कर्णाली

यस्ताे छ कर्णाली सरकारकाे नीति तथा कार्यक्रम

कृषि, पर्यटन, स्वास्थ्य र रोजगारलाई विशेष जोड

इकागज |
जेठ २१, २०८० आइतवार १९:४४ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेश प्रमुख परियारले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य र रोजगारलाई विशेष जोड दिइएको छ ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको उक्त नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमहरू दोहोरिएका छन् । कतिपय पुरानै कार्यक्रमलाई परिमार्जन गरिएका पनि छन् । कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्यअनुरूप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए । 


कर्णाली सरकारले ल्याएको नीति तथा कार्यक्रममा वन तथा कृषिमा आधारित मझौला तथा साना उद्योगलाई ब्याज उपलब्ध गराउने नीति लागू गरिने उल्लेख छ । यस्तै तीन तारे होटेल निर्माण गरेमा सरकारले त्यहाँसम्म पुर्याउने पूर्वाधारको विकास गरिदिने भएको छ ।

कर्णाली सरकारले वीरेन्द्रनगर सहरको विकासका लागि मंगलगढी चोकमा आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययन गरिनेदेखि आवश्यक परेको ठाउँमा झोलुङ्गे पुल निर्माण कार्य समेत गरिने नीति लिइएको छ । सुर्खेत विमानस्थललाई विस्तार गरिनुका साथै बाल सुधार गृह स्थापना गर्ने बताएको छ । खेलकुदको क्षेत्रमा १० औँ खेलकुद राष्ट्रिय प्रतियोगिता आयोजनालाई लक्षित गर्दै पूर्वाधार विकास र पाँच ‘प’ को रणनीति अपनाएको छ ।

यस्तै विगतदेखि कार्यान्वयनमा रहेका ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरको’ मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार लगायतका कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई अर्गानिक प्रदेशका रूपमा विकास गरिने बताइएको छ । साथै प्राङ्गारिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने परियारले बताए । यस्तै एक जिल्ला एक उद्योग ग्राम स्थापना गरिने प्रावधान लागू गरिने छ, यसअघिकै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।  पर्यटन क्षेत्रलाई लक्षित गर्दै रारा, से-फोक्सुन्डो, पञ्चकोशी, पचालझरना लगायतका महत्त्वपूर्ण पर्यटकीय स्थलमा होमस्टेको योजना लागू गरिने प्रदेश प्रमुख परियारले बताए ।

कृषि तथा पशु प्रविधिलाई कृषकलाई कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणा अनुसार मूल्यवान लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ, र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमको निरन्तरता दिइएको छ । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेशको योजनालाई निरन्तरता दिएको छ ।  कृषि अभियानलाई सफल पार्न स्थानीय तहको सह लगानीमा मल उत्पादन कारखाना स्थापना गरिने छ भने पशुपन्क्षी विशेष क्षेत्र तोक्ने, कृषकलाई कलस्टरगत खेती तथा प्रोत्साहित गरिने योजना रहेको प्रदेश प्रमुख परियारले जानकारी दिए ।

नीतिमा बैङ्क तथा वित्तीय संस्थाबाट दिएको कर्जालाई भूमिहीन, सीमान्तकृत कृषकलाई प्रोत्साहन गर्न लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यस्तै वैदेशिक रोजगारबाट फर्किएकालाई ज्ञान, सीप प्रविधि र वित्तीय पहुँचसहितको कार्यक्रममा प्रोत्साहन गरिने प्रदेश प्रमुख परियारले बताए । 

यस्ता छन् सामाजिक रूपान्तरकारी योजना

कर्णाली प्रदेशमा सामाजिक रूपान्तरण कार्यक्रम अभियान सञ्चालन गरिने भएको छ । सामाजिक रूपान्तरणमा उल्लेखनीय काम गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने र वालविवाहमुक्त, लैंगिकमैत्री स्थानीय तह घोषणाका लागि वडा तहमा समन्वय सहकार्य गरिने जनाइएको छ । बालविवाह, बहुविवाह, बोक्सी प्रथा, मानव बेचबिखन जस्ता सामाजिक विकृतिका विरुद्ध टोलस्तरीय सामाजिक रूपान्तरण समिति गठन गरी प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रम अभियान सञ्चालन गरिने बताइएको छ ।

युवालाई प्रोत्साहनका लागि आवश्यक तालिम दिई परिचालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रम ल्याइएको छ । बालविज्ञानमा संलग्न बालबालिकाका लागि बालसुधार गृह स्थापना गरिने घोषणा गरिएको छ ।

हलियामुक्त र सुकुम्बासीको समस्या समाधानका लागि पहल गरिने । स्थानीय तहको सहकार्यमा वृद्धाश्रम सञ्चालनमा गरिने सहयोग र सहकार्य निरन्तरता दिनुका साथै ‘देश दर्शन’को कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यसैगरी अपाङ्गता भएका नागरिकको सहज जीवनयापनका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा पहुँच वृद्धि गर्न प्राथमिकता दिइने नीतिमा उल्लेख छ । यस्तै धार्मिक परम्परा अनुसार सुर्खेतमा विद्युतीय शवदाह गृह स्थापना गर्ने व्यवस्था मिलाइने बताइएको छ ।


 


Author

थप समाचार
x