डिफेन्स

हाजिर हुन एआइजी पोखरेललाई प्रहरी प्रधान कार्यालयको ‘म्यासेज’

इकागज |
जेठ २७, २०७९ शुक्रवार १३:४६ बजे

काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जाहेर गर्दै सर्वाेच्च अदालतमा रिटसहित गएका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन बोलाएको छ । आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेलले एक महिना लामो बिदा लिँदै सर्वाेच्च अदालतमा ‘न्याय’ खोज्न गएका थिए ।

उनको बिदा अवधि जेठ २५ मा सकिएको थियो । त्यसपछि उनले थप १० दिन बिदा मागेका थिए । तर उनको बिदा स्वीकृत नगरी हाजिर हुन आउनु भनी प्रधान कार्यालयले ‘म्यासेज’ पठाएको छ ।


पोखरेलका कानुन व्यवसायी मेघराज पोखरेलले बिदा अस्वीकृत गरी ‘सरेन्डर’ गराउन खोजेको देखिएको बताए । ‘अदालतमा रिट विचाराधीन हुँदा हुँदै प्रधान कार्यालयमा हाजिर हुन जाने, मातहतमा राखेर सलाम ठोक्दै काममा लगाउन खोजेको देखिन्छ’ पोखरेलले इकागजसँग भने, ‘यो न्यायमा अवरोध गर्ने नियत देखिन्छ । त्यसमा १० दिनको बिदा दिए भइहाल्थ्यो ।’

अर्काे त हाजिर हुन आउनु भनेपछि उपस्थित नभएको खण्डमा ‘कारबाही’ गर्न खोजिएको हुन सक्ने आशंका पोखरेलको छ । ‘अब हाजिर हुन गएको खण्डमा तिनले हाजिर गरिसकेको, नयाँ महानिरीक्षकलाई सलाम गरिसकेको जवाफ दिन्छन्’, कानुन व्यवसायी पोखरेलले भने, ‘अदालतको निर्णय नआउँदासम्म बिदा मागेपछि बिदा दिनुपर्छ ।’

उनले अदालतमा दायर गरेको रिटमा यही जेठ ३० सुनुवाइ हुँदैछ ।


Author

थप समाचार
x