कर्णाली

कर्णालीमा समानुपातिकतर्फ एमाले पहिलो दल, अरु दलले कति ल्याए ?

इकागज |
मंसिर १५, २०७९ बिहीबार १६:० बजे

सुर्खेत । कर्णालीमा प्रतिनिधि सभा समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले  अघिल्लो निर्वाचनको मतपरिणामलाई यस पटक पनि कायम राखेको देखिन्छ । प्रदेशमा कूल ६ लाख ३० हजार नौ सय ३३ मत खसेको थियो । जसमध्ये पाँच लाख ८७ हजार आठ सय २९ मत सदर भएको थियो । 

प्रदेश सभातर्फ नेकपा (एमाले)ले समानुपातिकमा एक लाख ८३ हजार ९५० मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो । प्रदेशमा नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा आएको छ। कांग्रेसले प्रदेशमा यस पटक को निर्वाचनमा समानुपातिकमा एक लाख ७० हजार ७ सय ५६ मत प्राप्त गरी दोस्रो स्थानमा आएको छ । त्यस्तै माओवादी केन्द्र एक लाख ३७ हजार ६ सय २९ मतसहित तेस्रो भएर पाँच वर्षअघिकै लोकप्रियता जोगाउन सफल भएको छ ।


गठबन्धनका कारण प्रत्यक्षतर्फको ‘पोजिसन’ विगतभन्दा बदलिए पनि समानुपातिकमा भने मुख्य दलहरू आआफ्नै स्थानमा देखिएका छन् । २०७४ मा कर्णालीमा समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस पटक पाचौँ स्थानमा पुगेको छ । चौथो स्थानमा नेकपा (एकीकृत समाजवादी)ले मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले ३५ हजार ८ सय २६ मत ल्याएको छ । 

विगतको भन्दा एक स्थान तल झरेको राप्रपाले २५ हजार १ सय ८६ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनको तुलनामा यो पार्टीले मत संख्या भने झन्डै १० हजारले वृद्धि गरेको छ । राप्रपाले २०७४ को चुनावमा १५ हजार १२९ मत ल्याएको थियो । कर्णालीमा समानुपातिकतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दलहरूले पनि विगतको तुलनामा ठूलो संख्यामा मत वृद्धि गरेका छन् । यस पटक अघिल्लो चुनावभन्दा थप १० वटा दल बन्दसूचीमा परेका थिए । प्रदेश सभातर्फ पाँच वर्षअघि १८ दल सहभागी भएकोमा यसपालि २८ दलले प्रतिस्पर्धा गरेका हुन् । प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ पाँच लाख ७७ हजार ८२९ मत प्राप्त भएको छ ।

कर्णालीमा सात प्रतिशत मत बदर

मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा झन्डै सात प्रतिशत मत बदर भएको  छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले ठूलो संख्यामा मत बदर भएको बताए । सुर्खेतमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी पाँच दशमलव ३५ प्रतिशत मत खेर गएको छ । यहाँ प्रतिनिधिसभातर्पmको चार दशमलव २३ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सुर्खेतमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र छन् । दुवै क्षेत्रमा गरी एक लाख ५४ हजार पाँच सय ८१ मत खसेकोमा ६ हजार पाँच सय ४० मत बदर भएको छ । प्रदेशसभातर्फ तीन दशमलव ७८ प्रतिशत मत खेर गएको छ ।

मतदाता शिक्षाको कमी र दलहरूको चुनावी गठबन्धनका कारण मतदाताहरू अलमलमा परेकाले ठूलो संख्यामा मतपत्र बदर भएको हो । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदान कसरी गर्ने भन्ने पूर्ण शिक्षा नहुँदा पनि बदर प्रतिशत धेरै देखिएको जनाए । 

एकै चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक चार वटा मतपत्र थिए । चार वटा मत पत्रका कारण पनि कतिपय मतदाताहरू झुक्किएर भोट दिँदा बिगारेको हुनसक्ने उनले बताए । चुनावी अभियानका क्रममा पनि घरदैलोमा मात्र जोड दिँदै आएका राजनीतिक दल र उम्मेदवारहरूले पनि मतदाता शिक्षामा भने बेवास्ता गर्दै आएका छन् । जसले गर्दा हरेक निर्वाचनमा ठूलो संख्यामा मत खेर गइरहेको छ । 
 


Author

थप समाचार
x