सुदूरपश्चिम

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै

इकागज |
माघ २६, २०७९ बिहीबार ६:२६ बजे

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैँछन् । सुदूरपश्चिमम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि हिजो ११ र पुन: १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको थियो ।


 गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त भएका थिए । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।

दूरपश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।​ रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ ।

५३ प्रदेशसभा प्रदेश सभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् ।

तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरेपछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।

सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ  गरेपछि सत्तारूढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । 


Author

थप समाचार
x