सुदूरपश्चिम

कञ्चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

इकागज |
असोज ९, २०७९ आइतबार २०:३० बजे

दोधारा चाँदनी- कञ्चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए । 'सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्ध भएन, बिरामीको चाप बढ्दैछ,' उनले भने, 'अहिले अस्पताल आफँैले किट खरिद गर्ने र परीक्षण गरेको बिरामीबाट शुल्क लिने निर्णय गरेको छ ।'


उनले अस्पतालमा डेंगुका बिरामी बढेको बताए । प्रदेश सरकारसँग किट माग गरे पनि ३०/४० वटा मात्रै पठाउने र त्यसले एक दिनसमेत नपुग्ने उनले बताए । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको उल्लेख गरे । 'जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, हामीसँग पर्याप्त किट छैन,' उनले भने, 'स्वास्थ्य कार्यालयबाट करिब चार सय किट नौवटै पालिकामा पठाउने काम भइरहेको छ ।' 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा सङ्क्रमण देखिएको छ । पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा तीन, कृष्णपुर, बेलौरी र लालझाडीमा दुई/दुई र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा सङ्क्रमण देखिएको छ ।

दोधारा चाँदनी नगरपालिकामा सङ्क्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र आठजना काठमाडौँबाट फर्केका रहेका छन् ।


Author

थप समाचार
x