सुदूरपश्चिम

कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

इकागज |
असार २८, २०७९ मंगलबार २०:३४ बजे

कञ्चनपुर- कञ्चनपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरेका हुन् । 

घोषणा कार्यक्रममा उनले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको बताए । स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको उनको भनाइ थियो । 


शहरदेखि ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि स्वास्थ्य संस्थाको स्तरोन्नतिदेखि भौतिक पूर्वाधार निर्माण, आवश्यक औजार, उपकरण र औषधिको पहुँच सुनिश्चित गरिएको उनले बताए । जिल्लामा रहेका अस्पतालको स्तर वृद्धिमा समेत जोड दिइएको उनको भनाइ थियो ।      

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत वर्षदेखि नै जिल्लालाई पूर्ण खोप सुनिश्चितताका लागि कार्य अगाडि बढाइए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण घोषणा कार्यक्रम हुन नसकेको बताए ।

बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको उनले उल्लेख गरे । 'जिल्लाका नौवटै पालिकामा रहेका बालबालिकाले पूर्ण खोप पाएका छन्,' उनले भने, 'सबै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका छौँ ।'

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका आठ हजार बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखसमेत रहेका जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहराको अध्यक्षतामा पूर्ण खोप सुुनिश्चितता तथा दीगोपना घोषणा गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीसहितको सहभागिता रहेको थियो । रासस


Author

थप समाचार
x