कर्णाली

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक : दुई पालिकामा एमाले, एउटामा माओवादी

लक्ष्मी भण्डारी |
जेठ २, २०७९ सोमबार ८:२९ बजे

सुर्खेत- दैलेखका  तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा पालिकाको नतिजा आइतबार विहान सार्वजनिक भएको हो । जसमा दुई वटा पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् भने एउटा पालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी तीन हजार चार सय ६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नगेन्द्रबहादुर मल्ल तीन हजार तीन सय ३६ मत ल्याएका थिए । मल्ल उक्त पालिकाका निर्वतमान अध्यक्ष हुन् ।


उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भइन् । उनले तीन हजार पाँच सय ७७ मत ल्याउँदा नेपाली कांग्रेसकी एलिजाकुमारी थापाले तीन हजार एक सय ५२ मत प्राप्त गरिन् । एमालेले वडा नं. ३, ४, ५, र ६ को अध्यक्ष जितेको छ ।

त्यसैगरी दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेबाट टोप बहादुर बिसी विजयी भएका छन् । उनले चार हजार एक सय २० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज वलीले तीन हजार तीन सय ७५ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका कृष्ण पाण्डेले ७६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शिवा कुमारी खड्काले चार हजार एक सय २५ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपा बिसीले तीन हजार पाँच सय ४७ मत प्राप्त गर्दा माओवादीका कुसुम शाहीले ९३ मत प्राप्त गरिन् ।

यस्तै आइतबार बिहान सार्वजनिक भएको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार छविराम सुवेदी विजयी भएका छन् । उनले ३ हजार २ सय मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भदे बुढा मगरले २५४४ मत ल्याएका थिए ।


Author

थप समाचार
x