स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला- ११

पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु

जीवन कुँवर |
माघ २८, २०७८ शुक्रबार ७:४६ बजे

नेपालको शासकीय संरचना ६ वर्षदेखि संघात्मक भएपछि स्थानीय तह स्थानीय सरकारमा परिणत भयो । सरकार भन्‍नुको अर्थ हो, अधिकारसहितको कार्यकारी संस्था । आफैँले निर्वाचित गरेका प्रतिनिधिबाट आफ्नै घर-आँगनमा सुलभ तरिकाले सेवा-सुविधा पाउनु मात्र संघीयताको मर्म होइन, यो पाउनु र दिनुभन्दा माथिको स्वशासित अवस्थाको महसुस हो । राज्यलाई घर मान्‍ने हो भने स्थानीय सरकार त्यो घरको जग हो । जग बलियो भए मात्र घर बलियो हुन्छ । तर, जग बिर्सेर माथिमाथि तला-छानाको चिन्ता गरिबस्नु घरको खास चिन्ता होइन । संघीयताको बहस र अभ्यासमा स्थानीय सरकारका संस्थापकहरूको आनुभविक आवाज घरले राम्ररी नसुनेको बोध गर्दै इकागजले संवाद शृंखला सुरु गरेको छ । यसै सन्दर्भमा भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलसँग इकाजगकर्मी जीवन कुँवरको संवाद : 

तपाईं संघीयताको खास जग हुनुहुन्छ, देशले संघीयता थेग्न सकिँदैन भन्‍ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्‍नुहुन्छ ?
नेपाल अत्यन्त लामो समयसम्म एकात्मक राज्यका रूपमा रह्यो । यस दौरानमा हाम्रा विकास निर्माण केही सीमित ठाउँमा केन्द्रित भयो । विकासमा र पँहुचको सवालमा असमानताको खाडल निकै ठूलो फरक पर्‍यो । नेपालको संविधान २०७२ बमोजिम देश संघात्मक संरचनामा गइसकेपछि जनताको नजिकमा रहेर जनता तथा स्थानीय आवश्यकताका आधारमा धेरै योजना तथा कार्यक्रमहरू गरिएको छ । 


निश्चय नै, लगभग पाँच वर्षको अनुभवमा गाउँपालिका प्रमुख भएर कार्य गरिरहँदा स्थानीय तहले वास्तविक परिवर्तन हुने गरी कार्य गरेको छ । जुनसुकै योजना तथा कार्यक्रमहरू स्थानीय तह आफैँ र स्थानीय तहको सहभागितामा गरेका कार्य सफल भएको छ । 

तसर्थ पहिलो कुरा संघीयता नेपालको विकास र समृद्धिका लागि अति नै फलदायी भएका छन् र स्थानीय तह संघीयताको मेरुदण्डका रूपमा रहेको छ । दोस्रो कुरा देश संघीयतामा जाँदा प्रशासनिक खर्च बढेको पक्कै हो तर खर्चको तुलनामा उपलब्धि धेरै भएको वास्तविकता कतै छिपेको छैन । अर्को कुरा धेरै सेवा स्थानीय तहबाट प्रदान हुँदाहुँदै जिल्लामा दोहोरो कार्यालय राखी निकै झन्झटिलो र खर्चिलो बनाइएको छ । यदि जिल्लास्थित कार्यालयलाई हटाउने हो र  प्रदेशको संरचनालाई अलि छरितो बनाउने हो भने आर्थिक भार कम भइ दिगो तथा भरपर्दो हुन्छ । संस्थापक नेतृत्व भएको हैसियतले संघीयता थेग्न सकिन्छ र यसको अर्को विकल्प अब सोच्न पनि सकिँदैन भन्‍ने निष्कर्ष हो । 

स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो खास पहिचान र सामार्थ्य के बनाउनुभयो ? 
खास पहिचान :  अन्तर्राष्ट्रिय तातोपानी नाका सञ्चालन, जलविद्युत् उत्पादन तथा विकास, साहसिक तथा धार्मिक पर्यटनको केन्द्र, कृषि तथा पशुपालनमा आत्मनिर्भर, चौरी तथा मौरीको पकेट क्षेत्र, लगानी तथा व्यापारका सम्भावना ।

सामार्थ्य : आन्तरिक स्रोतमा वृद्धि  हुनु, भूकम्पका कारण क्षति भएको अरनिको सडक मर्मत तथा निर्माण हुँदै, गाउँपालिकाको केन्द्र निर्धारण तथा प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा भएको, वडा कार्यालय भवन निर्माण सम्पन्‍न, वडा कार्यालयमा १२ महिना चल्ने सडक, भूकम्पपश्चात् ध्वस्त सम्पूर्ण विद्यालयहरू निर्माण, पालिकाबाट विषयगत शिक्षक अनुदान, प्रारम्भिक बाल विकास सहजकर्ता तथा सुसारेको व्यवस्था, नमुना विद्यालय, आवश्यक ऐन, कानुन, निर्देशिका तथा कार्यविधि  निर्माण, एकीकृत बस्ती विकास, जोखिममा परेको बस्तीको स्थानान्तरण, पर्यटकीय पदमार्ग तथा होमस्टे निर्माण, मन्दिर तथा गुम्बा तथा चर्च, सामुदायिक भवन  निर्माण, दक्ष तथा अनुभवी कर्मचारीको उपलब्धता ।

 

यी सबै सुन्दा अमूर्त भए, ठ्याक्कै गौरव गर्न सकिने मूर्त योजना के-के पूरा गर्नुभयो ? 
प्रशासनिक भवन निर्माण र केन्द्र निर्धारण, स्थानीय तहले निर्माण गर्नुपर्ने ऐन, कानुन, निर्देशिका तथा कार्यविधि तयार गरिएको, प्रत्येक वडा तथा गाउँसम्म सडक विकास तथा विस्तार, २९ वटा सामुदायिक विद्यालयमध्ये २८ वटा विद्यालय निर्माण सम्पन्‍न,  प्रत्येक वडाका स्वास्थ्य चौकी निर्माण र कोभिड अस्पताल निर्माण, दीर्घरोगीका लागि २५ हजारका दरले आर्थिक सहयोग प्रदान, नेपाल सरकारबाट नि:शुल्क प्राप्त नहुने प्रेसर, सुगरका औषधि पालिकाबाट नि:शुल्क वितरण, एकीकृत घुम्ती शिविर सञ्चालन गरी प्रत्येक वडामा सेवा प्रदान, विपद्बाट प्रभावित पीडितहरूलाई राहत स्वरूप तत्काल २५ हजार सहयोग, वडा कार्यालय भवन निर्माण सम्पन्‍न, दुगुनागढी, भैरवकुण्ड पर्यटकीय पूर्वाधार निर्माण, अरनिको राजमार्ग तथा मन्दिरमा स्ट्रिट सोलार लाइटको व्यवस्था, शून्य दरबन्दी भएको विद्यालयमा विषयगत शिक्षकको व्यवस्था, मन्दिर, गुम्बा तथा चर्च पुन:निर्माण, पर्यटकीय पूर्वाधार विकास, खानेपानी आयोजना सम्पन्‍न, हेलिप्याडको निर्माण, सडक बाटो पुर्‍याउन जोखिम ठाउँमा गोरेटो बाटो निर्माण, गौरीशंकर संरक्षणका साथै उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालन, चौरी संरक्षण कार्यक्रम/मौरीपालन कार्यक्रम/बोयर जातिका बाख्राका साथै कृषि तथा पशुपालनमा उल्लेख्य सुधार ।

पहिलो पटक स्थानीय सरकार गठन भएको हुँदा आम अपेक्षा पनि धेरै थिए होलान्, अपेक्षा सम्बोधनमा आइपरेका अप्ठेरा के हुन् । कानुनी अड्चन तथा अंकुश, कानुन निर्माण, प्रशासनिक समस्या, कर्मचारीको अभाव, दक्ष र पर्याप्त शिक्षक तथा स्वास्थ्यकर्मीको अभाव, पर्याप्त बजेटको अभाव, भूकम्पका कारण तहसनहस भएका संरचना ।

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?
पुन:निर्माण, शिक्षा, पूर्वाधार, व्यापार, स्वास्थ्य, कृषि ।

गर्न चाहेर पनि नसकिएका काम के-के हुन् ?
सडक स्तरोन्‍नति तथा कालोपत्रे, पूर्ण नाका सञ्चालन, जोखिमका बस्ती स्थानान्तरण, भोटेकोशीलगायतका नदीहरूमा बाँध निर्माण, अरनिको राजमार्गको स्तरोन्‍नति, प्राविधिक विद्यालय सञ्चालन,  खेल पूर्वाधार निर्माण, इन्टरनेटको पहुँचमा विस्तार, खानेपानीको  व्यवस्था, पर्यटकीय पूर्वाधार विकास । 

सरकार सञ्चालनका क्रममा संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के-कस्ता आइपरे ?
स्थानीय तहको अधिकार क्षेत्रमा वन क्षेत्राधिकार नभएको, शिक्षाको अधिकार क्षेत्रअनुसार अधिकार प्रत्यायोजन नगरिएको, नदी तथा खोलाको प्रयोग संरक्षणमा जटिलता देखिएको, जग्गा प्राप्तिमा संघको कानुन हाबी भई विकास निर्माणका कार्य गर्न कठिनाइ उत्पन्‍न भएको, करका क्षेत्रहरू दोहोरो पर्न गई राजस्वमा गम्भीर असर पर्न गएको ।

प्रदेश र संघीय सरकारबाट पाएको सहयोग-असहयोगबारे तपाईंको अनुभव तथा मूल्याङ्कन के छ ? 
सामाजिक विकासका गतिविधि सञ्चालनमा समन्वय, सुझाव तथा कार्यक्रम तथा योजनाहरू प्राप्त भएको छ । विकास तथा पूर्वाधारमा समन्वय र समझदारी अनुसार योजना, बजेट तथा कार्यक्रम सञ्चालनमा साझेदारी सहयोग प्राप्त भएको छ । 

अपेक्षाअनुरूप ठूला तथा मझौला योजना तथा कार्यक्रम प्राप्त भएको छैन । कतिपय योजना तथा कार्यक्रमहरू स्थानीय तहको आवश्यकताभन्दा फरक क्षेत्रमा प्राप्त तथा विनियोजन भएको छ । 

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो, यिनमा समस्या के-के रहे ?
आर्थिक रूपमा औसत रहेको छ । आन्तरिक आम्दानी करिब २ करोड र रोयल्टीको रकम करिब पाँच करोड रहेको छ । अझै संघीय कानुनका अभावमा स्थानीय कानुनको निर्माण गर्न नसकिएको, कर्मचारी अभाव र भोगौलिक जटिलताका कारण  प्रशासनिक कार्यप्रणाली केही सुस्त रहे तापनि हाल राम्रो हुँदै गएको छ ।

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रूपमा के सुझाव छ ?
- बहुवर्षीय योजना निर्माण गर्नुपर्दछ ।  
- पञ्चवर्षीय योजना बनाई कार्य गर्नुपर्दछ । 
- साना-साना योजनालाई कम गर्नुपर्दछ ।
- कानुन निर्माण गरी कार्य गर्नुपर्दछ । 
- शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट पृद्धि गर्नुपर्दछ । 
- कर्मचारीको अभाव पूर्ति गर्नुपर्दछ । 
- उत्पादनमूलक क्षेत्रमा लगानी गर्न साथै लगानी गर्ने वातावरण निर्माण तथा प्रोत्साहन गर्नुपर्दछ ।
- समुदाय र स्थानीय सरकारबीच ८०-२० को साझेदारीका कार्य गर्नुपर्दछ ।  
- योजना उपभोक्ता समितिमार्फत नभई टोल सुधार समिति र ठूला आयोजना टेन्डरमार्फत गर्नुपर्दछ । 

अक्सर नागरिक हुँदा, प्रतिपक्षमा रहँदा एक खाले र शासक भइसकेपछि नजर अर्कै खाले बनिदिन्छ, सीमित स्रोत-साधनको अवस्था पनि बुझिन्छ होला, आफ्ना नागरिकमै के-कस्ता समस्या पाउनुभयो ?
वास्तवमा नै हामीसँग स्रोत र साधन सीमित मात्रामा रहेको छ र नागरिकको अपेक्षा ठूलो छ । नागरिकका सबै दायित्व सरकारले पूरा गर्नुपर्छ भन्‍ने सोच देखिन्छ । सबै विकास छिट्टै हुनुपर्ने, आफ्ना मान्छेलाई विधि विपरीत पनि काम लगाउन दबाब सिर्जना गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण नगर्ने, अरुको काममा औँला उठाउने तर आफूले गर्दा गुणस्तरहीन कार्य गर्न खोज्‍ने प्रवृत्ति देखिन्छ । 

आफ्नो कार्यकाललाई १० पूर्णाङ्कमा तपाईं आफैँ कति नम्बर दिनुहुन्छ ?
मेरो कार्यकालमा स्वमूल्याङ्कन गर्दा इतिहासमा नै पहिलो पटक संघीयताको कार्यान्वयन गर्ने क्रममा रहेको र शून्यबाट सुरु गर्नुपरेको, अझै धेरै कुरा सिकाइको चरणमा रहेको हुँदा यी यावत् कठिनाइका बाबजुद पालिकाको पहिलो प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु । बाँकी मूल्याङ्कन सम्बन्धित जनताले नै गर्ने कुरामा विश्वास गर्दछु ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x