समाज

काठमाडौंको एक होस्टेलका वार्डेनले तीन छात्रामाथि याैन दुर्व्यवहार गरेको आरोप, प्रहरी पुगेपछि वार्डेन फरार

प्रधानाध्यापक र उपप्रधानाध्यापक प्रहरीको नियन्त्रणमा

कमल विष्ट |
जेठ २१, २०७९ शनिबार १७:१९ बजे

काठमाडौं– काठमाडौंको बौद्धस्थित सर्वनाम विद्यालयको होस्टलका वार्डेनलाई छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । वार्डेन रामजी बस्नेतले विद्यालयको होस्टेलमा बस्ने तीन जना छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको कुरा बाहिर आएको छ ।

पीडित छात्राहरुका अभिभावकले शनिबार दिउँसो दुर्व्यवहारमा संलग्न दोषी वार्डेनलाई कारबाहीको माग गर्दै होस्टेलमा प्रदर्शन गरेका थिए । प्रदर्शन भएको जानकारी पाएपछि बौद्ध वृत्तको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।


बौद्ध प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले इकागजलाई दिएको जानकारी अनुसार आरोपित वार्डेन फरार छन् । उनको खोजी कार्य भइरहेको छ । उपरीक्षक न्यौपानेले पीडित छात्राका अभिभावकहरूलाई आफूहरुले जाहेरी दिन वृत्तमा बोलाएको बताए ।

‘पीडित छात्राहरुका अभिभावकहरुले स्कुलमा प्रदर्शन गरिरहेका छन् भन्ने खबर प्राप्त भएपछि हामी दिउँसो २ बजेतिर घटनास्थलमा पुगेका थियौँ । कुरा बुझ्दा ती वार्डेनले तीन जना छात्राहरुमाथि यौन दुर्व्यवहार गरेका रहेछन्,’ उनले भने, ‘उक्त घटनाबारे केही दिनअघि छात्राहरूले स्कुलका प्रिन्सिपलसँग पनि कम्प्लेन गरेका रहेछन् । यस विषयमा थप अनुसन्धान गर्न प्रिन्सिपल र भाइस प्रिन्सिपललाई हामीले वृत्तमा ल्याएका छाैँ। वार्डेन भने फरार छन् । वार्डेनको खोजी कार्य जारी राखेका छौँ ।’

उनले अगाडि भने, ‘कानूनी प्रक्रिया अगाडि बढाउनका लागि हामीले पीडितका अभिभावकलाई वृत्तमा बोलाएका छौँ । उहाँहरुको जाहेरीपछि कानूनी कारबाही अगाडि बढाउँछौँ ।’

यौन दुर्व्यवहारमा पर्ने ती छात्राहरुकाे उमेर बाह्र, तेह्र र पन्ध्र रहेको छ । उनीहरु ७, ८ र १० कक्षामा अध्ययनरत छन् ।

पीडित छात्रछात्रामाथि बलात्कार भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

विद्यालय र होस्टेल एउटै कम्पाउन्डमा छ । छात्राहरु स्कुलको होस्टेलमा बस्दै आएका थिए ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x