्ताबाट खरिद गर्ने र उनीहरूको विश्वासमा बिक्री गरिरहेको बताउँछन् ।

पछिल्लो समय अर्गानिक भनेर सामान्यभन्दा बढी मूल्य लिन पाइने र ग्राहकहरू पनि रेगुलर हुने भएपछि अर्गानिक भनेर पसल सञ्चालन गर्नेहरूको संख्या बढ्दै गैरहेको देखिन्छ। अर्गानिक पसलमा बिक्री भइरहेका फलफूल तथा तरकारीमा कति प्रतिशत विषादी प्रयोग गरिएको छ भनेर समेत जाँच गर्ने संयन्त्र तथा अनुगमनसमेत छैन ।

सुमन र श्यामको जस्तै अर्गानिक वस्तु पाइने पसल उपत्यकामा छ्यापछ्याप्ती खुलेका छन् । तर यी पसल सञ्चालकहरू आफूले बिक्री गर्ने सामानहरू पूर्ण अर्गानिक रहेको भनेर बिक्री गरे पनि यसलाई पूर्ण अर्गानिक भन्ने कुनै सर्टिफाइड गर्ने सिस्टम नेपालमा सुरु नभएको राष्ट्रिय बागबानी अनुसन्धान केन्द्रका प्रमुख डा. ईश्वरीप्रसाद गौतम बताउँछन् । सरकारले छुट्टै क्षेत्र घोषणा गरेर अर्गानिक उत्पादन गरी बजारीकरण गर्न सहयोग गर्नुपर्ने गौतम बताउँछन् । अर्गानिकका बारेमा सबैभन्दा पहिला किसानलाई बुझाउनुपर्ने गौतम बताउँछन् । किसानले नै अर्गानिकको कुरा बुझेका हुँदैनन् । सबैभन्दा पहिला उनीहरूलाई अर्गानिक उत्पादन गर्दा के कसरी गर्नुपर्ने हो त्यसको बारेमा जानकारी दिनुपर्ने बताउँछन् ।

कृषिविद् मदन राई अर्गानिक भनेको लिभिङ अर्ग्यानबाट निस्केको तत्वहरूलाई अर्गानिक भनिने बताउँछन् । लिभिङ अर्गान भनेको बिरुवा सुकेको पात बोक्रा, सोत्तर, मानिस तथा पशुपन्छीको मल, मृत देह आदि कुहिएपछि बनेकालाई अर्गानिक भनिएको बताउँछन् । अर्गानबाट अर्गानिक भनेको बताउँछन् ।

त्यस्तै सेमी अर्गानिकअन्तर्गत जैविक मल आधा तथा रसायानिक मल आधा प्रयोग गर्न सकिने राई बताउँछन् । रासायानिक मल र जैविक मललाई मात्रा मिलाएर हाल्दा खासै हानी नहुने राईको भनाइ छ ।  कृषिजन्य वस्तुहरूमा विषादीको प्रयोग गर्दा त्यसले किटाणुसँगै मानिसहरूलाई पनि मार्ने सक्ने हुन्छ । किरा मार्ने औषधीमात्र नहालेर रासायानिक मल र जैविक मल हाल्दा पनि सो खानेकुरा खानयोग्य हुने राई बताउँछन् ।

हाल उपत्यका लगायतमा खुलेका अधिकांश अर्गानिक पसलहरूले अर्गानिक भनेर विषादीयुक्त कृषि जन्य वस्तु बिक्री भैरहेको उनी बताउँछन् । राई भन्छन् ‘बिक्री गर्नेलाई के थाहा त्यो अर्गानिक हो कि होइन भनेर, उसले त अरूले ल्याएको अर्गानिक भनेर बिक्री गर्नेमात्र हो उसलाई थाहा हुँदैन कसले कहाँबाट के ल्याउँछ भनेर । अनुगमन छैन् त्यो बिक्रेताले अर्गानिक हो कि होइन भनेर हेर्ने कि आफ्नो पसल हेर्ने ?’ अर्गानिकका लागि राज्य संयन्त्रले अनुगमन तथा व्यवस्था गर्नुपर्ने राई बताउँछन् । किरा तथा पशुपन्छीहरूले खाएका फलफूल तथा तरकारीमा विषादी नहुने समेत उनको तर्क छ ।

त्यसो त काठमाडौँको केही स्थानमा भने केही व्यक्ति तथा संस्थाहरूले निश्चित क्षेत्र भाडामा लिएर खेती गरिरहेका पनि छन् जसमा माडवाडी समुदाय बढी रहेका छ । त्यस्ता उत्पादित सामग्रीहरू आफ्नै आउटलेटमार्फत बिक्री गरिरहेका छन् ।

 नेपालमा उत्पादित सामग्रीहरू अझै पनि शत प्रतिशत अर्गानिक पाइने कृषि विद् राई बताउँछन् । ‘हामीकहाँ विषादी र रासायनिक मल भित्रिएको कत्ति नै वर्ष भयो र ? विगतमा पनि हाम्रोमा फल्ने सबै तरकारी तथा फलफूल पियोर अर्गानिक हुन्’ उनले भने ।

 नेपालको हिमाल, पहाड, तराई र यी तीन क्षेत्रका विभिन्न इलाकाको माटोमा फरक फरक विशेषता रहेको बागबानी अनुसन्धान केन्द्रका प्रमुख डा. गौतम बताउँछन् । माटो, हावापानी, स्थानीय जैविक बनोट र बालीनाली अनुसार विभिन्न किसिमका कृषि उपजका लागि बेग्ला बेग्लै रासायनिक मलको आवश्यकता पर्दछ । तर, नेपालमा यस सम्बन्धी विस्तत जानकारी कृषकहरू समक्ष पग्न नसक्दा रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वरता, कृषि उपज, जैविक विविधता र पर्यावरणमा नकारात्मक असर परिरहेको छ गौतम बताउँछन् ।

कृषि बजारको व्यवस्था प्रभावकारी हुन सकेको छैन । कृषि प्रविधि, अनुसन्धान र तालिममा पर्याप्त बजेट विनियोजन नगरी कृषिको व्यवसायीकरण गर्न पनि निकै समस्या रहेको जानकारहरू बताउँछन् ।

माटोमा एकपटक विषादी र रासायनिक मल परेपछि त्यसमा दोस्रो बालीका लागि पनि अनिवार्य जस्तै प्रयोग गर्नुपर्छ । यस्तै कुनै रासायनिक मल र विषादी प्रयोग भएको बालीमा लगाइएको पानी बगेर कुनै विषादी र रासायनिक मल प्रयोग गरेको क्षेत्रमा पुग्दा पनि सो क्षेत्रमा माटो विषक्त्त हुने डा. गौतम बताउँछन् । सकेसम्म अर्गानिक खेती गर्ने किसानलाई छुट्टै छुट्याइ प्राङ्गारिक मलको प्रयोग गरेर बिना कुनै विषादी उत्पादित गर्न सकेमा मात्र यसलाई अर्गानिक उत्पादन भन्न सकिने उनको गौतम बताउँछन् ।

हाल काठमाडौँमा अर्गानिक भनेर बेच्ने पसलहरूले आफूले बिक्री गर्ने सामानहरू उच्च हिमाली जिल्लाबाट ल्याइ बिक्री गर्ने गरेको बताउँदै आएका छन् ।

नेपालमा अर्गानिक भनेर बेचिने र बिक्री भइरहेका कृषि जन्य वस्तुहरूलाई हालसम्म प्रमाणित गर्ने संयन्त्र नै छैन् । केही नीजि कम्पनीहरू रहे तापनि हालसम्म वस्तुलाई अर्गानिक भनेर प्रमाणित गर्ने कुनैपनि संयन्त्र स्थापना भएका छैनन् ।

विषादी जाँच गर्ने केही संयन्त्र भए पनि अर्गानिक भनेर प्रमाणित गर्ने कुनै पनि संयन्त्र नहुँदा विषादी प्रयोग भएका सामग्रीहरूसमेत सजिलै अर्गानिक भन्दै बेच्न सकिने अवस्था रहेको जानकारहरू बताउँछन्। कतिपय व्यापारीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको अनुज्ञापत्रलाई नै अर्गानिक भनेर समेत बिक्री गर्दै आएका छन् । यसबारे विभागले भने अर्गानिक प्रमाणीकरण आफूले नगर्ने जनाएको छ । खाद्य प्रविधिमा हुने मिसावट लगायतका अनुगमन गर्दै आएपनि अर्गानिक प्रमाणीकरण भने नगर्ने विभागका प्रमुख डा. मतिना जोशी वैद्य बताउँछिन् ।



Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
ad
x