सुदूरपश्चिम

डडेल्धुरामा कृषि र सिँचाइमा गरेका करोडौंको लगानी बालुवामा पानीजस्तै

इकागज |
माघ २३, २०७९ सोमबार १७:४५ बजे

डडेल्धुरा- डडेल्धुरा जिल्लामा उत्पादन बढाउन राज्यले कृषि र सिँचाइमा गरेका करोडौंको लगानी बालुवामा पानीजस्तै प्रतिफलविहीन बनेको छ । वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिँचाइ सुविधा भन्दै जिल्लाका विभिन्न खेतीयोग्य जमिनको सुधार, रोजगारी र उत्पादन वृद्धिका लागि निर्माण गरेका साना सिँचाइ योजनाहरूमा गरेका लगानी बालुवामा पानीजस्तै भएको हो ।

लाखौं रकमका दर्जनौं योजनाहरू स्थानीय किसानहरूले चासो नराख्दा बजेट कटौती हुनुका साथै उपयोगविहीन अवस्थामा रहेका छन् भने निर्माण भएका सिँचाइ पोखरीहरू पनि सञ्चालनमा आएका छैनन् ।


डडेल्धुरा सदरमुकाम आसपासका गाउँमा जंगली जनावरका कारण र कृषिकर्मलाई प्राथमिकतामा नराख्दा गाउँका खेतीयोग्य जग्गा बाँझो रहन थालेका छन् ।

यहाँका कृषकहरूले खेती गर्न छोडेर आर्थिक उपार्जनको वैकल्पिक बाटो अवलम्बन गर्न थालेको अमरगढी ५ सेलागाउँका रामचन्द्र अवस्थीले बताए ।

गाउँमा कृषि गर्ने उचित वातावरण नहुँदा बसोबास पनि अनुकूल व्यवसाय अँगाल्दै सुविधा भएको स्थानमा सरेका कारण गाउँमा रहेका बिजुलीबत्ती, खानेपानी सिँचाइका संरचनाहरू औचित्यहीन प्रमाणित भएको स्थानीय कृषक धर्मराज रोस्यारा बताउँछन् ।

डडेल्धुरा जिल्लामा मात्रै राजनीतिक पहुँच र भनसुनका आधारमा सयौं योजनाहरू प्रदेश सरकारबाट विनियोजन भएर आउँछन् तर कतिपय योजना उपभोक्ता समिति गठनका लागि मात्र कार्यान्वयन भएको देखिँदा योजनाहरू अलपत्र हुने गरेको स्थानीयको भनाइ छ ।

सम्भाव्यता अध्ययनभन्दा पनि पावरको भरमा योजना आउने त्यसपछि काम समयमा नहुने र क्रमागत बजेट पनि विनियोजन नहुने भएकाले पहिलो पटक सञ्चालन भएका योजनाहरू अधुरा रहने जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुराका प्राविधिकको भनाइ छ ।

'जिल्लामा वार्षिक सयौं योजना आउछन् ति मध्ये ६० प्रतिशत मात्र सफल हुने गरेको कार्यालयले जनाएको छ । यसबाहेक अरू योजनाहरू पानी नै सञ्चालन नभएकाले जीर्ण र खण्डहर बन्दै गइरहेका छन् यसतर्फ राज्यका बजेट दिन कामको प्रतिफल नचाहने निकायको ध्यान जानुपर्छ,' स्थानीय किसानहरूले भने ।   

संघीय, प्रदेश र स्थानीय सरकारबाट सिँचाइ सुविधाका लागि बजेट विनियोजन गराउने तर काम नगर्ने प्रवृत्ति डडेल्धुरामा बढ्दै गइरहेकाले राज्यले योजना मागको आवश्यकतालाई सम्भाव्यता पूर्व अध्ययन, विश्लेषण र कार्य सञ्चालन गर्नुपर्ने अपरिहार्य देखिएको छ ।


Author

थप समाचार
x