कर्णाली

सहकारीमार्फत चौपायाको व्यवस्थापन गरिदै

इकागज |
माघ १४, २०७८ शुक्रवार १२:१३ बजे

छाडा पशु व्यवस्थापनको लागि सहकारी दर्ता गरी प्रमाणपत्र लिदै कर्णाली स्वयंसेवक दलका युवाहरू । तस्विर/लक्ष्मी भण्डारी

सुर्खेत–कर्णाली स्वयंसेवक दलमा आबद्ध सुर्खेतका युवाहरू सहकारीमार्फत छाडा पशुहरूको व्यवस्थापनमा लागेका छन् । ‘सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्था’ दर्ता गरेर सडकमा छाडिएका चौपायाको व्यवस्थापन गर्ने कसरतमा युवाहरू जुटेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा रहेका छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्य राखेर ताराकेशर पौडेलको अध्यक्षतामा उनीहरूले सहकारी नै दर्ता गरेका छन् ।

कानुनी रुपमा सहकारी दर्ता गरेका उनीहरूले अब छिट्टै सहकारी सञ्चालन गर्ने र नगर क्षेत्रमा रहेका छाडा चौपायाको व्यवस्थापन गर्ने तयारीमा छन् । वीरेन्द्रनगर वडा नं. ७ मा कार्यालय स्थापना गरेर सहकारी सञ्चालनमा गर्ने र कुनै सामुदायिक वनमा गौशाला बनाएर चौपायाको व्यवस्थापन गर्ने तयारी भइरहेको सहकारीका उपाध्यक्ष प्रवाशकुमार शाक्यले जानकारी दिए ।


चौपाया व्यवस्थापनका लागि उनीहरुले सामुदायिक वनसँग समन्वय र स्थलहरुको सम्भाव्यता अध्ययन गरिरहेका छन् । सामुदायिक वनको कुनै कुनामा व्यवस्थित रुपले पशुपालन गर्ने सहकारीको उद्देश्य छ । गौशालाका लागि उनीहरुले पूर्वको भेरी नदी किनार नजिकै र पश्चिमको रानीघाट नजिकको जंगलहरु उपयुक्त भएको निष्कर्ष निकालेका छन् । दुबै क्षेत्रमा जंगलको केही भाग खाली छ । बोटबिरुवा नभएको र नदी किनार नजिकैको गौलाशा बनाउने सहकारीको योजना छ । तत्काल पशुचौपायालाई सुरक्षित रुपामा पाल्ने र पछि दुध तथा मलमुत्र बिक्री वितरण गर्ने सहकारीको उद्देश्य रहेको शाक्यले बताए ।
छाडा चौपायाको व्यवस्थापन भएमा नगर क्षेत्रमा हुने आधा गाडी दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको अपेक्षा छ । सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले चौपाया व्यवस्थापन भए आधा जति दुर्घटना न्युनीकरण हुने बताउँछन् ।


Author

थप समाचार
x