समाज

आगोले जलेकी लोकश्‍वरीलाई बुद्ध एयरले किन बोकेन ?

अतिन आचार्य |
जेठ १२, २०७९ बिहिवार १३:६ बजे

काठमाडौँ- यतिखेर सामाजिक सञ्जालमा बुद्ध एयर 'मानवता हराएको विमान कम्पनी' भनेर आलोचना हुन थालेको छ । यस्ताे आलाेचना त्यस्तै भएकाे हैन ।

बाजुराकाे बुढीगंगा नगरपालिका १० कि २३ वर्षीया लाेकश्वरी कुवँरलाई बुद्ध एयर​ले बाेक्न नमानेकै कारण अहिले आलाेचना सुरु भएकाे हाे । कुवँर बुधबार साँझ जलेर घाइते भएकी  थिइन् । परिवारले  उनलाई काठमाडौँ उपचार गर्न दुई जनाको टिकट १३ हजारमा खरिद गरेको थियो । विमानस्थलमा लगिसकेपछि एयरवेजले बोर्डिङ पास दिन आनाकानी गर्‍यो ।


कुवँरलाई परिवारले व्हील चियरमा राखी विमानस्थलमा  पुर्‍याइएको थियो । बुद्ध एअरले बाेक्न नमानेकै कारण उनी उपचारका लागि जहाजबाट काठमाडाै‌ँ जान पाइनन् ।

विमानस्थलमा उनलाई ६ बजे पुर्‍याएको बुढीगंगा नगरपालिकाका स्वास्थ्य प्रमुख दिपक शाहले पुर्‍याएको बताए ।

बुद्ध एयरको काउण्टरमा टिकट पुगेपछि बिरामीको अवस्था देखेर बोर्डिङ पास नदिएको उनले दाबी गरे । कर्मचारीको भनाइ उद्धृत गर्दै उनले भने,' पाइलटलाई सोधेपछि मात्र भित्र जाने अनुमति दिन्छौ । विमानस्थलको प्रहरीलाई पनि अनुरोध गर्दा कसैले वास्ता गरेनन् ।'

'एम्बुलेन्समा बिरामीलाई  काठमाडौँमा पुर्‍याउँदा सकस हुने भएकाले विमानमा लैजान खोजिएको थियो,' उनले आक्रोशित हुँदै भने,' अशक्त, अपांग र बिरामीलाई नबोक्ने हो भने हवाई सेवाको के काम ? विमानहरूले पैसा मात्र कमाउने हो कि बिरामीहरूलाई पनि बोक्ने हो ।' बुद्ध एयरसँग अब मानवता हराउँदै गएको हो भनेर उनले प्रश्‍न गरे ।

याे घटना बाहिरिएपछि सर्वसाधारण भन्न थालेका छन् 'निजी एयरलायन्स बुद्ध एयरको कहिलेसम्म दादागिरी ?'

शाहका अनुसार केही दिन अघि कुवँर खाना पकाउने क्रममा घाइते भएकी थिइन् । उनी मिर्गीका बिरामीसमेत थिइन् । कोही नभएको समयमा घरमा लडेकाले आगोले पोलेको थियो । अन्त्यमा उनलाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको उनले बताए ।

बुद्ध एयरले धनगढीबाट काठमाडौँसम्म लामो उडान र सिटमा बस्न असहज भएकाले ल्याउन नसकिएको दाबी गरेकाे छ । 'बिरामीलाई व्हील चियरमा बस्न गाह्रो भएकाले अफलोड गरेका हौ,' बुद्ध एयरले भनेको छ,' एयरवेजले हिजै त्यहीँ उडानमा ढाँड भाँचिएकी २४ वर्षीया महिलालाई ल्याएको  छ ।'

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार विमानले आगो जलेर घाइते भएकी बिरामीलाई एयरवेजले लैजान चाहेको हो । विमानको सिटमा बस्दा यात्रुलाई सिट बेल्टले बाँध्नु पर्ने थियो । उनलाई सिट बेल्टले बाँध्न गाह्रो हुने भएकाले व्हील चियरमा राखेर हालेर लैजान खोजिएको थियो ।

'बिरामीको श्रीमानले समात्दा पनि व्हील चेयरमा पाँच मिनेट बस्‍न सकिनन्, लामो समयसम्म उडान भर्दा गाह्रो हुने भएकाले उनलाई विमानले नलगेको हो, ' उनले भने,' उनलाई लैजान विमानका पाइलट र अन्य कर्मचारीले पनि सक्दो प्रयास गरेका थिए ।'

बिरामीले उडान भर्नका लागि चिकित्सकबाट फिट टु फ्लाइटको प्रमाणपत्र ल्याएका थिएनन् । विमानस्थलमा चिकित्सकको प्रबन्ध गरेर उनलाई फिट टु फ्लाइटको प्रमाणपत्र उपलब्ध गराइएको भट्टले जानकारी दिए।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x