कर्णाली

कर्णालीमा दसैँका बेला किन हुन्छ सवारी दुर्घटना ?

लक्ष्मी भण्डारी |
असोज १६, २०७९ आइतवार ६:३६ बजे

फाइल तस्बिर

सुर्खेत- गत बुधबार विहान सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भयो । उक्त घटनाले एउटा सिंगो गाउँ नै शोकमा डुब्न पुग्यो । दसैँले रौनकताले गाउँघर छुन लाग्दै गर्दा दुर्घटनाले गाउँमा अहिले शोक छाएको छ । सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आईरहेको ट्रक दुर्घटनामा पर्यो । जुम्लाको हिमा गाउँपालिकामा वागमती प्रदेश ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना भएको थियाे ।

करिब सात सय कार्टुन स्याउ लिएर हिँडेको ट्रक दुर्घटना हुँदा मकवानपुर घर भएका ट्रक चालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरि न्यौपाने घाइते भए ।


यी दुवै दुर्घटना पनि मानवीय हेलचेक्र्याइँले भएको प्रहरीले जनाएको छ । चाडपर्वमा सीट क्षमताभन्दा धेरै यात्रु बोक्ने, चालकले मदिरा सेवन गर्ने र अनियन्त्रित गतिले दुर्घटना बढी हुने गरेको पाइएको छ । कर्णालीमा बर्सेनि सडक दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको छ । चाडपर्वका बेला दुर्घटनाको जोखिम झन् उच्च हुन्छ । यसपालि पनि दसैँ सुरु भएपछि थुप्रै ठाउँमा सार्वजनिक सवारी साधन दुर्घटना भएका छन् । प्रहरीका अनुसार कच्ची सडकमा क्षमताभन्दा बढी भार बोक्दा दुर्घटनाको जोखिम धेरै रहने गरेको प्रहरीकाे बुझाइ छ ।

बर्सेनि चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले चेकजाँचसँगै सक्रियता बढाए पनि सडक दुर्घटनाका घटना भने उस्तै छन् । यसपालिको दसैँ समयमा मात्र होइन यसअघिका वर्षहरूमा समेत कर्णालीमा दसैँ-तिहार लगायतका चाडपर्वको समयमा सडक दुर्घटनाका संख्या बढेको देखिन्छ ।

अघिल्लो वर्ष २०७८ को असोज महिनामा मात्र कर्णालीमा २३ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यीमध्ये २१ दुर्घटना त दसैँको मुखैमा नै भएको देखिन्छ । कर्णाली प्रदेश प्रहरीको तथ्यांक अनुसार गत वर्ष दसैँ अवधिमा कर्णालीमा दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाएका थिए ।

गत वर्षको असोज २६ गते नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छाँयानाथ रारा नगरपालिकामा स्थित खोलामा दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए, १३ जना घाइते भएका थिए । कर्णालीमा चाडपर्वमा समयमा दुर्घटना जोखिम बढ्न जान्छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्यांक हेर्ने हो भने विगत तीन आर्थिक वर्षमा एक सय ६४ वटा सडक दुर्घटना भएका छन् ।

सबैभन्दा बढी चाडपर्वको समयमा दुर्घटना हुने गरेको पाइएको छ । दुर्घटना हरेक वर्ष बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए । यसैगरी २०७७/०७८ को असोज महिनामा १८ वटा र २०७८/०७९ मा २३ वटा सडक दुर्घटना भएका छन् । तीन आर्थिक वर्षको असोज महिनामा मात्र कूल ७४ दुर्घटना घटेको देखिन्छ ।

दसैँ सुरु भएसँगै यात्रुहरूको चाप ह्वातै बढ्न थालेको छ । सार्वजनिक सवारी साधनमा केही दिनयता यात्रुहरूको भरिभराउ छ । दसैँ–तिहारलाई लक्षित गरी ‘रुट परमिट’ खुला गरिए पनि यात्रुबाहक सवारी साधनको संख्या भने सामान्य अवस्थाको जस्तै छ । कर्णाली राजमार्गमा क्षमताभन्दा बढी यात्रु बोक्ने र कच्ची सडकमा तीव्र गतिमा गाडी हाँक्दा दुर्घटनाको जोखिम एकातिर छ भने अर्कोतिर यात्रुहरू तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य छन् । प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर सोहीअनुसार जनशक्ति परिचालन गरिएको दाबी गरे पनि दुर्घटनाको जोखिम भने उस्तै छ । सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकेर जोखिमपूर्ण यात्रा गराइरहेका छन् ।

कर्णालीका अधिकांश सडक कच्ची र जीर्ण छन् । ती सडकहरूमा चल्ने सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी निरीक्षक भिमबहादुर खड्काले बताए । उनका अनुसार सुर्खेतका पञ्चपुरी, चौकुने र लेकवेशी जाने कच्ची रुटमा यातायात व्यवसायीले गाडीको छतमा मान्छे हाल्ने, क्षमताभन्दा बढी बोक्ने गरेको भेटिएको छ । यस्ता जोखिमयुक्त गतिविधि रोक्न प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले निगरानी बढाइरहेको उनको दाबी छ ।

प्रहरी निरीक्षक खड्का भन्छन्, ‘कर्णाली राजमार्गमा चल्ने गाडीहरूमा झनै विशेष निगरानी गर्दै आएका छौँ ।’ सवारी नियमविपरीत सञ्चालन गरिएका यात्रुबाहक ६०/७० सवारी साधनलाई दैनिक कारबाही गर्ने गरिएको उनले बताए ।


Author

थप समाचार
x