समाज

विद्यार्थीलाई डिजिटल प्रविधिसँग जोड्दै, हमालले गरे ट्याब वितरण

इकागज |
जेठ २६, २०७९ बिहीबार ११:४५ बजे

काठमाडौं - महानायक' राजेश हमालले सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका–८ ज्यामिरेस्थित पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई 'ट्याब' वितरण गरेका छन् । ‘के फाण्डेशन’अमेरिकाको तर्फबाट प्रकुल न्यौपनेको सहयोगमा प्राप्त ट्याब हमालले दुई विद्यालयमा पाँच/पाँच वटा वितरण गरेका हुन् । 

१६ वर्षीय प्रकुलले ट्याबमा विद्यार्थी सिकाउने नयाँ प्रविधिको प्रयोग गर्दै  अनलाईन कोर्सको डिजाइन गरेका हुन् । ट्याब हस्तान्तरण कार्यक्रमा हमालले विद्यार्थीलाई ट्याबको सही सदुपयोग गराउन शिक्षकहरूलाई आग्रह गरे । उनले समाजलाई दिशा निर्देश गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले विद्यार्थीहरूलाई शिक्षामा जोड दिन आग्रह गरे ।  


हमालले विद्यार्थी भविष्यको मात्रै नभएर वर्तमानको पनि सशक्त ‘फोर्स’ रहेको बताए । 

दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षालाई प्रविधिसँगै जोड्ने उद्देश्यले विद्यालयलाई ट्याब उपलब्ध गराएको के फाउण्डेशन नेपालका अध्यक्ष सौरभ रिमालले बताए । ‘विद्यालयमा  कम्प्युटर सीमित हुन्छन् । ट्याबबाट प्रत्येक कक्षा कोठामा पुगेर सिकाउन पनि मिल्छ । सबै विद्यार्थीको पहुँचमा पनि पुग्ने भयो । त्यसकारण हामीले ट्याबलाई वितरण गरेका हौँ’, उनले भने ।  

त्यस्तै अध्यक्ष रिमालले डिजिटल प्रविधिसँग विद्यार्थीलाई सिकाउने शैलीमा पनि परिवर्तन गर्नु पर्ने बताए । ‘प्रविधिको पहुँच नपुगेका र गरीब परिवारका विद्यार्थीले प्रविधिबाट बञ्चित छन् ।  हामीले विद्यार्थीको भविष्यलाई हेरेर नै सहयोग गरेका हौं’, उनले भने ।  

के फाउण्डेशनले चिवन, रामेपछाप, लमजुङ, सिन्धुपाल्चोकलगायतका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, पोषक र पुस्तकालय समेत स्थापना गर्दै आएको छ । 


Author

थप समाचार
x