सुदूरपश्चिम

गेटाका बारेमा सरकार अझै मौन

इकागज |
साउन ३०, २०७९ सोमबार २०:१९ बजे

फाइल तस्बिर

धनगढी- असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे । लामो समय देखि अन्योलमा परेको मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने प्रधानमन्त्रीको घोषणा पछि केही आशावादी बनेका सुदूरपश्चिमेली फेरि निरास बन्न थालेका छन् ।

धनगढी उप-महानगरपालिकाको नव निर्मित भवन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री देउवाले आफू काठमाडौँ जाने वित्तिकै संसदबाट स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रकृया अघि बढाउने घोषणा गरेका थिए । तर दुई महिना सम्म पनि प्रधानमन्त्री देउवाले गेटाका विषयमा कुनै निर्णय नगरेपछि यहाँका नागरिक फेरी निरास बन्न थालेका हुन् ।


‘प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै गेटाका बारेमा तत्काल निर्णय गर्नेछु भनी घोषणा गरेपछि अव सेवा सुचारु हुने भो भन्ने आशा पलाएको थियो,’ धनगढी-१३ का हरी रावलले भने, ‘तर हाल सम्म पनि गेटाका बारेमा कुनै निर्णय नहुँदा गेटाको भविष्य अन्याेलमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ, सार्वजनिक रुपमै भाषण गर्नुभएका प्रधानमन्त्री आफ्नै भाषण विसिर्नुभयो की भन्ने लाग्न थालेको छ ।’

उनले सुदूरपश्चिमेलीलाई केन्द्रले सधै ठग्दै आएको आरोप लगाए । ‘हाम्रै क्षेत्रका प्रधानमन्त्रीले गेटाका बारेमा एक-दुई दिनमै निर्णय गर्छु भनेर सार्वजनिक रुपमै घोषणा गरेपछि केही आसा जागेको थियो,’ उनले भने, ‘गेटामा सेवा सञ्चालन हुँदा यहाँको व्यापार व्यवसाय पनि बढ्ने आस पनि थियो, तर अहिले प्रधानमन्त्री ज्यूले नै ठगेजस्तो अनुभूति भइरहेको छ ।’

सोही ठाउँका अर्का स्थानीय केशव चन्दले प्रधानमन्त्रीको घोषणा पछि गेटामा सेवा सुचारु हुने आशा गरिएकोमा दुई महिना सम्म कुनै निर्णय नहुँदा आशा मर्न थालेको बताए । ‘उहाँले एक-दुई दिनमै गेटामा सेवा सुचारु गर्ने गरी मन्त्री परिषदबाट निर्णय गर्छु भन्नुभएको आज दुई महिना पुग्न लागेको छ,’ चन्दले भने, ‘यस बीचमा ४-५ पटक मन्त्रिपरिषदको बैठक बसेको समाचार पनि आइसकेका छन्, तर गेटाका बारेमा आवाज समेत उठाएको सुनिँदैन, प्रधानमन्त्रीको प्राथमिकतामा गेटा मेडिकल कलेज नपरेको हो की भन्ने अनुभूति भइरहेको छ ।’ सुदूरपश्चिमबाट चुनाव जितेर ५ पटक प्रधानमन्त्री भएपनि देउवाले यस क्षेत्रका लागि राम्रो काम गर्न नसकेको उनको आरोप छ । गेटाका बारेमा उचित निर्णय गरेर प्रधानमन्त्री देउवालाई यहाँका जनताको मन जित्ने राम्रो अवसर भएको उनको भनाई छ ।

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले गेटामा कसरी सेवा सञ्चालन गर्ने भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको बताए । मेडिकल प्रतिष्ठान बनाउने विषयमा अझै पनि छलफल भइरहेको र सो फाइल अर्थ र कानून मन्त्रालयमा रहेको खबर आएपनि त्यसबाहेक अन्य प्रगतिका बारेमा आफुलाई जानकारी नभएको पुजारा बताउँछन् । 

गेटामा मेडिकल कलेज र अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ । सरकारले गत असारमा नै मेडिकल कलेज अस्पताल निर्देशकका रुपमा डाक्टर प्रमोद जोशीलाई नियुक्त समेत गरेको छ । त्यस बाहेक अस्पताल सञ्चालनका लागि कुनै प्रक्रिया भने अगाडी नबढेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गेटामा अहिले विद्युत विस्तारको काम अन्तिम चरणमा पुगेको र खानेपानीको लागि ठेक्का प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री गम्भीर हुनुहुन्छ  : सामाजिक विकास मन्त्री बोहरा

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहराले भने गेटा मेडिकल कलेजलाई तत्काल स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाएर सेवा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री गम्भिर रहेको बताएका छन् ।

सेती प्रादेशिक अस्पताल स्तरोन्नतीको माग गर्दै काठमाण्डौं पुगेका मन्त्री बोहराले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटका क्रममा गेटाका विषयमा पनि कुरा उठेको बताउँदै मन्त्री बोहराले भने, ‘यस विषयमा प्रधानमन्त्री ज्यू गम्भिर रहेको पाए, केही भौतिक तथा प्राविधिक काम सम्पन्न नभएका कारण सेवा सुचारु गर्न नसकिएको उहाँको भनाई थियो, प्राविधिक काम सम्पन्न भए छिट्टै गेटामा सेवा सुचारु गर्ने कुरामा म लागेको छु भनेर प्रधानमन्त्री ज्यूले भन्नु भएको छ ।’

मन्त्री बोहराले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेटिङ भइसकेको र सेवा सञ्चालनका लागि निर्णय गर्ने तयारी भइरहेको जानकारी भएको बताए । उनले सेती प्रादेशिक अस्पताललाई पनि ५ सय शैयाको बनाउने गरी संघ संग अनुमति माग्न आफु काठमाण्डौं पुगेको बताए । प्रदेश सरकारले दुई सय शय्याको अस्पताल मात्रै बनाउन पाउने अधिकार रहेको बताउँदै मन्त्री बोहराले सेतीमा ५ सय शय्याको अस्पताल बनाउने प्रदेशको योजना रहेकाले संघीय सरकारसंग त्यसको अनुमति माग गरिएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्याको अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । न्युज कारखाना


Author

थप समाचार
x