समाज

उफ ! कस्तो हिलो, खुट्टा भुइँमा राख्‍नु कि टाउकोमा ?

इकागज |
जेठ २८, २०७९ शनिबार १२:२७ बजे

देशको जेठो महानगरपालिका रहेको काठमाडौँ विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरू भन्दा अगाडी नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमाडौँको अवस्था त्यही पुरानो नै छ ।


काठमाडौँको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ । एक हिसावले भन्‍ने हो भने काठमाडौँलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौँलाई चित्रण गर्दछन् कतिपयले । किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ । तर काठमाडौँको वास्तविकता भने त्यस्तो छैन ।

काठमाडौँ उपत्यकाभित्रका सडकहरूले काठमाडौँको वास्तविकता झल्काउँछ । काँठलाई काठमाडौँ जोड्ने सडकहरूको नै मर्मतसम्भार हुन सकेको छैन । जसकारण ठूला ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ ।

त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ,धुलो र हिलोको त्यत्तिकै समस्या छ । काठमाडौँलाई कतिपयले अव्यवस्थित सहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो । सवारीसाधन गुड्ने सडक नै व्यवस्थित छैनन्, कतिपय ठाउँका । राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । अहिले मनसुन लागेसँगै राजधानीका सडक हिलाम्मे छन् ।

चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैँ बग्छन् । पानी परेको बेलामा सवारीसाधन रोकेर राख्नुपर्ने दरिद्र अवस्था छ काठमाडौँका सडकको । चक्रपथ बाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ । यसको वास्तविकता त्यतिमै सिमित छैन । कतिपय सडक वर्षौंदेखि टेण्डरमा परेर बन्‍न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरेको छैन । यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै छ ।

पानी पर्‍यो सवारी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ, किनभने खराब सडककै कारण दुर्घटनामा परेर सयौंले ज्यान गुमाइसकेका छन् । नख्खु– भैंसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटी लगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यी माथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिएका छन् ।

अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यस बारेमा सरकार अझै गम्भीर नबन्‍ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन । 

तस्बिरहरू : न्युज एजेन्सी नेपाल


Author

थप समाचार
x