कर्णाली

प्रदेशसभाको गतिरोध हटाउन दलहरू छलफलमा

इकागज |
असार १६, २०७९ बिहीबार १५:२८ बजे

सुर्खेत- आगामी आर्थिक वर्षको बजेटका विषयमा नेकपा एमालेले कर्णाली प्रदेश सभाको बजेट अधिवेशनमा अवरोध गर्न थालेपछि दलहरू गतिरोध हटाउन प्रयासमा जुटेका छन् ।

लगातार तीन वटा बैठक अवरुद्ध भएपछि यसको निकासाको लागि सर्वदलीय बैठक बस्दैछ । ‘हामी छलफलको लागि बैठकमा सहभागी भएका छौ’ प्रदेशसभा सांसद एवं एमाले कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले भने, ‘बैठकपछि केही निस्कर्ष निस्केला ।’


प्रमुख प्रतिपक्षी दल एमालेले बजेटसम्बन्धी गत वर्ष भएको सर्वदलीय सहमति कार्यान्वयन नगरेको भन्दै आइतबारदेखि सदन अवरूद्ध गर्दै आएको छ । अहिले चलिरहेको सदन कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७९/८० को बजेटमाथिको छलफलमा केन्द्रित छ । बजेट प्रस्तुत भएयता केही बैठकमा छलफल चले पनि आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जवाफ दिएपछि चित्त नबुझेको भन्दै एमालेले सदन अवरूद्ध गरेको हो । 
अघिल्लो वर्ष अध्यादेशमार्फत ल्याइएको बजेटमा दिइएका सुझाव र बजेट कार्यान्वयनका सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयनमा सरकार र

सत्तापक्ष दलहरूले बेवास्ता गरेको प्रतिपक्ष दलको आरोप छ । गत वर्ष पनि एमालेले बारम्बार सदन अवरूद्ध गर्दै आएको थियो । 
अन्ततः २०७८ माघ १८ गते प्रमुख प्रतिपक्षी दलसहित बसेको सर्वदलीय बैठकले उनीहरूको माग सम्बोधन गर्दै विभिन्न विषयमा ७ बुँदे सहमति गरेको थियो। तीमध्ये आर्थिक वर्ष ०७८/७९ को बजेटमा उल्लेख भएका १५ लाख मुनिका टुक्रे योजना कार्यान्वन नगर्ने र आगामी बजेटमा पनि यस्ता योजना तर्जुमा नगर्ने सहमति पहिलो बुँदामा थियो ।

आर्थिक वर्ष ०७९/८० को बजेटमा पनि प्रमुख प्रतिपक्षी एमालेले यही विषयलाई लिएर लगातार रूपमा सदन अवरूद्ध गरेको छ ।


Author

थप समाचार
x