सूचना-प्रवधि

सूचना प्रविधिमा कसरी परजीवी बनाइएको छ नेपालीलाई?

डा.लक्ष्मीप्रसाद खतिवडा |
असोज २१, २०७९ १५:४५ बजे

फाइल फोटो

नेपालले गाडीको नाम नम्बर, धनिपूर्जाको नाम नम्बर, लोकसेवा परीक्षाको कपीको नाम नम्बरको कोडिङ, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता नाम नम्बर अङ्ग्रेजीमा लेख्न मात्र विश्वबैंक, एसियाली विकास बैंक र दाता राष्ट्रबाट सन् २०१० देखि २०१९ सम्म ४७ अर्ब रुपैयाँ सरकारले ऋण काढेको छ। 

आज जुन चिजलाई प्रविधि भनिन्छ- त्यो भाषा हो। अर्थात् भाषा प्रविधि हो। कुनै पनि साधन बेगर साध्य प्राप्त गर्न सकिँदैन। प्रविधि साध्य हो भने भाषा साधन हो। आज विश्वमा जे जति प्रविधिको विकास भएको छ सबै भाषाप्रविधिमा आधारित छ। भाषा-प्रविधिका माध्यमबाट चल्ने कम्प्युटर प्रोग्राम वा इलेक्ट्रोनिक उपकरणहरूले मानिसको क्रियाकलापलाई विश्लेषण, परिमार्जन गर्दछ; समाज र संस्कृतिलाई प्रविधि सक्षम बनाउँछ।


जसरी सभ्यताको सुरुआतमा मानिसले बोल्न जान्यो र मानिस अरु प्राणीभन्दा फरक भयो। अनि लेख्न जानेपछि त सभ्यताको विकास नै सुरु भयो। त्यसैगरी आज मानिसले आफ्नो भाषा,संस्कृति र सभ्यतालाई  सङ्केतन (इन्कोडिङ) मा ढालेर सान्सारिक वास्तविकताबाट आभासी वास्तविकता( भर्चुअल रियालिटी) को निर्माण गरिरहेको छ। यसको मुख्य आधार भनेको भाषालाई प्रविधि सक्षम बनाएर कम्प्युटरलाई निर्देशित गरी आफू अनुकुल काम गर्न सहज बनाएकाले यो सम्भव भएको हो।

  •  ३० वर्षको अवधिमा नेपालको सरकारले चाहिँ डलरमा ऋण लिएर अङ्ग्रेजी भाषामा प्रविधिको काम गर्यो। ऋण दिने देश र कम्पनीले डाटा पनि लग्यो, साँवाको ब्याज पनि लग्यो। नेपाली नागरिकका टाउकामा ऋणमात्र बाँकी रह्यो।
  • गाडीको नाम नम्बर, धनिपूर्जाको नाम नम्बर, लोकसेवा परीक्षाको कपीको नाम नम्बरको कोडिङ, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता नाम नम्बर अङ्ग्रेजीमा लेख्न मात्र विश्वबैंक, एसियाली विकास बैंक र दाता राष्ट्रबाट सन् २०१० देखि २०१९ सम्म ४७ अर्ब रुपैयाँ सरकारले ऋण काढेको छ।
  • यति सामान्य काम नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्तिले गर्न सक्दैन ? पक्कै पनि सक्छ तर सरकारले विश्वविद्यालयको जनशक्तिको अपहेलना गर्यो। सामान्य काममा नेपालीका टुप्पीमा विदेशी ऋण बोकायो।
  • यो त कास्टिङ मात्रै हो। नेपाली नागरिकलाई डलरको ऋणमा डुबाएर देश चलाउनेले मोज गरेका उदाहरण त कति छन् कति। त्यसै १८ खर्ब वैदिशिक ऋण पुग्छ ?

कम्प्युटर भाषाका माध्यमबाट चल्छ। कम्प्युटरले प्रविधि चलाउने हुँदा प्रविधि पनि भाषाकै माध्यमबाट चल्ने भयो। अतः भाषाप्रविधिमा काम गर्न सकिएन भने जुम्राले लाश छोडेजस्तै प्रविधिले हामीलाई छोड्छ। भाषा-प्रविधिमा काम गर्न भाषा-विज्ञान र कम्प्युटर-विज्ञान दुवैको उत्तिकै जरुरी हुन्छ। त्यसैले प्रविधि स्थानीयकरण भनेको भाषा स्थानीयकरणनै हो। सामान्य बुझाइमा भाषा स्थानीयकरणलाई अरुभाषामा गरेको काम आफ्नो भाषामा अनुवाद गर्ने भन्ने बुझाइ छ तर स्थानीयकरण भनेको प्रविधि हस्तान्तरण हो।

भाषा स्थानीयकरणले विद्युतीय (इलेक्ट्रोनिक) उत्पादनलाई स्थानीय आवश्यकता अनुकूलन बनाउँछ। यसका लागि लक्षित देश, क्षेत्र वा भाषा र संस्कृतिको व्यापक अध्ययन आवश्यक पर्छ। स्थानीयकरण प्रक्रियाले कम्प्युटर सफ्टवेयर, भिडियो गेमहरू, वेबसाइटहरू, अडियो/ भ्वाइसओभर वा अन्य मल्टिमिडिया सामग्रीलाई सांस्कृतिक अनुकूलन गर्छ। प्रविधिलाई संस्कृति अनुकूल बनाउन पूर्वाधार निर्माण गर्नुपर्छ। जस्तै लगत सङ्केतन (डेटा इन्कोडिङ), स्थानीय भाषामा सफ्टवेयर निर्माण, हार्डवेयर उपकरणमार्फत आफ्नो भाषा अनुकूल गरी मानव कम्प्युटर इन्टरफेसको निर्माण गर्नुपर्छ।

कुनै पनि देश वा समाजमा प्रविधि विकास गर्नु छ भने सूचना प्रविधिमा स्थानीयकरण पहिलो चरण हो। कम्प्युटिङ टेक्नोलोजीलाई स्थानीयकरण, अन्तर्राष्ट्रियकरण गर्दा वा प्रविधि आफू अनुकूलन बनाउँदा माइक्रोसफ्ट, आईबीएम र सन माइक्रोसिस्टम्स जस्ता अन्तर्राष्ट्रिय कम्पनीले सुरुमा के के गरे त्यसको गहन अध्ययन गर्नुपर्छ। अतः अनुसन्धान पहिलो खुड्किला हुने नै भयो।

प्रविधि अनुसन्धानको सुरुआती चरणमा प्रविधि स्थानीयकरण (आफू अनुकुल बनाउने) र अन्तर्राष्ट्रियकरणका मापदण्डहरू निर्माण गरियो। सुरुमा वस्तु वा सामान आदानप्रदानका तौर तरिका र मौद्रिक प्रणालीका प्रारम्भिक मापदण्ड हेरियो। अनि भाषा सञ्चारको आधारभूत मापदण्ड भएकाले पहिले वर्णमालाबाटै भाषा प्रविधिको मापदण्ड बनाउन सुरु गरियो।

भाषा स्थानीयकरणले विद्युतीय (इलेक्ट्रोनिक) उत्पादनलाई स्थानीय आवश्यकता अनुकूलन बनाउँछ। यसका लागि लक्षित देश, क्षेत्र वा भाषा र संस्कृतिको व्यापक अध्ययन आवश्यक पर्छ। स्थानीयकरण प्रक्रियाले कम्प्युटर सफ्टवेयर, भिडियो गेमहरू, वेबसाइटहरू, अडियो/ भ्वाइसओभर वा अन्य मल्टिमिडिया सामग्रीलाई सांस्कृतिक अनुकूलन गर्छ।

सूचना आदानप्रदानका लागि अमेरिकी मानक कोड (आस्की) कम्प्युटरको विकासमा सबैभन्दा पुरानो सङ्केतन मानक हो। अमेरिकी राष्ट्रिय मानक संस्थाले यसलाई पहिलो पटक सन् १९६३ मा कम्प्युटिङ मानक बनाएर  सार्वजनिक गर्यो। अधिकांश प्रविधि अङ्ग्रेजी भाषामा सङ्केतन भएको हुनाले अङ्ग्रेजीमा पहुँच नभएका विश्वनागरिकका लागि प्रविधिमा भाषा अवरोध सिर्जना भयो।

विश्वसमाज बहुभाषी थियो तर प्रविधि एकल भाषामा चल्दा अनुसन्धाताले यसको विकल्प खोज्न थाले। विकल्प खोज्दै जाँदा प्रविधिका सफ्टवेयर आफ्नै भाषामा स्थानीयकरण गर्न सकिन्छ भन्ने सम्भावना देखिएपछि सन् १९९२ मा युनिकोडको विकास भएपछि बहुभाषिक मानक बनाउन थालियो। १९९२ देखि २०२२ सम्म ३० वर्षको अवधिमा संसारका धेरै देशले आफ्नो देशको राष्ट्रिय मानक बनाएर पूर्ण रूपमा सूचना तथा सञ्चार प्रविधि आफ्नै भाषामा सञ्चालन गर्न थाले।

विद्यालय र विश्वविद्यालयमा यस विषयमा पाठ्यक्रम निर्माण गरी देशलाई चाहिने जनशक्ति स्वदेशमै उत्पादन गरे तर ३० वर्षको अवधिमा नेपालको सरकारले चाहिँ डलरमा ऋण लिएर अङ्ग्रेजी भाषामा प्रविधिको काम गर्यो। ऋण दिने देश र कम्पनीले डाटा पनि लग्यो, साँवाको ब्याज पनि लग्यो। नेपाली नागरिकका टाउकामा ऋणमात्र बाँकी रह्यो। गाडीको नाम नम्बर, धनिपूर्जाको नाम नम्बर, लोकसेवा परीक्षाको कपीको नाम नम्बरको कोडिङ, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता नाम नम्बर अङ्ग्रेजीमा लेख्न मात्र विश्वबैंक, एसियाली विकास बैंक र दाता राष्ट्रबाट सन् २०१० देखि २०१९ सम्म ४७ अर्ब रुपैयाँ सरकारले ऋण काढेको छ।  

यति सामान्य काम नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्तिले गर्न सक्दैन ? पक्कै पनि सक्छ तर सरकारले विश्वविद्यालयको जनशक्तिको अपहेलना गर्यो। सामान्य काममा नेपालीका टुप्पीमा विदेशी ऋण बोकायो। यो त कास्टिङ मात्रै हो। नेपाली नागरिकलाई डलरको ऋणमा डुबाएर देश चलाउनेले मोज गरेका उदाहरण त कति छन् कति। त्यसै १८ खर्ब वैदेशिक ऋण पुग्छ ?

प्रविधि स्थानान्तरण (टेक्नोलोजी ट्रान्सफर) के हो ?। प्रविधिलाई कसरी स्थानीयकरण गर्ने ? प्रविधि स्थानान्तरण एउटा प्राविधिक प्रक्रिया हो जसमा कुनै सङ्गठन वा देशमा विकास भएको प्रविधि वा ज्ञान अर्को देश वा सङ्गठनमा हस्तान्तरण गर्ने विधि हुन्छ। एउटा भाषामा विकास भइसकेको पद्धतिलाई अर्को देश वा सङ्गठनले सुरुदेखि नै बनाउँदा सीप, लागत र समय धेरै खर्च गर्नुपर्ने हुन्छ। त्यसैले प्रविधि स्थानीयकरणका माध्यमबाट त्यसलाई आफू अनुकुल बनाउने विधिको निर्माण गरियो।

प्रविधि स्थानान्तरण विभिन्न विधिहरू अपनाएर पूरा गर्न सकिन्छ। अनुवादका माध्यमबाट कम्प्युटर सफ्टवेयरलाई आफ्नो भाषामा परिवर्तन गर्नु एउटा विधि हो। अहिलेको विश्वमा प्रविधि र नवप्रवर्तन (इनोभेसन) मा पहुँच असमान छ। वैज्ञानिक अनुसन्धान र नवीन प्रविधिहरूको प्रयोगमा विकसित र विकासशील देशहरू बीच ठूलो खाडल छ। यसलाई डिजिटल डिभाइडका नामबाट चिनाउने गरिन्छ।

सुरुमा नवप्रवर्तन र ज्ञान सिर्जना केही देशहरूमा केन्द्रित भए तापनि हालका वर्षहरूमा ज्ञान सिर्जनाको प्रवृत्तिमा व्यापकता देखिएको छ। धेरै देशहरूले अनुसन्धान र विकास (आर एन डी) मा लगानी गरेर वैज्ञानिक अनुसन्धानको क्षमता विकास गरेका छन्। किनभने आफ्नै देशको भाषामा आफ्नै देशको जनशक्तिबाट प्रविधिको विकास गरियो भने दिगो वृद्धि हासिल गर्न किफायती र सजिलो हुन्छ।

एकातिर गुगल, एप्पल, फेसबुक, अमेजन, आईबीएम र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूले सूचना प्रविधिमा एकाधिकार जमाइरहेका छन् भने अर्कातिर चाइना, रुस र अरेबियन देशले अङ्ग्रेजी इतर भाषामा प्रविधिको विकास गरेर अन्तर्राष्ट्रिय उपभोक्ता देशहरूलाई स्थानीयकरणको सुविधा पनि दिइरहेका छन्। युरोपियन र अमेरिकी देशले माइक्रोसफ्ट विन्डोज, म्याक्स, हार्मोनी र डेबियन जस्ता प्रमुख अपरेटिङ सिस्टमहरूलाई स्थानीयकरण गर्न प्याटेन्टमा केही खुकोलो पनि गर्दैछन्। युनिकोडको विकासपछि आधुनिक प्रणालीको एकल वर्ण सङ्केतन (वर्ण एन्कोडिङ) पद्धतिले फरक भाषाहरूमा समान विधिले सफ्टवेयर निर्माण गर्न सहजभएको छ तर मानक भने आफ्नै देशको भाषा र भूसंस्कृतिमा आधारित हुनुपर्छ।

यसका लागि विभिन्न देशहरूका विभिन्न मानकहरू छन्। जस्तै भाषा अनुसार डाटा भण्डारण प्रणाली, तिथि, मिति, पात्रो, पैसा गणना प्रणाली, टेलिफोन नम्बर प्रणाली, हुलाक ठेगाना, हुलाक कोड आदि। समय क्षेत्रहरू सन्सारभरी फरक हुन्छन्। जस्तै नेपालका हकमा पूर्वबाट इमेल वा इन्टरनेटमा पठाएको सन्देशको समय र पश्चिमबाट पठाएको सन्देशको समय फरक हुन्छ। तर कम्प्युटरमा स्थानीय लोक्याल (भूसाङ्कृतिक पहिचान) जडान गरियो भने सन्देश पठाउने र प्राप्त गर्ने देशको समय कम्प्युटर वा इन्टरनेटले आफैं मिलाउँछ।

कम्प्युटरमा लोक्याल जडान गर्ने पहिलो आधार भनेको भाषा नै हो। जस्तै अमेरिकाको लोक्यालमा खुल्ने कम्प्युटरको कोड अङ्ग्रेजी अमेरिका (इएन_युएस) हुन्छ। बेलायतमा अङ्ग्रेजी ग्रेटब्रिटेन (इएन_जिबी) हुन्छ। त्यसैगरी अरेबिक भाषाहरूमा अरेबिक अल्जेरिया (एआर_डिजेड), अरेबिक इराक (एआर_आइक्यु), अरेबिक साउदी अरेबिया (एआर_एसए), इन्डिया (आइएन_एचआइ) भएजस्तै नेपालको नेपाली नेपाल (एनइ_एनपी) हुनुपर्ने हो। तर नेपालमा एनइ_एनपी मा एउटा पनि कम्प्युटर खुल्दैन।

प्रविधि सम्बन्धी कानुन बनाएर यसको नियमन गर्नुपर्छ। विभिन्न देशहरूमा विभिन्न भाषाप्रविधि कानुन निर्माण गरेका हुन्छन्। कम्प्युटरमा लोक्याल (भूसांस्कृतिक पहिचान) सही तरिकाले राखियो भने सफ्टवेयर उत्पादन, कोड परिवर्तन, गोपनीयता, प्रविधि कानूनको पालन, वेबसाइट निर्माणको देश, भाषा र स्थानको जानकारी कम्प्युटरले अटोमेटिक रुपमा प्रशोधन गर्न सक्छ।

कम्प्युटरमा सही लोक्याल (भूसांस्कृतिक पहिचान) राखियो भने साइबर अपराधको उत्पत्तिस्थान पत्ता लगाउन पनि सजिलो हुन्छ। डाटा उत्पादनमा मेटाडाटाको जानकारी सही तरिकाले राखियो भने बहुभाषिक डाटा अटोमेटिक रुपमा प्रशोधन गर्न सकिन्छ। तर नेपालका सरकारी होस् वा निजी संस्था कसैले पनि मेटाडाटा राख्ने गरेको पाइएको छैन। राष्ट्रिय योजना आयोगले डब्लिन कोर मेटाडाटा प्रयोग गर्छु भनेको छ तर राष्ट्रिय योजना आयोगको डाटामा डब्लिन कोरको कुनै पनि मापदण्ड प्रयोग भएको पाइदैन।

कम्प्युटर त एउटा मेसिन मात्र हो। कम्प्युटरले मानव भाषाहरू बुझ्नका लागि लामो सङ्ख्यात्मक शृङ्खला बनाएर अल्गोरिदममा ढाल्नु पर्छ। कम्प्युटरलाई नेपाली भाषामा स्थानीयकरण गर्न सबभन्दा पहिले वर्ण र नम्बरको राष्ट्रिय मानक बनाउनु पर्छ। अनुप्रयोगमा प्रयोग हुने सबै कुरालाई नेपाली वर्ण र अङ्कमा विभाजित हुनुपर्छ त्यसपछि वर्णहरू नम्बरहरूसँग म्याप गर्नुपर्छ।

यो म्यापिङ पद्धतिलाई वर्ण सङ्केतन (क्यारेक्टर इन्कोडिङ) भनेर चिनिन्छ। स्थानीयकरण प्रक्रियामा सङ्केतन पद्धतिले महत्त्वपूर्ण भूमिका खेल्छ। किनभने प्रशोधन (प्रोसेसिङ) र प्रदर्शन (डिस्प्ले) का लागि यसलाई उचित सङ्केतन (एन्कोडिङ) चाहिन्छ। यदि त्यहाँ कुनै विशेष सङ्केतन छुट्यो भने कम्प्युटरले यी वर्णहरूलाई नम्बरहरूसँग म्यापिङ गर्न असक्षम हुन्छ। र कतै कोठा कोठा र कतै डट डटको गोलो चिह्न तथा कतै ह्वाट ह्वाट (??) प्रदर्शन गर्दछ।

जुन कुरा नेपालीमा कम्प्युटरमा काम गर्दा हामीले धेरै पटक देखेका भोगेका छौँ। घर बनाउने आधारभूत कुरा ढुङ्गा र इट्टा भएजस्तै स्थानीयकरणको आधारभूत कुरा भनेको वर्ण र नम्बरको उचित सङ्केतन नै हो। त्यसैले स्थानीयकरणमा काम गर्न नेपाली राष्ट्रिय मानक बनाउनु पहिलो कुरा हो। गएको ३० वर्षमा नेपालले एउटा पनि कम्प्युटिङ वा स्थानीयकरण मानक बनाएको छैन। नेपालमा सुरुआती काम पनि हुनसकेको छैन।

नेपाली कम्प्युटिङको एउटा सानो उदाहरण हेरौँ। बहुभाषिक कम्प्युटर प्रणालीहरूले दृष्यात्मक (रेन्डरिङ) समस्याहरू समाधान गर्न युनिकोड मानक प्रयोग गरेका छन्। हामी कहिले गोरख, कहिले कान्तिपुर, कहिले हिमाली जस्ता टिटिएफ फन्ट प्रयोग गरेर नेपाली डाटा उत्पादन गर्ने गर्छौं। यस्तो डाटालाई प्रशोधन गर्न सकिँदैन। किनभने कम्प्युटरले स्क्रिनमा नेपाली वर्ण देखाउछ तर भण्डारण चाहिँ अङ्ग्रेजीमै गर्छ। बागमतिमा हालेको फोहोर त १०, २० वा ३० वर्ष लगाएर सफा गर्न सकिएला तर हामीले कम्प्युटर डाटामा हालेको फोहोर त सफा गर्नै सकिँदैन। यसलाई त फ्याल्नु सिबाय अर्को विकल्प छैन। करोडौँ, अरबौँ रुपैयाँ डलरमा ऋण लिएर उत्पादन गरेको डाटा अङ्ग्रेजीमा राखे जति प्रशोधन गरेर भण्डारण गर्न सकिन्छ। नेपाली डाटा चाहिँ पुन उत्पादन गर्नु पर्छ। सूचना प्रविधिमा परजीवी सोच रहेसम्म प्रविधि स्थानीयकरण सम्भव हुँदैन। -आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
ad
x