कर्णाली

कर्णाली प्रदेश सभामा होला त ३३ प्रतिशत महिला सहभागिता ?

लक्ष्मी भण्डारी |
मंसिर २०, २०७९ मगलवार २१:२ बजे

फाइल तस्बिर

सुर्खेत- समानुपातिकतर्फको मतगणना सकिएसँगै कर्णाली प्रदेश सभामा समानुपातिकमा उम्मेदवार को आउने भन्ने चर्चा चल्न थालेको छ । मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको कर्णाली प्रदेशमा नतिजा सार्वजनिक भइसकेको छ ।

कर्णाली प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ४० सिट रहेका छन् । प्रत्यक्षमा महिला प्रतिनिधि शून्य रहेको कर्णालीमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३३ प्रतिशत महिला सांसद पुर्‍याउनुपर्ने हुन्छ । जसका कारण दलहरूलाई आरक्षण पुर्‍याउन हम्मेहम्मे परेको छ ।


समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । कूल ५ लाख ७७ हजार ८ सय २९ मध्ये एमालेले १ लाख ८३ हजार ९ सय ९० मत प्राप्त गरेको छ भने दोस्रो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९ प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ३६ हजार ८ सय २८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २५ हजार १ सय ८६ मत प्राप्त गरेको छ ।

यो आधारमा प्रत्यक्षतर्फ ५ सिट जितेको एमाले समानुपातिकमा पनि ५ सिट प्राप्त गर्ने छ भने प्रत्यक्षतर्फ ९ सिट जितेको नेपाली कांग्रेसले पनि ५ सिट पाउने देखिन्छ । यस्तै, प्रत्यक्षतर्फ ९ सिट नै जितेको माओवादीले समानुपातिकमा ४ सिट पाउने देखिएको छ । नेकपा एकीकृत समाजवादी र राप्रपाले १/१ सिट समानुपातिकमा पाउने देखिन्छ ।

समानुपातिकको मतपरिणाम अनुसार एमालेबाट कालीकोटकी दक्षिणा शाही, दलिततर्फ दैलेख आठबीसकी गमता विक, रूकुम पश्चिमकी तुलसा मल्ल, र पुरुषतर्फ सुर्खेत वीरेन्द्रनगरका बालाराम शर्मा सांसद बन्ने देखिन्छन् । यस्तै, दलित पुरुषतर्फ जाजरकोट नलगाडका नवेन्द्र नेपाली निर्वाचित हुने देखिएको छ । 

कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, जनजातितर्फ सुर्खेतकी बलिमाया बुढा, हुम्लाकी विजया बुढा, दैलेख चामुण्डाकी इन्द्राकुमारी शाही, र दलितबाट सल्यानकी लक्ष्मी सुनार निर्वाचित हुने देखिन्छ । यस्तै, माओवादी केन्द्रबाट कालीकोटकी यसोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका, जनजातिबाट हुम्लाकी जुम्कित लामा कार्की, दलितबाट डोल्पाकी उर्मिला विक निर्वाचित हुने देखिन्छ ।

यस्तै, समाजवादी र राप्रपाबाट को निर्वाचित हुने भन्ने अहिले अन्योल हुने देखिन्छ । खसआर्यतर्फ पुरुषतर्फ समाजवादीबाट दैलेखका बरुनाथ योगी र राप्रपाबाट जुम्लाका रमानन्द आचार्यको नाम चर्चामा छ । तर, यो आधारमा महिला सांसदको संख्या ३३ प्रतिशत पुग्दैन ।

संविधानमा भएको संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने भए पनि त्यसको कार्यान्वयन नहुने देखिन्छ । ३३ प्रतिशत संख्या पुर्‍याउनका लागि प्रदेश सभामा १४ जना महिला सांसद आवश्यक पर्दछन् । राप्रपाबाट समानुपातिकतर्फ को उम्मेदवार जाने भन्ने अझै अन्योल देखिन्छ । यदि राप्रपाबाट महिलालाई पठाएमा मात्र ३३ प्रतिशत प्रतिनिधित्व पुग्ने देखिन्छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ सांसद चुनिन्छन् ।


 


Author

थप समाचार
x