कर्णाली

किन भयो कर्णालीको सदनमा चर्काचर्की ?

इकागज |
जेठ १३, २०८० शनिबार १२:४ बजे

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा आयोजना हुने अभिनन्दन कार्यक्रम अन्तर्गत शनिबार सुर्खेत आउन लागेका छन् । अभिनन्दन कार्यक्रमका लागि विमानस्थल तथा वीरेन्द्रनगरको मुख्य चोकहरुमा राजाको तस्वीरले सजिसजाउ पारिएको छ । उनको कार्यक्रमको विषयलाई लिएर कर्णालीमा चर्काचर्की सुरु भएको छ ।

यता सदनमा राजतन्त्रवादी र गणतन्त्रवादीबीच सदनमा चर्काचर्की चल्यो । बजेट अधिवेशनको शुक्रबार बसेको दोस्रो बैठकमा राप्रपाका सांसद सन्तोषी शाहीले पूर्वराजाको सुर्खेत सवारीको विषयलाई लिएर संसद्लाई जानकारी गराइन् । उनले सदनमा श्री ५ बडामहाराजधिराज सरकार भन्नेवित्तिकै सदनमा अन्य सांसदहरु उठेर विरोध जनाउन थाले । ‘राप्रपाको तर्फबाट शनिबार वीरेन्द्रनगरमा सवारी हुन लाग्नुभएका श्री ५ बडामहाराजाधिराज सरकार ज्ञानेन्द्र वीर विक्रम शाहदेव लगायत मौसुफको भ्रमण टोलीलाई कर्णालीवासीको तर्फबाट स्वागत गर्न चाहन्छु’ भनेर  सांसद शाहीले सम्बोधन गरिन् ।


उनी बोलिरहेकै अवस्था नेकपा माओवादी सांसद एवं पूर्वमन्त्री विन्दमान विष्टले आपत्ति जनाए । बसिरहेकै स्थानबाट विष्टले टेबल ठोकेपछि सांसद शाही रोकिइन् । विष्टले सांसद शाहीले बोलेका उक्त शब्दहरू संसद्को रेकर्डबाट हटाउन समेत माग गरेका थिए । 

अघिल्लो दिन अर्थमन्त्री बेदराज सिंहले प्रस्तुत गरेको बजेटका नीति, सिद्धान्त र उद्देश्यबारे छलफल कार्यक्रम रहे पनि सांसद शाहीले पूर्वराजाबारे विषय उठान गरेपछि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी सांसदहरूले विरोध गरे ।

गणतन्त्र पक्षधर सांसदहरूले लबीबाट उठेर हङ्गामा मच्चाए। सांसदहरूले राप्रपा सांसदलाई बोल्न रोक्नुपर्ने आवाज उठाए । त्यसैगरी काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नियमावली मिचेर राप्रपा सांसदलाई बोल्न दिएको विषयप्रति थियो । संसद्को परम्परा बिग्रिँदै गएको भन्दै उनले आपत्ति जनाए । ‘कसैले आस्था राख्न पाइने भए पनि यो संसदभित्र संसद्को मर्यादामा रहेर राख्नुपर्छ,’ शाहीले प्रश्न गरे ‘यो सदन कतातिर जाँदैछ ?’


 


Author

थप समाचार
x