सूचना-प्रवधि

आविष्कार केन्द्रलाई महावीर पुनको साथ

इकागज |
चैत ९, २०७८ बुधबार २२:१८ बजे

पोखरा - पोखरा विश्वविद्यालयले पोखरा ३२, ज्ञानकुञ्जमा निर्माण गरेको आविष्कार केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रले साथ र सहयोग दिने भएको छ ।

केन्द्रको भवन निर्माणदेखि मेसिन खरिद गर्नसम्म सहयोग गरेको राष्ट्रिय आविष्कार केन्द्रले गण्डकी विश्वविद्यालयलाई सम्झौता गरेरै साथ दिने भएको हो ।


जसका लागि बुधबार विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो ।

विश्वविद्यालयतर्फबाट कुलपति प्राडा गणेशमान गुरुङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरे ।

सम्झौतापत्रअनुसार आविष्कार केन्द्रलाई शिक्षण एवं अनुसन्धान केन्द्रको रुपमा विकास गर्न र व्यवहारिक विज्ञान तथा प्रविधिको क्षेत्रमा देशको आवश्यकताअनुरुप अनुसन्धान गरी देश विकासमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ । 

यस्तै आर्थिक,  प्राविधिक, प्राज्ञिक र अन्य सहयोग गर्ने सम्झौताको उद्देश्य रहेको छ । 

कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा. पुनले कम्तीमा एक हप्ता पोखरा विश्वविद्यालयले सञ्चालन गरेको आविष्कार केन्द्रमा आएर बस्ने बताए । 

‘गण्डकी प्रदेशमा नयाँ कोर्स निर्माण गरेर पठनपाठन सुरु गर्नुभएको छ । यसमा म जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘महत्वपूर्ण यस कार्यका लागि म यहाँ आएर महिनामा कम्तीमा ५/६ दिन आएर बस्छु ।’ 

विश्वविद्यालयको हुलमा यो पृथक हुनुपर्ने उनको धारणा थियो । उनले आविष्कार सञ्चालनका लागि सरकारले कम्तीमा १ प्रतिशत बजेट छुट्याउनुपर्नेमा जोड दिए ।

 ‘आर्थिक स्रोत जुटाउन मैलै सबैतिर भन्ने एउटै कुरा हो, त्यो हो सरकारले आफ्नो पुँजीगत बजेटको एक प्रतिशत बजेट आविष्कार र विकासका लागि छुट्याउनुपर्छ,’ उनले भने । सरकारले बजेट नछुट्याएका कारण नै आफ्नो केन्द्र सहयोग र अनुदानबाट चलेको उनले सुनाए ।

गण्डकीका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आविष्कार केन्द्रलाई देशकै नमुनायोग्य बनाउन बजेटमा ध्यान दिने बताए । 

आविष्कार केन्द्रका कारण नवीनतम सोच विकास भई सीप हस्तान्तणको वातावरण बन्ने उनको धारणा थियो ।

केन्द्रले विषेशगरी कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग लगायत क्षेत्रमा आवश्यक बस्तु उत्पादनमा जोड दिएको कुलपति प्रा.डा गुरुङले जानकारी दिए । 

‘यसले मेडिकलतर्फका सामान उत्पादन गर्न सक्छ, तत्काल किसानका लागि आवश्यक कृषि औजार उत्पादन हुन सक्छ,’ उनले भने, ‘खाना पकाउने चुल्हो, कोदो चुट्ने मसिन, जोत्ने खन्ने मसिन, बन्चरो, हसियाँ, हथौडा लगायत सामान उत्पादन गर्न सक्छौँ ।’ 

कर्मचारी पदपूर्ति भएपछि अबको २ महिनामा आविष्कार केन्द्र सञ्चालनमा ल्याउने तयारी रहेको उनले सुनाए । 

उत्पादन प्राथमिकतामा धेरै बस्तुहरु रहे पनि अहिले गोबर धुलो बनाउने मेसिन, इलेक्ट्रिक चुल्हो, अलैंची तथा कफी सुकाउने मसिन उत्पादन गर्ने लक्ष्य लिएको विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सिनाले जानकारी दिए । 

यस्तै हाइब्रिड ह्याचिङ मसिन, धान झाट्ने मसिन, कोदो कुट्ने मसिन सुरुआतमा उत्पादन गर्ने उनको भनाइ थियो ।


Author

थप समाचार
x