समाज

सांसद चौधरीको ‘विवादास्पद’ अभिव्यक्तिः के भन्छन् महिला अधिकारकर्मीहरू ?

कमल विष्ट |
जेठ २४, २०७९ १५:५६ बजे

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले सोमबारको प्रतिनिधिसभा बैठकमा दिएको ‘विवादास्पद’ अभिव्यक्तिले नेपाली समाज तरंगित बनेको छ । संसद्मा यौन हिंसाविरुद्धको ऐनलाई संशोधन गर्न पेस गरिएको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले ‘मन मिलेसम्म प्रेमको संज्ञा दिने र मन नमिलेपछि बलात्कारको मुद्दा’ लगाउने प्रवृत्ति बढ्दै गएको भन्दै हदम्यादको प्रावधान हटाउन नहुने अभिव्यक्ति दिएकी थिइन् ।

उनले अदालतमा विचाराधीन रहेको अभिनेता पूर्णविक्रम शाह(पल) र पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको उदाहरण दिँदै भनेकी थिइन्, ‘मन मिल्दासम्म लभ हुने, आफ्नो स्वार्थ नमिलेपछि बलात्कार हुने । यसभन्दा अगाडि यही सम्मानित संसद्का पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौँ । जबसम्म उहाँसँग स्वार्थ मिल्यो तबसम्म कसैलाई पत्तो थिएन, तर जब स्वार्थ मिलेन त्यसलाई बलात्कारको संज्ञा दिएर उहाँलाई ६ महिनासम्म जेल कोचियो ।’


उनले हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाउने तर्क राखिन् । यतिमात्र होइन, उनले पीडित पुरुषको पक्षमा बोलिदिने कोही नभएको समेत बताइन् । 

चौधरीको यस्तो अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ, सामाजिक सञ्जालदेखि सदनसम्म तातेको छ । केहीले उनको क्षमतामाथि मात्रै प्रश्न गरेका छैनन्, संसद्जस्तो सम्मानित ठाउँमा अदालतमा विचाराधीन मुद्दामाथि हलुका टिप्पणी गरेको भन्दै कारबाहीको समेत माग गरेका छन् । 

महिलाहरू बलात्कार तथा यौनहिंसाको सिकार भएको खबर एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका बेला चौधरीको बोलीले पीडितलाई थप पीडा पुग्ने र पीडकलाई बल मिल्ने विश्लेषण धेरैको छ । यौनहिंसाको मुद्दामा हदम्यादको प्रावधान हट्नुपर्ने माग जोडदार रुपमा सडकदेखि सदनसम्मै उठिरहेका बेला चौधरीको अभिव्यक्तिले यो मुद्दालाई छाँयामा पार्ने देखिन्छ । 

चौधरीको अभिव्यक्तिलाई लिएर के भन्छन् महिला लेखक, अधिवक्ता तथा अधिकारकर्मीहरू ? 

परम्परागत पितृसत्ता पुरुषमा मात्र हुँदैन : सरिता तिवारी 

हामीलाई परम्परागत पितृसत्ताले जे सिकाएको छ, उहाँले त्यही बोल्नुभएको हो । पराम्परागत पितृसत्ता पुरुषमा मात्र हुन्छ भन्ने हुँदैन, यो सोच र यसको जरा समाजका हरेक तप्काका मानिसमा फैलिएको छ । हाम्रो दिमागको भित्तामा टास्सिएको छ । संस्कारको रुपमा स्थापित भएर बसेको छ । त्यो बेलाबेलामा निस्कन्छ । उहाँले यस्ता खाले अभिव्यक्तिहरू बेलाबेलामा दिने गर्नुहुन्छ । कतिपयले चर्चित हुन दिएको भन्छन्, मलाई चाहिँ त्यस्तो लाग्दैन । त्यो उहाँले स्वस्फुर्त रुपमा दिनुभएको हो । उहाँको दिमागमा जे संस्कार रोकिएको छ, त्यही कुरा अभिव्यक्त गर्नुभएको हो । पितृसत्तात्मक संस्कार उत्पीडित समुदायका मानिसमा पनि छ भन्ने कुरा उहाँले हिजोको अभिव्यक्तिले पुष्टि गरेको छ । 

उहाँले हिजोको कुरा संसद्को पोडियम प्रयोग गरेर भन्नुभएको छ । अब यसलाई नेपालको कानुनले कसरी हेर्छ ? संसद्ले कसरी हेर्छ ? यसमा गम्भीरता जरुरी छ । यो सामान्य मानिसले भनेको कुरा होइन । उहाँ तपाईं–हामीभन्दा पनि जिम्मेवार मानिस हुनुहुन्छ । उहाँ त अझ उत्पीडित समुदायको समेत प्रतिनिधित्व गरेर आउनुभएको छ । 

यो विषयलाई संसद् र सभामुखले गम्भीरतासाथ हेर्नुपर्छ । उहाँले अदालतमा विचाराधीन मुद्दामा बोल्नुभएको हो । पल शाह र सुस्मिताको विषय अहिले अदालतमा विचाराधीन छ । उहाँले विचाराधीन विषयमा संसद्को पोडियम प्रयोग गरेर जे भाषा प्रयोग गरेर जे बोल्नुभएको छ, यो यत्तिकै बिर्सन मिल्ने, भुल्न मिल्ने विषय होइन । अब यसमा संसद्ले उहाँलाई चेतावनी दिने हो वा उहाँको पार्टीले चेतावनी दिने हो ? यो आवश्यक छ । 

तर, यसो भन्दैमा हामीले उहाँको बेइज्जत गर्ने, उपमान गर्ने काम गर्नु हुँदैन । कोही पनि मानिस सबै कुरा सिकेर, तयार भएर संसद्मा गएको हुँदैन । उहाँ आफ्नै सांस्कृतिक सोच तथा कमी-कमजोरीसहित संसद्मा प्रवेश गर्नुभएको छ । ठूलाठूला दल, ठूलाठूला पार्टी भनिएका नेताहरूले समेत महिला, आदिवासी, सीमान्त लगायतका मुद्दामा उहाँहरू कति कमजोर हुनुहुन्छ, दृष्टि कतिसम्म पूर्वाग्रही छ भन्ने कुरा हामीले देखिसकेका छौँ । त्यसैले उहाँलाई अपमान गर्नु गलत छ । 
आफूले गरेको गल्ती उहाँ आफैँले महसुस गर्नुहोला भन्ने आशा छ । तर, उहाँले यस्ता किसिमका त्रुटीहरू यसअघि पनि थुप्रैपल्ट गरिसक्नुभएको छ । तत्कालीन सांसद सरिता गिरीको विषयमा पनि उहाँले चाहिनेभन्दा बढी राष्ट्रवादी अभिव्यक्ति दिनुभयो । आफैँ पहाडी राष्ट्रवादबाट शोषित मान्छेले लिम्पियाधुरा–लिपुलेकको विषयमा उहाँले सरिता गिरीको घोर अपमान गर्नुभयो । उहाँले व्यक्तिलाई आरोप–आक्षेप लगाएर बोल्नुभएको थियो । त्यो कुरा गलत थियो । उहाँले आफूलाई सम्पूर्ण नेपाली समाजले हेरिरहेको छ भन्ने कुरा महसुस गर्नुपर्छ । 

तर फेरि पनि उहाँको अपमान गर्नु, उहाँलाई खलनायक बनाउनु आवश्यक छैन । उत्पीडित समुदायबाट यस्ता मानिस आउँछन् भनेर उहाँको बेइज्जत गर्न आवश्यक छैन ।

चौधरीले यौनहिंसा पीडितको मजाक उडाउनुभएको छ : मोहना अनसारी 

पहिलो कुरा त उहाँले हिजो संसद्मा बोल्नुभएको भाषा नै एकदमै अमर्यादित छ । यौनहिंसा पीडितको उहाँले मजाक उडाउनुभएको छ । यौनहिंसा जस्तो विषयलाई उहाँले मोजको साधनको हो भनेर भन्नुभएको छ । उहाँको अभिव्यक्ति उहाँमा चेतना अभावका कारणले मात्र होइन, यसमा अरु पनि थुप्रै कारण छन् । जुन उहाँलाई नै थाहा होला । 

उहाँले जनताको सरोकार राख्ने विषय बस्तुमा छलफल गर्ने संसद् जस्तो ठाउँमा महिला भनेका साधन मात्र हुन्, उनीहरूले सधैँ झुटो मात्र बोल्छन् भन्ने आशयको अभिव्यक्ति दिनुभयो त्यो अत्यन्तै आपत्तिजनक छ । 

संसद्लगत्तै उहाँले एउटा रेडियो अन्तर्वार्तामा पनि बोल्नुभएको छ । त्यसमा उहाँले आफ्ना बाबु, दाइलगायत घरका अन्य सदस्यहरूले लामो समयदेखि घरमा बलात्कार गर्दै आउनुभएको छ भन्नुभएको छ । त्यसैले, त्यो चाहिँ एउटा सांसदले मात्र बालेको कुरा हो जस्तो लाग्दैन । 

अनि उहाँले पुरुष निर्दोष छ भनेर भन्नुभयो । होला नहोला आफ्नो ठाउँमा छ । तर, उहाँले के बुझ्नुपर्यो भने उहाँ न्यायकर्ता होइन । उहाँले बोलेका हरेक कुरा एउटा न्याय कर्ताले बोलेका जस्ता छन् । अदालतमा विचाराधीन रहेका मुद्दामा बोलेर उहाँले अदालतको मानहानी गर्नुभएको छ । उहाँले बोल्न पाउनुहुन्छ, बहस गर्न पाउनुहुन्छ, तर विचाराधीन मुद्दामा होइन । यो अदालतको मजाक हो । यो अत्यन्त गम्भीर छ । आपत्तिजनक छ । 

तर, उहाँले हिजो जे बोल्नुभयो त्यसलाई लिएर समग्र महिला सांसदको क्षमता, उहाँको समुदायको क्षमतामाथि प्रश्न उठाउनु चाहिँ गलत हो । 

 विचाराधीन मुद्दा प्रभावित पार्नेगरी गरी सांसदले बोल्नुहुँदैन : रिता शाह

उहाँको कुराले सबैलाई आश्चर्यचकित चुल्याएको छ । जुन मुद्दा अहिले अदालतमा विचाराधीन छ, त्यो मुद्दालाई विवादित बनाउने गरी उहाँले यसरी बोल्नुहुँदैन थियो । नीति निर्माण तहका हुने व्यक्ति त्यसमा पनि सीमान्त समुदायलाई प्रतिनिधित्व गर्ने एउटी महिलाले नै त्यस्तो कुरा बोले भने हामीले कोबाट आशा गर्ने ? 

बलात्कार र यौनहिंसाको जति पनि घटना छन्, ती घटनाको विभिन्न पाटा हुन्छन् । हामीकहाँ यी मुद्दामाथि बहस तर्कभन्दा कुतर्कको हिसाबले हुँदैछ । महिलाहरू पुरुषलाई फसाउन लागिपरेका छन् भन्ने किसिमको बहस अहिले जसरी भइरहेको छ, त्यो नै गलत छ । खासमा हामीले महिला पुरुषभन्दा पनि अपराधको हिसाबले हेर्नुपर्छ । अपराध गर्ने त प्रवृत्ति हो । यसमा दोषी जो पनि हुनसक्छ, महिला पनि हुनसक्छ, पुरुष पनि हुनसक्छ । तर, अधिकांश मुद्दामा पुरुष दोषी हुने हुनाले हामी त्यसरी विश्लेषण गर्छौँ । 

यौनहिंसा जस्तो गम्भीर, त्यो पनि नीति नियम बनाउने तहमा रहेका व्यक्तिहरूले अदालतमा विचाराधीन मुद्दामा यसरी प्रभावित हुने गरी बोल्नुहुँदैन । तर, उहाँले यसरी बोल्नुको पछाडि थुप्रै कारणहरू छन् । हाम्रो समाज र स्कुलिङ कस्तो छ भन्ने कुराको प्रतिविम्ब हो संसद् । हाम्रो समाज पितृसत्तात्मक विचारमा आधारित भएपछि हाम्रो संसद् र राज्य पनि यसैमा आधारित छ । यो सोच पुरुषमा मात्र छैन, महिलामा पनि उत्तिकै छ । जुन उहाँको अभिव्यक्तिमा झल्कियो ।



Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
ad
x