सुदूरपश्चिम

पश्चिम तराईमा माघीको रौनक

दीपक उपाध्याय |
पुस २७, २०७९ बुधबार ८:२२ बजे

कैलाली- थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै पश्चिम तराईमा थारु समुदाय तयारीमा जुटेको छ । 

माघीका लागि थारु समुदायले धान कुटाउने, पिठो पिसाउने, तरुल खन्ने, ढिक्रि र जाँड बनाउने तथा सुंगुर खोज्ने काममा हरेक थारु गाउँमा जुटिसकेका छन् । साथै खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा संकलन गर्ने, तेल पेल्ने, घर लिपपोत तथा रंगरोगन गर्ने, आँगन सरसफाइलगायत काममा थारु समुदाय यतिबेला व्यस्त छ ।


धनगढी उपमहानगरपालिका–८ का थारु अगुवा प्रभात चौधरीले माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व भएको बताए । उनले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गरेको बताउँदै यसको तयारीको लागि पुरै थारु समुदाय जुटेको बताए ।  

माघीका लागि परिवारका सदस्यका लागि नयाँनयाँ लुगा किनमेल गर्ने, बंगुर, कुखुरा, घोंगी, माछालगायतका परिकारका लागि तयारी गर्न थालेको अर्का थारु अगुवा (भलमन्सा) सरोज चौधरीले बताए । 

रोजगारीका लागि घर बाहिरिएका परिवारका सदस्य यतिबेला पर्व मनाउन घर फर्कन थालेका छन् । माघीमा पाहुना धेरै जम्मा हुने भन्दै पाहुँनाका लागि खानाका विभिन्न परिकारहरू अहिलेदेखि नै बनाउने तयारीमा पुरै परिवार जुटेको भनमन्सा चौधरीले बताए ।

पुसलाई बिदाइ गर्दै माघ १ गतेलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने, माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुस महिनाको अन्तिम दिन जिता मार्ने (बङ्गुर काट्ने) चलन छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको थारु कल्याणकारी सभा कैलालीका कार्यवाहक सभापति माधव चौधरीले बताए । उनले यहिबेला गाउँमा नयाँ नेता अर्थात भलमन्सा चुन्ने भएकाले त्यसको समेत तयारी थारु समुदाय जुटेको बताए ।

माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गइ नुवाइधुवाइ गरी घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने गरिन्छ । त्यसपछि आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिँदै प्रसाद ग्रहण गर्ने चलन रहि आएको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x