समाज

काठमाडौँ महानगरले सिसडोलको फोहोर नष्ट गरेर वृक्षरोपण गर्ने

अतिन आचार्य |
जेठ २५, २०७९ बुधवार १०:१७ बजे

काठमाडौँ- डेढ दशक अघिदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गरिएको नुवाकोटको सिसडोल क्षेत्रलाई 'पोष्ट क्लोज' गर्ने भएको छ । काठमाडौँ महानगरले फोहोर फालिरहेको स्थान सिसडोललाई व्यवस्थित गर्न र राखिएको फोहोरलाई नष्ट गरी वृक्षरोपण गर्नेगरी काम अगाडि बढाएको छ ।

मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सिसडोलको फोहोर परीक्षण गरेको थियो । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पुष्‍टि गरेको थियो ।


केही दिन अघि सिसडोल क्षेत्रमा अबदेखि फोहोर नराख्‍ने र नयाँ फोहोर बञ्चरेडाँडाको ल्यान्‍डफिल्ड साइटमा लगेर विर्सजन गर्ने गरी सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र त्यहाँका स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सहभागिताले सहमति गरेको थियो । 

काठमाडौँ महानगगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले फोहोर फालिने सिसडोललाई पुरानो अवस्थामा फर्काउने गरी काम अघि बढिसकेको बताइन् । फोहोर राखिएको ठाउँको माटो र पानी परीक्षण प्रक्रिया अगाडि बढिसकेको भनाइ छ ।

अहिले फोहोर राखिएको ठाउँमा वृक्षरोपण गरिन्छ,' सिसडोलको विकल्प खोज्दै उनले भनिन्,'  फोहोर राख्‍नका लागि बन्चरेडाँडामा ल्यान्डफिल तयार भइसकेको छ ।'

पहिले राखिएको फोहोरलाई कसरी छोप्न सकिन्छ त्यसबारेमा अध्ययन भइरहेको राईको भनाइ छ । उनले थपिन्,' फोहोर राखिएको ठाउँमा किटाणु नष्ट गर्ने केमिकल छरेर हानि कम गर्ने बनाइन्छ । सिसडोलमा अब फोहोर विसर्जन हुँदैन ।'

बञ्चरेडाँडाको ल्यान्‍डफिल साइट निर्माण भएपछि सेल १ मा जेठ १० गते फोहोर विसर्जन गरिएको थियो । पछिल्लो समय स्थानीयवासीको अवरोधले फोहोर विसर्जन अवरोध भएको थियो । उपत्यकाबाट लगिएको फोहोर बञ्चरेडाँडामा फालिने विभागकी प्रमुख सरिताल राई बताउँछिन् ।

२०७६ वैशाख २२ मा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीलाई ठेक्का दिइएको थियो । कोभिड-१९ को महामारीको कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा निर्माण गर्न सकेको छैन ।

हाल सिसडोलमा उपत्यकाको दुई महानगरसहित १६ स्थानीय तहको फोहोर विसर्जन हुने गरेको छ । महानगरपालिकाले सुरुमा तीन वर्षका लागि सिसडोलको स्थानलाई लिएको थियो । सरकारले  सिसडोलको केही भागहरू पनि अधिग्रहण गरिसकेको छ । समय-समयमा स्थानीयले विभिन्न माग राखी आन्दोलन पनि गरिरहेका छन् ।

महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी वर्गीकरण गरेको फोहोर मात्र उठाउने भएको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छट्याएर राख्‍न अनुरोध गरिसकेको छ ।

कुहिने फोहोरलाई तत्काल टेकुस्थित ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ गरेर मल बनाउने र अन्य दीर्घकालीन उपाय खोज्ने तयारी महानगरले गरिरहेको छ । यस विषयमा प्रविधिकहरूसँग छलफल, परामर्श लिने काम भइरहेको जनाइएको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x