समाज

भूकम्प प्रभावितका अनुभव सुन्दै गाउँ गाउँमा विश्व बैंकका उच्च अधिकारी

इकागज |
असार १०, २०७९ शुक्रवार २१:५९ बजे

काभ्रेपलाञ्चोक- सयपत्री फूलको माला र ढाका टोपीबाट भव्य स्वागत पाएका विश्व बैंकका उच्च अधिकारीले भूकम्प प्रभावितका अनुभव सुन्ने इच्छा आज काभ्रेपलाञ्चोक जिल्लाको एक गाउँका स्थानीयवासीले पूरा गरिदिएका छन् । 

विश्व बैंकका प्रतिनिधिहरुले विसं २०७२ वैशाख १२ गते ‘गोरखा भूकम्प’ जाँदाको अवस्था, स्थानीयवासीद्वारा त्यसको सामना र घर पुनः निर्माण र त्यसपछिको अवस्थाका बारेमा साक्षात्कार गरेर जानकारी लिएका छन् । 


भूकम्पले काभ्रेको धुलिखेल नगरपालिका–२ देउराली र कोइरालाबस्तीका स्थानीयवासीको घर क्षतविक्षत बनाइदिएको थियो । अहिले ती पुराना घर छैनन् । स्थानीयवासीहरु सबै कङ्क्रिटबाट बनेको भूकम्प प्रतिरोधी घर बनाएर बसेका छन् । नेपाल सरकारबाट प्राप्त तीन लाखमा अपुग रकम थपेर कसैले एकतले त कसैले दुई या तीन तलासम्मका घर ठड्याएका छन् । आजको निरीक्षण भ्रमणमा विश्व बैंकका प्रबन्ध निर्देशक मारी पाङ्गेस्तु, दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग चाफरसहितको टोलीको सहभागिता थियो ।

भूकम्पले घर क्षति बेहोरेका स्थानीयवासी गोकर्णप्रसाद कोइरालाले सरकारले दिएको तीन लाखमा आफूले १४ लाख थपेर घर निर्माण गरेको जानकारी दिए । यहाँका स्थानीयवासीले समुदायलाई नै सहभागी भएर ठेकेदारविना घर निर्माण गरेका छन् । अहिले सुविस्ता रहेको र भूकम्प आउँदा पनि कुनै डर नभएको उनले विश्व बैंकका प्रतिनिधिसामु बताए । अर्का स्थानीयवासी होमनाथ कोइराला पनि भूकम्प प्रतिरोधी घरमा बस्न पाउँदा निकै खुसी छन् । उनले बेलाबेलामा इन्जिनियरहरु आएर मापदण्डअनुसार बने÷नबनेको परीक्षण गरी घर निर्माण गरिएकाले आफू ढुक्क भएको प्रतिक्रिया दिए । 

धुलिखेल नगरपालिकाको वडा नं २ का सचिव सुनिता शर्माका अनुसार उक्त वडामा मात्रै ६६० घर भूकम्पले भत्काएको थियो । त्यसमध्ये ५९५ घर बनिसकेको र अझै केही घर सम्पन्न हुने चरणमा रहेको उनले बताए । 

नेपाल सरकारलाई विश्व बैंकले पुनःनिर्माण कार्यका लागि ७० अर्ब ऋण सहयोग गरेको र ‘मल्टी डोनर ट्रष्ट फन्ड’मार्फत विभिन्न तालिम तथा अपाङ्गता भएकाहरुका लागिसमेत सीपमूलक सहयोग गरेको थियो ।

त्यही कारण पनि पुनःनिर्माण क्षेत्रको स्थलगत भ्रमण गरी प्रभावितहरुको अनुभव सुन्न विश्व बैंकका अधिकारीहरु आफैँ फिल्डमा पुगेका हुन् । त्यहाँ महिलाहरुलाई डकर्मी तालिम दिएरसमेत घर निर्माणमा परिचालन गरिएको थियो । महिला डकर्मी कान्छी तामाङ, सावित्री ढकाल र विन्दामायाले आ–आफ्नो अनुभव सुनाएका थिए । 

उनीहरुलाई विश्व बैंकका अधिकारीहरुले जीवनयापनको अवस्था तथा डकर्मी भएर खटिँदाको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । जवाफमा महिला डकर्मीहरुले पुरुषसँगै महिला पनि सक्षम छन् भन्ने उदाहरण पेस गरेको जानकारी गराए । उनीहरुले सुरुमा महिलाहरुले के गर्न सक्छन् भन्ने गरेकामा पछिपछि भने पुरुषले समेत स्वीकार गरेर सँगसँगै काम गरेको अनुभव सुनाए । 

विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग चाफेरले समुदाय नै एकजुट भएर पुनःनिर्माणको काम गरेको सुनेर खुसी लागेको भन्दै उक्त कामको सराहना गरे । उनले अहिलेको परियोजना सकिए पनि निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

विश्व बैंकका प्रबन्ध निर्देशक मारी पाङ्गेस्तुले गाउँलेहरुको आफ्नै सक्रियतामा सुरक्षित घर निर्माण गरेकामा खुसी व्यक्त गरे ।  मारीको पुनःनिर्माणमा समुदाय कसरी परिचालित भए भनेर राखिएको प्रश्नको जवाफमा स्थानीयवासी होमनाथ कोइरालाले भने, `भूकम्पले क्षति पुर्‍याएपछि सुरुमा त्रिपाल राख्दादेखि घर सम्पन्न हुँदासम्म एकअर्काबीचमा सहयोग आदानप्रदान गरी मिलेर नै काम गर्‍यौँ ।`

धुलिखेल नगरपालिका–२ का अध्यक्ष अर्जुन न्यौपानेले घर पुनःनिर्माण भएपछि बाँच्ने र परिवार पाल्ने आधार भएको र भोलि जोखिम नहोस् भन्नेमा समेत स्थानीयवासी सचेत बनेको उल्लेख गर्दै सहयोग गरेकामा विश्व बैंकप्रति आभार प्रकट गरे। छलफलका क्रममा स्थानीयवासी कविता चौलागाईं, बलराम कोइराला, पविता वाग्लेलगायतले आ–आफ्ना अनुभवहरु सुनाएका थिए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थानीय समुदायले आफ्नो घर आफैँ खटिएर बनाएको विश्वकै नमूना भएको उल्लेख गर े। उनले बढ्दो जलवायु परिवर्तनका कारण थप जोखिम रहेकाले सचेत हुन आग्रह गरे । रासस


Author

थप समाचार
x