सुदूरपश्चिम

ग्रामीण सडक सञ्‍चालन नहुँदा खाद्यान्‍न अभावको संकेत

इकागज |
साउन ९, २०७९ सोमबार १८:२५ बजे

फाइल तस्बिर

बैतडी- वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्‍चालनमा हुन नसक्दा खाद्यान्‍न अभाव हुने संकेत देखिएको छ । लगातारको  वर्षाका कारण सडक हिलाम्मे भएका र बेलाबेलामा खस्ने पहिराेका कारण सवारी साधन सञ्‍चालनमा समस्या हुँदा ग्रामीण क्षेत्रमा खाद्यान्‍न अभाव हुने अवस्था सिर्जना भएको हो ।  

जिल्लाको ढोल्यामोड- हाट, पाटन- पञ्चेश्वर, दुदिलाखान-गाँजरी, सिल्लेगडा-कटौजपानी, देहीमाण्डौँ-गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ । यस्तै सिल्लेगडा-कटौजपानी, सतबाँझ-सुर्नया, अनारखोली-कैलपाल, सदरमुकाम-सेरा, खोचलेक-सित्तड, रिमलगायत सडकमा सवारीसाधन चलाउन निकै समस्या छ । ग्रामीण सडक सुधार हुन नसक्दा वर्षातकाे समयमा जोखिम मोलेर पनि यात्रा गर्नुपर्ने बाध्यता रहेको दोगडाकेदार गाउँपालिका-८ का लोकेश विष्टले बताए । उनले भने,'नियमित रुपमा गाडी सञ्‍चालन हुँदैनन्, यसले ग्रामीण क्षेत्रमा खाद्यान्‍न अभाव हुन थालेको छ ।'


यस्तै पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड-हाट सडक हिलाम्ये हुँदा यातायातका साधन सञ्‍चालनमा कठिनाइ भएको छ । ढोल्यामोडदेखि हाटसम्मको सडकको ठाउँठाउँमा पहिरो खस्दा जीप तथा बस सञ्‍चालनमा समस्या भएको स्थानीय लालबहादुर भण्डारीले बताए । उनले भने, 'सडक हिलाम्ये हुँदा गाडी फस्ने र यात्रुहरुले धकेलेर निकाल्नुपर्ने अवस्था छ यसले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।' 

ढोल्यामोड-हाट सडक पुर्चौंडी नगरपालिका जोड्ने मुख्य सडक समयमै स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । जिल्लाको सतबाँझ-श्रीभावर-हाट सडकलाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखिए पनि स्तरोन्नति सुस्त गतिमा रहेको छ । सो सडकको दुई ठाउँबाट स्तरोन्नति भइरहेको छ । 

सडकभर पहिरो, हिलो र खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन पनि समस्या भएको सम्बद्ध चालकले बताए  । कच्ची सडकमा ठूलाठूला खाल्डाखुल्डी र ठाउँ ठाउँमा पहिरो जाने गरेकाले सवारी सञ्‍चालनमा समस्या हुने गरेको जीप चालक वीरेन्द्र महताले बताए । वर्षात्को समयमा ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै ग्रामीण क्षेत्रमा खाद्यान्‍न अभाव हुन थालेको हो । रासस


Author

थप समाचार
x