सुदूरपश्चिम

आकांक्षी नेताहरू काठमाडौँ केन्द्रित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आ-आफ्नै दाबी

दीपक उपाध्याय |
मंसिर २०, २०७९ मंगलबार १०:३६ बजे

कैलाली - सुदूरपश्चिम सरकारको नेतृत्वका लागि प्रदेश सभा सदस्यहरूले आ–आफ्नो दाबी गरिरहेका छन् । प्रदेशमा सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) पार्टीका सदस्यहरूले मुख्यमन्त्रीका लागि आ–आफ्नो दाबी गरिरहेका छन् । उनीहरूले दलको नेतासँगै प्रदेशको नेतृत्व दिन केन्द्रीय नेतृत्वसँग आग्रहसमेत गरिरहेका छन् ।

उसो त नेकपा माओवादीले चुनावअघि गठबन्धनसँगको वाचाअनुसार प्रदेशको मुख्यमन्त्री आफूहरूले नै पाउने दाबी गरिरहेको छ । डडेल्धुराबाट विजयी माओवादीका नेता खगराज भट्टले सहमतिअनुसार आफूनै मुख्यमन्त्री हुने दाबी गरे । उनले मुख्यमन्त्रीकै लागि आफू प्रतिनिधि सभा छाडेर प्रदेशमा चुनाव लडेको बताए ।


त्यस्तै समाजवादीबाट प्रदेश सभामा विजयी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको मुख्यमन्त्रीमा आफू पनि आकांक्षी रहेको बताए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरूलाई भेटेर आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन पहल गर्न आग्रहसमेत गरिसकेको बताए । उनले यहीँ गठबन्धनको सरकारलाई अगाडि बढाउने सहमतिसमेत भैसकेका कारण शीर्ष नेताहरूले कस्तो निर्णय लिन्छन् त्यही अनुसार अगाडि बढ्ने बताए । 

दलको नेताले प्रदेश सभा तथा प्रदेश सरकारको नेतृत्व गर्ने परिपाटी छ । त्यसैले प्रदेश सभामा विजयी मुख्यमन्त्रीका आकांक्षी नेताहरू यतिबेला काठमाडौँ केन्द्रित भएका छन् । उनीहरूले दलको नेतासँगै प्रदेश सरकारको नेतृत्व पनि मागिरहेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली कांग्रेसका नेता बहादुरसिंह थापा पनि यतिबेला काठमाडौँमा छन् । उनले गठबन्धनको निर्णय नै अन्तिम हुने बताउँदै यदि कांग्रेसले मुख्यमन्त्री पाउने भए आफू नै त्यसको दाबेदार रहेको बताए । उनले दलको नेताका लागि आफू सबैभन्दा सिनियर रहेकोले त्यसमा कुनै शंका नरहेको बताए ।

तर, युवाहरूमाझ निकै लोकप्रिय रहेका कैलाली क्षेत्र नम्बर ५ क बाट विजयी नेपाली कांग्रेसका प्रकाशबहादुर देउवालाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाउन युवाहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् । उनीहरूले अघिल्लो पाँच वर्ष माओवादीले मुख्मन्त्री पाएको बताउँदै अब नेपाली कांग्रेसले पाउनु पर्ने र त्यसमा पनि प्रकाशलाई नै मुख्यमन्त्री बनाउनु पर्ने बताइरहेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ । प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । मत परिणम अनुसार प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको छ । उसको प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरेर १९ सिट रहेको छ । त्यस्तै माओवादीले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट हासिल गरेको छ । 

त्यस्तै एमालेको प्रत्यक्षमा ३ र समानुपातिकमा ७ सिट र एककृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सिट हासिल गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिममा गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने देखिएको हो । 

 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x