सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक स्थगित

इकागज |
असार २७, २०७९ सोमवार ११:१ बजे

फाइल तस्बिर

कैलाली - बजेट माथिको छलफलका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सहमति जुट्न नसकेपछि पाँचौ पटक समेत स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएको हो । यस अघि असार ८, १२, १६ र २६ गते प्रदेश सभा बैठक स्थगित भएको थियो ।

असार १ गते प्रदेश सभामा पेस भएको आगामी आर्थिक वर्षको बजेट परिष्कृत नगर्दासम्म त्यसमाथि छलफल हुन नसक्ने अडान सत्ता पक्ष र प्रतिपक्षले राखेपछि निरन्तर संसद् स्थगित गरिएको हो ।


प्रदेश सभाका सत्तापक्षका केही सांसद र प्रतिपक्षका सांसद यथास्थितिमा बजेट पारित गर्न नदिने मुडमा छन् भने सरकारले बजेट पारित गर्न दबाब दिइरहेको छ । आज बिहान ८ बजेसम्म सहमति गर्ने र ११ बजे संसद् सुरु गर्ने तयारी गरिएको भए पनि सहमति हुन नसकेपछि बैठक सारिएको हो ।

८ बजे बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिक्षका सांसदहरूले पुरानै अडान लिएकाका कारण बैठकनै बस्न नसकेको हो । 

यस अघि माओवादी केन्द्रका मन्त्री उपस्थित भएको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावल र सांसद विरभान चौधरीले अहिलेकै अवस्थामा बजेट माथिको छलफल हुन नसक्ने बताएका थिए 

मन्त्री र सांसद्‍बीच सहमति नभएपछि आ–आफ्नो संसदीय दलबाट यसको निकास दिने भन्दै बैठक ३ बजे सम्मका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।


Author

थप समाचार
x