सुदूरपश्चिम

आइतबार कञ्चनपुरका दुई पालिकामा बिदा

इकागज |
साउन १४, २०७९ शनिबार २०:२६ बजे

फाइल फोटो

कन्चनपुर - राना थारू समुदायको तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ (आइतबार) गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बेलौरी नगरपालिकाको नवौँ नगरसभाको निर्णयानुसार राना थारू समुदायका तीजपर्वका लागि नगरपालिका मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको नगरप्रमुख पोतिलाल चौधरीले बताए । शुक्लाफाँटा नगरपालिका मातहतका कार्यालयमा कार्यरत राना थारू समुदायका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । 


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टका अनुसार नगरप्रमुखस्तरीय निर्णयबाट राना थारू समुदायका कर्मचारीलाई एक दिन बिदा दिने निर्णय गरिएको छ । राना थारू समुदायका दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाउने गर्दछन् । यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ) खेल्ने चलन छ ।

तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदछन् ।
रासस


Author

थप समाचार
x