सूचना-प्रवधि

स्क्रिनबाट आँखा कसरी जोगाउने ?

इकागज |
असोज ४, २०७९ मंगलबार ७:५१ बजे

काठमाडौँ - हामीमध्ये धेरैजना दिनभरीको समय स्क्रिनमा बिताउँछौँ । घरमा बालबालिका पनि स्क्रिनमै समय बिताइरहेका हुन्छन् । हिजोआज हाम्रो दैनिकी स्क्रिनसँगै सुरु भएर स्क्रिनसँगै अन्त्य भइरहेको छ । कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा घण्टौँ घोत्लिँदा आँखामा असर परिरहेको हुन्छ । लामो समय स्क्रिनमा बिताउँदा आँखा सुक्खा हुने, फर्फराउने, पानी बग्ने, रातो हुने, टाउको दुख्ने, थकान महसुस हुनेलगायत विभिन्न समस्या देखिन सक्छन् । त्यसबाट बच्न हामीले थुप्रै उपाय अपनाउन सकिन्छ । 

घण्टौँसम्म लगातार स्क्रिनमा हेर्दा आँखालाई थकान महसुस हुन्छ । यसबाट बच्न ‘२०–२०–२० फर्मुला’ फलो गर्नुपर्छ । यो भनेको प्रत्येक २० मिनेटमा २० सेकेन्डका लागि स्क्रिनबाट २० फिट टाढा हेर्नुपर्छ । यसले आँखालाई आराम दिन्छ र थकान कम गर्न मद्दत गर्छ । सामान्यतया हामीले एक मिनेटमा लगभग १५ पटक आँखा झिम्काउँछौँ । तर, स्क्रिन एकोहोरो हेर्दा जति झिम्काउनुपर्ने हो त्यो झिम्काइएको हुँदैन । आँखा कम झिम्काउँदा असर गर्छ । त्यसैले स्क्रिन हेर्दा पनि आँखा भने झिम्काइरहनु पर्छ । 


त्यस्तै, कतिपयले स्क्रिनको ब्राइटनेस बढाएर चलाउँछन् । यसले पनि आँखालाई हानी गर्छ । स्क्रिनको ब्राइटनेस बढी हुँदा आँखा दुख्ने, जलन र रातो हुने समस्या हुन्छ । त्यसैले आँखालाई स्क्रिनबाट सुरक्षित राख्ने हो भने ब्राइटनेस कम गर्नुपर्छ । त्यस्तै, डिसप्लेलाई पावर सेभिङ मोडमा राख्दा पनि आँखालाई कम नोक्सानी हुन्छ । त्यस्तै अर्को उपाय भनेको आँखालाई ‘स्पेस’ दिनुपर्छ । आफूले काम गर्ने स्क्रिन अनुहारबाट १६ इन्चभन्दा नजिक हुनु हुँदैन । स्क्रिनमा काम गर्दा अन्य थुप्रै उपायहरू पनि अपनाउन सकिन्छ । जस्तैः अक्षरलाई ठूलो बनाउने, स्क्रिनलाई धेरै झिलिमिलि नबनाउने पनि गर्न सकिन्छ ।  

हरेक दिन कम्प्युटरमा काम गर्नेले नियमित आँखा परीक्षण गर्नुपर्छ । स्क्रिनमा लामो समय काम गर्नेले स्क्रिनबाट निस्कने रेडिएसनबाट बचाउने चस्मा लगाउनुपर्छ । कामको बीच–बीचमा आँखाको व्यायाम गर्नुपर्छ । साथै स्वस्थ आँखाका लागि आहारमा पनि ध्यान दिनुपर्छ ।

भिटामिन ए, भिटामिन सीलगायत भएका खानेकुरा भरपूर खानुपर्छ । सुन्तला, पालुङो, हरियो धनियाँ, पुदिना, फर्सी, गाजर आदि आँखाको स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यस्तै, स्क्रिनमा काम गर्नेका लागि निद्रा उत्तिकै महत्वपूर्ण छ । स्क्रिनमा काम गर्नेले आँखाको स्वास्थ्यका लागि अनिदो बस्नु हुँदैन ।


Author

थप समाचार
x