कर्णाली

कर्णालीका सांसदहरूले भने : ‘कार्यान्वयनमा जाने बजेट ल्याइयोस्’

इकागज |
जेठ १०, २०८० बुधवार १८:५६ बजे

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकार व्यवस्था गरेको बाटोभन्दा फरक तरिकाले हिँडिरहेको टिप्पणी गरेका छन् । 
प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएपनि प्रदेश सरकारको प्राथमिकतामा राजधानीको विकास नभएको टिप्पणी गरे । आगामी आर्थिक वर्षमा थोरै तर, कार्यान्वयनमा जाने योजना बनाउनुपर्ने उनको भनाइ थियो । 

नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाहीले अहिले पनि कर्णाली प्रदेशको लागि भौतिक पूर्वाधार निर्माणको काम नै प्रमुख रहने बताए । अन्य प्रदेशका लागि भौतिक विकास मात्र विकास नभएपनि कर्णालीको लागि भौतिक विकास नै आजको आवश्यकता रहेको उनको भनाइ थियो । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनमा बोल्दै शाहीले यस्तो बताएका हुन् । ‘सबैभन्दा सुध्रिन पर्ने हामी हो, थोरै माननीयले मात्र राम्रो काम गरे धेरैले राम्रो काम गरेनन्’ उनले भने ‘त्यसैले सुध्रनुपर्ने हामी हो ।’


प्रत्येक आर्थिक वर्षमा हुम्लाको सिमकोटमा सडकले जोड्ने भनेर नीति कार्यक्रममा राखिएपनि कार्यान्वयनमा भने लागू हुन नसकेको उनको भनाइ छ । 

उनले वितरणमुखी बजेटलाई प्राथमिकता नदिन आग्रह गरे । ‘वितरण मुखीमा नजाऔं, अब अनुदान रोक्नै पर्छ,  यसले एक छिन सबै खुसी होलान् तर पछि गाली गर्छन्’ उनले भने, ‘अब आउने बजेटको विषयमा सबैले छलफल गरेर अघि बढाैं ।’

सांसद महेन्द्र केसीले कर्णाली खाली पाना रहेको र योे दृष्टिकोणले विकास गर्ने अवसर रहेको उनको भनाई छ । राजनीतिक समस्या समाधान गर्न एक हुने तर,गरिवी समाधान गर्न बोलीमा एकजुट भएपनि अन्तरआत्मादेखि नै एक हुन जरुरी रहेको उनको भनाई छ । अर्का सांसद कल्याणी खड्काले कर्णालीलाई समृद्ध बनाउने खालका योजना ल्याउन सुझाव दिइन् । निःशुल्क स्वास्थ्य शिक्षालाई प्राथमिकता ल्याउने बजेट ल्याउन उनको सुझाव छ । 


Author

थप समाचार
x