सेयर

आइपिओ निष्कासनको दोस्रो दिनमै प्रक्रिया रोक्न माग

इकागज |
असार १५, २०७९ बुधबार १३:५३ बजे

काठमाडौँ- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आइपिओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएको छ । गोसाइँकुण्ड गाउँपालिका-१ कार्यालयले आइपिओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो ।

वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत आइपिओ निष्कासनको प्रक्रिया रोक्न माग गरेका हुन् । भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी सेयर भर्न असक्षम रहेको उनले बताए । जारी मिति सारेर सेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्ने समेत उनले बताए । 


तर, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले निष्कासन सुरू भइसकेकाले प्रक्रिया रोक्न नसक्ने बताएका छन् । 
सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आइपिओ निष्कासन गरेको थियो । रसुवावासीका लागि रसुवागढीले एक सय रुपैयाँ अङ्कित ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

कम्पनीले गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।

 


Author

थप समाचार
x