सुदूरपश्चिम

विकास योजनामा विचौलियाको सेटिङ भन्दै प्रदेश सभामा हंगामा

इकागज |
असार ८, २०७९ बुधबार १९:२९ बजे

कैलाली- सुदूरपश्‍चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छ्लफलको विषय प्रदेश सभामा प्रवेश नगर्दै विवादित भएको छ । बजेटको विषयलाई लिएर आज प्रदेश सभामा हंगामा मच्‍चिएको छ । 

प्रदेश सरकारले ल्याएको बजेटमा जथाभावी योजनाहरू बाँडेको भन्दै प्रदेश सभामा सांसदहरूले असन्तुष्टि जनाएका छन् ।


प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक योजनामन्त्री दिर्घ सोडारी र अर्थमन्त्री प्रकाश रावलको सेटिङमा बजेट आएको भन्दै सत्तारुढ दलहरूभित्रै चर्को असन्तुष्टि बढेको हो । 

अर्थमन्त्री रावलले ल्याएको बजेटमा प्रभावशाली मन्त्री र सांसदहरूको मात्र योजना समेटिएको, आर्थिक सुशासन विपरीतका गतिविधिहरू भएको भन्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले असन्तुष्टि जनाउँदै संसद् बैठक चल्न दिएनन् ।

उनीहरूले वार्षिक विकास कार्यक्रम पुस्तिका (रातो किताब) मा थुप्रै त्रुटि भएको र विकास योजना विचौलियाको सेटिङमा राख्‍ने काम भएको भन्दै विरोध जनाएका थिए ।

प्रदेश सभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको थियो । प्रदेश सभाको अर्को बैठक असार १२ गते बुधबार बस्‍ने भएको छ ।


Author

थप समाचार
x