सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ रेशमलाई भेट्न डिल्लीबजार कारागारमा, सात सांसद पनि जाँदै

दीपक उपाध्याय |
माघ २४, २०७९ मंगलबार ९:३२ बजे

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीमा नियुक्ति भएको झण्डै महिना पुग्नै लाग्दा रावलले विश्वासको मत लिन लागेका हुन् । रावलले विश्वासको मत लिने विषयमा प्रदेश सभा सचिवालयलाई जानकारी समेत गराइसकेको सचिवालयले जानकारी दिएको छ ।

माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।


सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा सभामुखसहित माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी दलले गत पुस २७ गते मुख्यमन्त्रीमा रावललाई समर्थन गरेका थिए । 

मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत दिनेबारे अझैसम्म कुनै धारणा बनाइसकेको छैन । उन्मुक्तिकि अध्यक्ष रंजिता श्रेष्ठले आफूहरूको मुद्दा रेशम चौधरीको रिहाइ प्रमुख रहेको बताउँदै रिहाइ नभएसम्म विश्वासको मत दिन नसकिने बताउदै आएकी छिन् । 

केही दिनअघि काठमाडौँमा मुख्यमन्त्री रावलसहित एमालेका अध्यक्ष केपी शर्माओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलमा तीन दललाई  ६ मन्त्रालय बराबर बाँड्ने विषयमा बहस भएको बताइएको छ । जसमा मुख्यमन्त्री बाहेक अन्य ६ मन्त्रालयमा एमालेका २, माओवादीका २ र नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिने विषयमा सहमत भए पनि उन्मुक्तिले भने आफ्नो अडान कायम नै राखेको छ । 

रेशम चौधरीको रिहाइको माग गरिरहेको बेला कैलाली २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उन्मुक्ति सरकारदेखि रुष्ट भएको छ । 

नेपाल सरकारको वार्ता टोली र  थारू संयुक्त  संघर्ष समितिबीच १० वर्ष अघि २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिविपरीत कैलाली २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभाका सांसद चौधरीलाई २०७९ माघ १९ गते प्रहरीले पक्राउ गरेको भन्दै उन्मुक्ति पार्टीले विरोध जनाउदै आएको छ ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा सांसद चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

नागरिक उन्मुक्तिकी अध्यक्ष रंजिता श्रेष्ठ अहिले डिल्ली बजारस्थित कारागारमा रेशम चौधरीसँग छलफलमा छिन् । विश्वासको मत दिने/नदिने छलफलपछि मात्रै टुंगो लाग्ने श्रेष्ठको भनाइ छ ।

यसैबीच विश्वासको मत र पावर शेयरिङको विषयमा छलफल गर्न नागरिक उन्मुक्तिका सात सांसदसमेत रेशम भेट्न कारागार जाँदै छन् । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x