समाज

यी प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’

इकागज |
असार १५, २०७९ बुधबार ६:३७ बजे

काठमाडौं - आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। 


बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।  शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

‘पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ । 

देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।

पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत् त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।

महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ । 

त्यस्तै, कैलाली र  कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति एसएमएस पठाइएको छ ।  कान्द्रा,मोहना,खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको महाशाखा तथ्यांक छ ।

थप वर्षा हुने भएकाले ती जिल्लामा  बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको छ । तटीय क्षेत्रामा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।


Author

थप समाचार
x