समाज

बाेर्ड प्रमुखकाे निजी व्यस्तताले परीक्षा स्थगित

सरिता दाहाल |
जेठ १०, २०७९ मगलवार १५:३८ बजे

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितताको क्रम अझै रोकिएको छैन । प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडिसिनको स्नातक तहको परीक्षा व्यक्तिगत समस्याको कारण रोकिएपछि फेरि विद्यार्थीहरू समस्यामा परेका छन् ।

परीक्षा रोकिँदा ४० जना विद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारण गरेको थियो । प्राविधिक कारण देखाउँदै एकाएक परीक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देब र परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट सम्पर्कविहीन भएको विद्यार्थीहरुको गुनासो छ ।


परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट गैरसरकारी संस्थाको प्रोजेक्टमा लाग्दा परीक्षा रोकिएको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका छन् । विद्यार्थीहरुलाई भर्ना लिँदा परीक्षा शुल्क बाहेक अन्य शुल्क नलाग्ने भनिए पनि शिक्षाध्यक्ष देबको एकल निर्णयबाट विद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाउन थालेपछि त्यसको प्रतिवाद गरिएकाे थियाे ।

शुल्ककै विषयमा विद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परीक्षा रोकिएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेट बैठकले निर्णय गरेपछि विवाद टुङ्गिने शिक्षाध्यक्ष देबले बताए । शुल्कको विषयले परीक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् । शिक्षाध्यक्षले परीक्षा बोर्ड प्रमुख भाटको निजी ब्यस्ततालाई व्यवस्थापन गर्न परीक्षा नै स्थगित गरेको विद्यार्थीले बताएका छन् ।

"उहाँको निजी पारिवारिक समस्या थियो, त्यसको म्यानेज गर्न उहाँ परीक्षा नै स्थगित गरेर सम्पर्कविहिन हुनुभयो" एक छात्रले भने "हाम्रो परीक्षा र नतिजाबारे के हुने हामी अन्यौलमा छौ ।' मकवानपुर र आसपासका जिल्लाको स्वास्थ सेवामा प्रभाकारिता बढाउँदै आएको हेटौंडा अस्पताल र प्रतिष्ठानलाई अलग गरि प्रतिष्ठान चितवन जिल्लामा सार्ने तयारीमा प्रदेश सरकार लागेपछि यसको तीव्र विरोध हुँदै आएको छ । प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपतिलाई निलम्बनदेखि विभिन्न हर्कत गर्दै आएको छ ।

 


Author

थप समाचार
x