समाज

मेयर बालेनसँग काठमाडौँ महानगरवासीका २७ सय गुनासा

अतिन आचार्य |
असार २, २०७९ बिहीबार ८:१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा कल सेन्टर सुरु भएको एक साता बढी भइसकेको छ । महानगरको नवनिर्वाचित मेयर बालेन शाहको उपस्थित पहिलो कार्यपालिका बैठकले महानगरबासीका गुनासाहरू सुन्‍न र तत्काल समस्याको समाधान गर्न कल सेन्टर सुचारु गर्ने निर्णय  गर्‍यो ।

भृकुटीमण्डपस्थित राष्‍ट्रिय सभागृहबाट कल सेन्टर सञ्चालनमा आएको एक साता भइसकेको छ । गत २३ गते सोमबारबाट कल सेन्टर सञ्चालनमा आएको हो । युवा मेयर शाहले घोषणापत्रमा उल्लेख गरिएका कुराहरू मध्ये कल सेन्टर पनि एक थियो र त्यो पनि कार्यान्वयमा आइसकेको छ ।   


महानगरबासीको समस्या सुन्‍ने र त्यसको समाधान गर्न तत्काल पूर्वाधार एम्बुलेन्‍स पनि सञ्‍चालनमा आइसकेको छ । महानगरमा मेयर शाह अहिले ३२ वर्षका छन् उनको उमेर अंकभन्दा बढी योजना उनले अघि सारेका त छन् सँगसँगै समस्याहरूको पनि चाङ लागेका छन् । महानगरभित्र भएका समस्या पहिचान गर्न स्थापना गरिएको कल सेन्टरमा अहिलेसम्म महानगरवासीका तीन हजार गुनासा दर्ता भएका छन् । 

निर्वाचनताका उनले घोषणापत्रमा उल्लेख बमोजिम कल सेन्टर सञ्चालनमा आएको हो । कल सेन्टरमार्फत भौतिक पूर्वाधार एम्बुलेन्सद्वारा सडक तथा ढल जस्ता पूर्वाधार निर्माण गरिने घोषणापत्रमा जनाएका थिए ।

कल सेन्टरमा बढी जसो निर्माण सम्पन्‍न भएकाभन्दा पनि  नबनेका फोन आउँछन् । समाधान भएको भन्दा पनि समस्याको चाङ सुनाउँछन् सेवाग्राहीले । युवा मेयर जसले महानगरबासीको गुनासो सुन्‍न चाहेका थिए । ३२ वर्षीय मेयर शाहले घोषणा गरेको कल सेन्टरमा कस्ता कस्ता फोन आउँछन् इकागजले कल सेन्टरमा बुझ्ने प्रयास गरेको छ ।

बिग्रेका बाटो समयमा नबन्‍ने, फोहोर समयमा नउठ्ने, शारीरिक रुपले अशक्त मानिसहरू आकाशे पुलमा जान नसकेको, फोन नम्बर माग्‍ने, धारामा पानी नआउने, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता कहाँ गर्ने ?, बाटोमा रहेको पोलमा बिजुली बत्ति नबल्ने, एम्बुलेन्सको नम्बर माग्‍ने, सडक व्यापारीले दुःख दिएका र पार्किङ्ग शुल्क बढी लिएका जस्ता गुनासा कल सेन्टरमा सुनिने महानगरले जनाएको छ ।

महानगरको समस्या कर्मचारीले सुनिरहेका छन् । मेयर शाहलाई महानगरवासीले पाेखेका समस्यालाई १२ प्रकारमा वर्गीकरण गरिएको छ ।  महानगरको ठूला वडाबाट गुनासा सुनाउन फोन आउने गरेको कल सेन्टरका एक कर्मचारीले बताए । उनका अनुसार १३ र १६ वडाबाट बढी गुनासोका फोनहरू आउने गरेका छन् ।

'सम्बन्धित गुनासाहरू महानगरको विभागीय प्रमुखलाई खबर गरेर सेवाग्राहीको गुनासा सुनाउने गरिन्छ,' कल सेन्टरका ति कर्मचारीले भने,' कतिपय अवस्थामा विभागीय प्रमुखको नम्बर दिएर सेवाग्राहीलाई फोन गर्न लगाइन्छ ।'

फोन रिसिभ गर्ने पर्याप्त कर्मचारी नहुँदा पनि काममा समस्या हुने गरेको कर्मचारी भरत पोख्रेल बताउँछन् । सेवाग्राहीको सबै फोन रेकर्ड र नोट गरेर राख्‍ने गरिएको उनको भनाइ छ । कतिपय फोनहरू विभागीय प्रमुखलाई तुरुन्तै फर्वाड गर्ने गरेको उनले जानकारी दिए ।

त्यस्तै महानगरपालिकाका सूचना विभागका प्रमुख नवराज ढकालले फोहोर उठ्न थालेपछि कल सेन्टरमा फोन आउनेको संख्या घटेको जानकारी दिए ।  उनले भने,' फोहोर नउठ्दाको समयमा दैनिक ७ सय फोन आउँथ्यो । अहिले भने दैनिक एक सयको हाराहारीमा फोन आउने गरेको छ । सुरु भएदेखि हालसम्म २ हजार ७ सय बढी गुनासासहितका फोन आइसकेका छन् ।

कल सेन्टरमा आएका फोनलाई सम्बन्धित वडा कार्यालय र विभागमा समस्याको बारेमा खबर गरिदिने गरेको ढकालले जानकारी दिए ।  'फोन रिसिभ गर्ने तीन जना कर्मचारी रहेको र थप दुई जना कर्मचारी तयारी भइरहेको छ,' उनी सुनाउँछन्,' महानगरमा उपलब्ध कर्मचारीले काम चलाउने प्रयास गरिरहेका छौँ ।'

बाटो बिग्रेको भनेर फोन आएको ठाउँमा पूर्वाधार एम्बुलेन्स पठाउने गरिएको उनले बताए । पूर्वाधार एम्बुलेन्सले काम गर्न थालिसकेको छ । सेवाग्राहीको गुनासो सम्बोधन भएपछि सेवाग्राहीको प्रतिक्रिया सुनाउँदै ढकाल भन्छन्,'  हामीले फोहोर उठेन भनेर गुनासो गरेको समाधान भइसक्यो । फोन डिटेल रेकर्ड छ भने त्यो हटाइदिनु भन्दै सेवाग्राहीले फोन गर्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x