कर्णाली

पूर्व राजा ज्ञानेन्द्रलाई सुर्खेतमा अभिनन्दन गरिने

इकागज |
जेठ १२, २०८० शुक्रबार १४:५ बजे

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार सुर्खेत आउने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने अभिनन्दन कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह सुर्खेत आउन लागेका हुन् । 

शनिबार दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिकहरुकाबाट अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । कार्यक्रममा शाह सहभागी भएपछि स्वागत मन्तव्य राख्ने र गिरीले राजालाई अभिनन्दन पत्र प्रदान गर्ने कार्य तालिका पनि रहेको छ । त्यसपछि संघसंस्थाले अभिनन्दन गर्नेछन् । कार्यक्रममा पूर्व राजा शाहले सम्बोन्धन गर्ने कार्यतालिका समेत रहेको संयोजक गिरीले बताए ।


नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरु पनि सुर्खेत आउने कार्यक्रम रहेकोे छ । राप्रपाका नेता एंव नागरिक अभिनन्दन मुल समारोह समितिका संयोजक गिरीले सुर्खेतको विकासमा स्वर्गीय राजा वीरेन्द्रको महत्वपूर्ण योगदान रहेकोले नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए । 

सुर्खेतको वीरेन्द्रनगरको स्वरुपको खाका स्वर्र्गीय राजा वीरेन्द्रले बनाएको र राजाको योगदानको कदर गर्दै नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गर्न लागिएको राप्रपा नेता गिरीले बताए । 

‘सुर्खेतको अहिलेको जुन अवस्था छ । यो अवस्था निर्माण गर्नका लागि स्वर्गीय राजा वीरेन्द्रले २०२९ सालमा सुर्खेतमा पहिलो पटक सवारी भएर वीरेन्द्रनगरको एउटा खाका बनाउनुभएको थियो’ गिरीले भने, 

‘खाका निर्माण गर्ने क्रममा राजाका तीनैजना दाजुभाइहरुको योगदान देखेका थियांै । र यही महत्वपूर्ण योगदानका कारणले पनि सुर्खेतमा राजाको नागरिक अभिनन्दन गर्न लागिएको हो ।’

यस्तै २०६२ सालमा राजा ज्ञानेन्द्र सुर्खेत आउँदा वीरेन्द्रनगरका तत्कालीन मेयर समेत रहेका गिरीले मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालयहरु नेपालगन्जबाट सुर्खेत सार्न, सुर्खेतको कालागाउँमा क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल)को निमार्ण कार्य सुरु गर्न र तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको हिमाली जिल्लाका जडिबुटीहरु सुर्खेत ल्याएर भण्डारण र प्रशोधन गर्ने केन्द्र बनाउन गरेको अनुरोध पूरा गरेको पनि गिरीले बताए ।


Author

थप समाचार
x