कर्णाली

कर्णालीवासीको गुनासो सुन्न ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’

लक्ष्मी भण्डारी |
साउन ३१, २०७९ मगलवार १८:१६ बजे

सुर्खेत । कर्णाली सरकारले नागरिकका गुनासा तथा समस्या सुन्नको लागि हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

कर्णाली प्रदेशको विकास समृद्धि र सुशासनका लागि उक्त सेवा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त एप्स निर्माणको अन्तिम चरणमा रहेकाले तत्कालै सञ्चालनको तयारीमा रहेको कार्यालयले जनाएको छ ।


यसका लागि हाम्रा कुरा मुख्यमन्त्री एप्समा कुनै गुनासा तथा समस्या भए पठाउन सकिनेछ भने १०९६ मा फोन गरेर पनि टिपाउन सकिन्छ ।

हालै मात्र कर्णाली सरकारले विद्युतीय गुनासो व्यवस्थापन निर्देशिका जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त निर्देशिकाअनुसार नागरिकसँग प्रत्यक्ष सम्वाद गर्ने उद्देश्य लिइएको छ ।

सरकारी कामकारबाहीका सम्बन्धमा जनताका गुुनासोलाई लिने र आएका माग वा सुुझावहरूको तत्कालै सम्बोधन गर्ने भनिएको छ । यसबाट पनि सुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा लिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु बताउँछन् । ‘नागरिकहरूले विभिन्न माध्यमबाट गुनासो टिपाउन सक्नुहुन्छ । यसले सरकारका काम थप प्रभावकारी बन्नमा सहयोग पुग्नेछ’ उनी भन्छन्, ‘यसलाई व्यवस्थित गर्न अन्य माध्यमहरुको पनि व्यवस्था गर्छाै ।’

नागरिकहरुबाट आएका गुनासा सुनुवाइका लागि मुख्यमन्त्री कार्यालयमा छुुट्टै कक्ष स्थापना समेत गरिएको छ । जसमा टेलिफोन, इमेल, ट्वीटर, वेबसाइट, भाइबरलगायत विद्युुतीय माध्यमको प्रयोग गरी गुनासोकर्ताले आफ्ना कुरा टिपाउन सक्नेछन् ।

यसअघि सोही प्रकृतिको ‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालन गरिएपनि त्यसले निरन्तरता पाएन । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७७ सालदेखि यो सेवा थालेको थियो । उतिबेला सरकारले निकै प्रभावकारी हुुने अपेक्षा राखेको कार्यक्रम अहिले सञ्चालनमा छैन । ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमले ०.६१ प्रतिशत समस्याको सम्बोधन गरेको तथ्याङ्क रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले बताएका छन् ।


Author

थप समाचार
x